जनकपुर बमकाण्ड : सात वर्षपछि सुनवाइ

जनकपुर बमकाण्ड : सात वर्षपछि सुनवाइ

जनकपुरधाम : सात वर्षअघि जनकपुरमा भएको बम विष्फोटको मुद्दामाथि आइतबारदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको छ । जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए । त्यसबेला नयाँ संविधानमा मिथिला राज्य माग गर्दै मिथिला राज्य संघर्ष समितिको आयोजनामा भएको शान्तिपूर्ण प्रर्दशनमा विस्फोट गराइएको थियो ।

जिल्ला अदालत धनुषाको सात नम्बर बेन्चबाट न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनवाइ सुरु भएको हो । सुनवाइको पहिलो दिन सरकारी अधिवक्ता शम्भु गौतमले पूर्वराज्यमन्त्री तथा तत्कालिन सांसद सञ्जयकुमार साहले सुनियोजित रुपमा घटना घटाएको प्रमाण पेश गरेका छन् । साहले जनकपुरकै होटल व्यवसायी जीवनाथ चौधरीलाई हत्या गर्ने अभिप्रायले अन्य अभियुक्तसँग मिलेर घटना घटाएको अधिवक्ता गौतमले तर्क गरेका छन् ।

प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो । मुद्दामा मुकेश चौधरी, राजन मुक्तिलगायतलाई मुख्य अभियुक्त एवं जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको छ । २०७० चैत्र २४ गते प्रहरीले पुरक अभियोग पत्र दर्ता गरी मुख्य अभियुक्तमा तत्कालिन सांसद सञ्जयकुमार साहको नाम अघि सारेको थियो । साहसँगै फुलकुमार यादव, नागराज भन्ने उमेश तिवारी, सुजितकुमार पाण्डेय र ओम्प्रकास यादवलाई अभियुक्त बनाइएको छ ।

१३ जनामाथि कर्तव्य ज्यानको मुद्दा

तत्कालिन सांसद सञ्जयकुमार साहले आफ्नो शत्रु चौधरीलाई मार्न तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीसँग ५० लाखमा सम्झौता गरेको दाबी गरिएको छ । सम्झौताअनुसार चौधरीलाई साहले पहिलो किस्तामा ५ लाख भारु दिएका थिए । साहको योजनामा अभियुक्त चौधरीले विस्फोटको योजना बनाएका थिए । उनले आफ्ना संगठनका कार्यकर्तालाई प्रयोग गरी विस्फोट गराएका थिए । उनले भारतबाट विस्फोटक आरडिएक्स खरिद गरि बम बनाउन लगाएका थिए । उनका सहयोगीले अभियुक्तमध्येका एक प्रहरी जवान मुकेश कर्णको सहयोगमा विस्फोटक नेपाल ल्याएका थिए ।

बारुद र आरडीएक्सको प्रयोग गरि शक्तिशालि बम बनाएर रिमोट कन्ट्रोलबाट विस्फोट गराउने योजना बनाए । बमको नमुना परिक्षण भयो । रामानन्द चोकमा विस्फोट गराउनुभन्दा एक दिन अगाडी जनकपुरस्थित तत्कालिन् एमाले पार्टी कार्यालयमा विस्फोट गराए । घटना भएको दिन विहान चौधरी र साहले एक अर्कासँग फोनमा कुरा गरि चौधरी होटेलबाट धर्नास्थलमा आएर बसेपछि विस्फोट गराउने निधो गरेका थिए ।

रामानन्द चोकमै होटल सितासरण सञ्चालन गर्दै आएका चौधरी धर्नास्थलमा आए पनि र साहको योजनाअनुसार चौधरीले आफ्ना कार्यकर्तालाई बम कुर्सीमा राखेर रिमोटबाट विस्फोट गराउन निर्देशन दिए । योजनाअनुसारनै बम विस्फोट भयो । तर, मुख्य टारगेट चौधरी बाँच्न सफल भए । धर्नामा बसेका मध्ये मिथिलाकी चर्चित रंगकर्मी रञ्जु झा, स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्ययाको ज्यान गयो ।

अभियुक्त मुकेश चौधरीले साहसँग फोनमा गरेका हरेक कुराकानी रेकर्ड गरेर राखेका थिए । घटनापछि साह र चौधरीको कुरा नमिलेपछि चौधरी हातहतियार खरखजाना मुद्दामा पक्राउ परे । उनले साहलाई पनि घटनामा पोले । अदालत समक्ष सबै रेकर्ड उपलब्ध गराए । मुख्य अभियुक्त चौधरीकै बयान र रेकर्ड प्रमाणको आधारमा साह पक्राउ परे । साह र चौधरीसहित अन्य अभियुक्त हाल पूर्पक्षका लागि थुनामा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.