पानी शुद्ध बनाउने उपकरण झाडीमा अलपत्र
गोरखा : भूकम्पका बेला विपदमा परेका पीडितलाई शुद्ध पानी खुवाउन यूएसएआइडीले पठाएको पानी शुद्ध बनाउने उपकरण (वाटर ट्रिटमेन्ट प्लान्ट) विरेन्चोकको झाडीमा अलपत्र छ। नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखामार्फत पीडितका लागि पठाएको बहुमूल्य उपकरण चारवर्षदेखि गोरखा नगरपालिका–९ को बिरिम सांस्कृतिक उद्यानमा प्रयोगबिहिन् अवस्थामा राखिएका छन्।
कुनै उपकरण सामुदायिक वन उपभोक्ता समूहको आँगनमा त कुनै पिँढीमा छरिएका छन्। कतिपय सामग्री भवनभन्दा उत्तर र दक्षिणतर्फको झाडीमा असरल्ल छाडिएको स्थानीयले जानकारी दिए। ‘भूकम्पका बेला पठाएको पानी शुद्ध बनाउने उपकरण चारवर्षदेखि यतिकै छ’, एक स्थानीयले भने, ‘विपद्का बेला विदेशीदाताले पठाएका महंगो सामान बाँदरको हातमा नरिवलजस्तै भएको छ।’ बाकसमा राखिएका महंगा सामान झाडीमा खुल्ला रहेकाले बिग्रिसकेको हुनसक्ने स्थानीयको भनाइ छ।
ट्रिटमेन्ट प्लान्ट जडानसम्बन्धी ज्ञान नभएर अलपत्र परेको रेडक्रस जिल्ला शाखाका तत्कालीन सभापति यदुबिलास भट्टराईले बताए। ‘धेरै महंगो र ठूला उपकरण छ’, भट्टराईले भने, ‘उपकरण जडान गर्ने तालिम नेपालमै जम्मा दुईजनाले मात्र लिएका रहेछन्। त्यस्तो जनशक्ति पाउन नसकेकाले उपकरण प्रयोगविहिन भएको हो।’
ती उपकरण गोरखा नगरपालिका–६ को हटियाथोकमा, वडा नम्ब–८ कट्टेलडाँडामा र आरुघाट गाउँपालिकाको आरुघाट बजारमा लगिए पनि जडान गर्न नसकेर फिर्ता ल्याइ विरेन्चोकमै संकलन गरिएको रेडक्रस जिल्ला शाखाका सभापति भगवानबाबु मास्केले बताए। ‘हामी प्रयोग गर्छौं भनेर हटियाथोक, कट्टेलडाँडा र आरुघाटका बासिन्दाले पनि लगेका थिए’, उनले भने, ‘सेट भनेर लगेको तर त्यो त एउटै सेटका भागहरु रहेछ। कसैले पनि जडान गर्न सकेनन्। हामीलाई ढुवानी र लोडअनलोड गर्ने खर्च मात्र भयो।’ प्राविधिक ज्ञान नभएर उपकरण अलपत्र परेको भन्दै उनले केन्द्रले नै फिर्ता लाने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !