कर्णालीको लामा बस्तीमा पुग्दैन नुन
मुगु : कर्णालीको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने लामा समुदायका नागरिक आयोडिनयुक्त नुन उपभोग गर्न वञ्चित छन्। सरकारले कर्णालीका नागरिकलाई अनुदानमा उपलब्ध गराउँदै आयोडिनयुक्त नुन मुगुमा लामा बस्तीमा पुग्दैन। त्यसैले यहाँका बासिन्दा ढिक्के नुन उपभोग गर्न बाध्य छन्।
मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका नौ वडामध्ये आठवटा वडामा लामा समुदायको बसोबास छ। उनीहरूले हालसम्म आयोडिनयुक्त नुन उपभोग गर्न नपाएका हुन्। आयोडिनयुक्त नुन नहुँदा उनीहरू ढिके नुन उपभोग गर्न बाध्य छन्। नेपाल सरकारले साल्टे«डिङ कर्पोरेसनमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुनको बिक्री डिपो मुगुम कार्मारोङ गाउँपालिकामा नहुँदा स्थानीयले ढिके नुन प्रयोग गर्ने गरेका छन्।
आयोडिनयुक्त नुन ल्याउन गाउँदेखि सदरमुकाम पुग्न दुइदेखि चार दिन पैदल हिँड्नुपर्ने हुँदा लामा समुयदायले आयोडिनयुक्त नुन उपभोग गर्न पाएका छैनन्। सदरमुकाममा साल्ट्रेडिङ कर्पोरेसनको शाखा स्थापना भएदेखि मुगुम कार्मारोङ गाउँपालिकामा शाखाले आफैं ढुवानी गरेर नुन पुर्याएको स्थानीय बताउँछन्। तर यो गाउँपालिकाको एकदेखि ८ वडाका एक हजार एक सय घरधुरी लामा समुदायको बसोबास छ।

वडा नम्बर ९ मा दुई सय २० घरधुरी क्षेत्रीको बसोबास छ। यो वडा सदरमुकामसँग नजिक भएकाले यहाँका नागरिक सदरमुकाममै पुगेर अनुदानको नुन उपभोग गरिरहेका छन्। तर १ देखि ८ वडामा बस्ने लामा समुदायले आफ्नो भान्सामा अहिलेसम्म तिब्बतबाट ल्याइएको ढिके नुन प्रयोग गर्दै आएका छन्। अनुदानको नुन प्रतिकिलो नौ रुपैयाँमा सहुलियत दरले उपल्बध गराउँदै आएको आयोडिनयुक्त नुन उपभोग गर्नका गाउँपालिकामा बिक्री केन्द्र नहुँदा गाउँबाट जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न मात्रै चार दिनसम्म लाग्छ।
यी बस्तीका नागरिकले वर्षको एकपटक साउनमा तिब्बतको हाजाीमरामा लाग्ने हाटबजारबाट ल्याएको ढिके नुन प्रयोग गर्ने गरेका मुगुम कार्मारोङ गाउँपालिका–२ का उर्गिन तामाङ बताउँछन्। गाउँसम्म नुनको डिपो स्थापना भए सीमापारिबाट ढिके नुन ल्याउनु नपर्ने मुक्ति पाइने तामाङको भनाइ छ। यहाँका नागरिक आलु, कोदो, चिनो र सिमी खेती गर्छन्। उनीहरुमा आयोडिनको कमीका कारण विभिन्न समस्या देखापरेको पुलु स्वास्थ्य चौकीका इन्चार्ज सर्पराज भामले बताए।
प्रतिक्रिया दिनुहोस !