सबल छ पोखरा

सबल छ पोखरा

कास्कीमा दर्जनौं विद्यालयले आफूलाई अब्बल सावित गरिरहेका छन्। 


कास्कीको माछापुच्छ्रे गाउँपालिका भुर्जङखोलाको माछापुच्छ्रे माविमा नयाँ शैक्षिक सत्रको भर्नाका लागि ठूलै अभियान चलाइहाल्नुपर्दैन। प्रधानाध्यापक सन्तोष आचार्यलाई नयाँ वर्षमा डेढ सय विद्यार्थी थपिने आत्मविश्वास छ। भन्छन्, ‘अझै बढी थपिएलान्, तर डेढ सयभन्दा कम नयाँ विद्यार्थी नआलान् ।’ त्यही गाउँपालिकाका अरू गाउँका विद्यार्थीको हालत नाजुक छ। विद्यार्थीको संख्याकै अभावमा गाभिनुपर्ने वा बन्द हुनुपर्ने अवस्था छ। तर माछापुच्छ्रेमा भने ६ सयभन्दा बेसी विद्यार्थी अहिले नै छन् । 

२०६६ सालयता माछापुच्छ्रे माविले विद्यार्थी अभाव भन्ने बेहोर्नुपरेको छैन। प्रअ आचार्यकै भनाइमा अंग्रेजी माध्यमको पढाइ थाल्नासाथ विद्यार्थी संख्या बढेको छ। अंग्रेजी माध्यमको फेसन अरू सामुदायिक विद्यालयमा पनि चलेको छ। तर माछापुच्छ्रेको बेग्लै विशेषता भनेको व्यावहारिक अभ्यासबाट विद्यार्थीलाई पोख्त बनाउनुु हो। असारमा धान रोप्न विद्यार्थी खेतमै जान्छन्, काट्न मंसिरमै पनि खेतमै । 

ए स्क्वायर माइनस बी स्क्वायरको बीजगणितीय सूत्रको व्यावहारिक पक्ष विद्यार्थी खररै भन्न सक्छन्। गणित शिक्षक कृष्ण पौडेलले विद्यार्थीलाई त्यो सूत्र भएको एउटा ठूलो वर्गाकारबाट अर्काे वर्गाकार निकाल्नु हो भनेर व्यावहारिक रूपमा देखाउँदै सिकाएका छन्। अंग्रेजी, नेपाली, सामाजिक वा विज्ञान सबैजसो विषयमा शिक्षक घोकाउनेभन्दा सिकाउन लाग्छन्। पोखराको बजारबाट २५ किलोमिटर दूरीको गाउँमा माछापुच्छ्रे माविले सहरी विद्यार्थीलाई नमुना देखाउँदै छ ।

पोखरा बजारकै बालमन्दिर माविमा अब नयाँ शैक्षिक सत्रमा विद्यार्थी चाप थेगिनसक्नु हुनेछ भन्ने आकलन भइसक्यो। त्यस्तै सूचीमा छ, अमरसिंह मावि पनि। गोगन मावि, विन्ध्यवासिनी मावि, शीतलादेवी मावि होस्् या राष्ट्रिय मावि अथवा छोरेपाटन मावि। पोखराका यी यस्ता सूचीका सामुदायिक विद्यालय हुन्, जहाँ विद्यार्थी भर्ना हुन लोभिन्छन्। बालमन्दिरले त ३ पटकसम्म शिक्षा मन्त्रालयबाट उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार थापिसकेको छ। शीतलादेवीले पनि देशकै सर्वाेत्कृष्टको पुरस्कार पाइसक्यो । 

जिल्ला शिक्षा कार्यालयका अनुसार कास्कीमा सामुदायिक विद्यालय १ सय २० हाराहारीमा छन्। त्यसैभित्रका दर्जनौंले आफूलाई अब्बल सावित गरिरहेका छन्। पोखरा महानगरपालिका–३३ भरतपोखरीको सरस्वती टीका माविमा अहिले ११ सय विद्यार्थी छन्। प्रधानाध्यापक लालप्रसाद भण्डारीको आत्मविश्वास छ, अब नयाँ शैक्षिक सत्रमा ३ सय विद्यार्थी थपिनेछन्। त्यो आत्मविश्वासका पछाडिको कारण हो, अहिलेदेखि अभिभावकहरूले देखाएको चासो र विद्यालयको योजना पनि। भन्छन्, ‘बस र भ्यान पनि थपेर टाढाबाट आउन चाहने विद्यार्थी ल्याउने विचारमा छौं ।’ 

शीतलादेवी माविले १० देखि ४ बजेसम्मको नियमितबाहेक बिहानबिहान अंग्रेजी र गणित जस्ता विषयका अतिरिक्त कक्षा चलाउँदै आएको छ। भुर्जुङखोलाको माछापुच्छ्रे माविले त होस्टलमै राखेर विद्यार्थी पढाउँछ। शीतलादेवीमा विद्यार्थीको स्वास्थ्य ख्याल गर्दै चाउचाउ, बिस्कुट जस्ता जंकफुड किन्न रोक लगाइएको छ। स्कुलले नै विद्यार्थीलाई कहिले पुरी तरकारी, कहिले पाउरोटी अन्डा, कहिले जाउलो र कहिले खीर गरी सधैं खाजा खुवाइरहन्छ। माछापुच्छ्रेको होस्टलमा बस्नेहरूले बिहानबेलुका घरमै गएर खान पनि सक्छन्। अभिभावकले ल्याइदिन पनि सक्छन्। ‘खाना बेचेर पैसा कमाउनु छैन स्कुललाई’, प्रधानाध्यापक आचार्य भन्छन्, ‘सम्भव छ भने घरै गएर खाए पनि भयो, ल्याए पनि भयो। तर यहीँ बसेर पढ्न पर्‍यो ।’ 

सरस्वती टीका र माछापुच्छ्रे माविको प्रतिनिधि कथा हेर्ने हो भने यी स्कुल सुधारमा शिक्षक र अभिभावकको योगदान छ। २०६६ सालमा माछापुच्छ्रेका शिक्षक आफूले पढाउने स्कुलमै आफ्ना केटाकेटी भर्ना गरेका थिए। १० बजेदेखि ४ बजेसम्म मात्रै नभई बढी समय पनि स्कुलमा खटिने शिक्षक त्यहाँ छन्। सरस्वती टीकामा पनि त्यही हो, प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यले आफ्ना केटाकेटी भर्ना गरेर अरूलाई पनि आह्वान गरेका थिए । 

माध्यमिक तहको पढाइका लागि कहलिएका निजी विद्यालयको संख्या पनि उत्तिकै छ पोखरामा। न सामुदायिक, न निजी विद्यालय हो गण्डकी बोर्डिङ स्कुल। सरकारले नमुनाका रूपमा चलाइरहेको स्कुलले केही अनुदान सरकारबाट पाउँछ। तर धेरै स्रोत आफैं जुटाउनुपर्छ। यसमा भर्ना कहिले खुल्ला भनेर सूचनाको प्रतीक्षामा हुन्छन् अभिभावक ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय माविले ६ कक्षामा भर्ना लिन २ जनाको सिट खुला गरेको छ। तर आवेदन भने त्यसभन्दा माथि परिसकेको शिक्षक उपेन्द्र पौडेल सुनाउँछन्। भर्ना आवेदनको म्याद अझै बाँकी छ। आवेदक संख्या ४ सय पुग्ने पौडेलको अनुमान छ। एसओएस पनि आफ्ना केटाकेटी पढाउन अभिभावक लोभिने अर्काे विद्यालय हो । 

निजी लगानीका मदरल्यान्ड, ग्लोबल कलिजियट, कुमुदिनी होम्स, सगरमाथालगायत दर्जनौं स्कुल विद्यार्थीको आकर्षण छन्। मदरल्यान्डले त देशभरकै सर्वाेत्कृष्ट संस्थागत विद्यालयको पुरस्कार पनि जितिसकेको जो छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.