गाउँका सिंहदरबार जिर्ण र साँघुरा, एउटै भवनमा दुई कार्यालय
प्यूठान : स्थानीय सरकार सञ्चालन भएको डेढ वर्ष बितिसक्दा पनि भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन ।
साँघुरा र जिर्ण भवनबाटै गाउँका सिँहदरार धानिएका छन् । धेरैजसो गाउँ, नगर र वडा कार्यालयहरु भाडाका भवनमै छन् । ती पनि पुराना भवनमा ।
अधिकांश वडा कार्यालयहरुले साविककै जिर्ण गाविस भवनबाट काम चलाइरहेका छन् । कार्यालय नै भरपर्दो नभएपछि दैनिक कार्यसम्पादन गर्न असहज भइरहेको कर्मचारीहरुको गुनासो छ ।
दुईवटा वडा एउटै कार्यालयमा
जिल्लाकै दुर्गम गाउँ अर्खामा दुई वडा कार्यालयहरु एउटै कोठाबाट सञ्चालन भइरहेका छन् । गौमुखी गाउँपालिका वडा नम्बर १ र २ को प्रशासनिक कामकाज एउटै कोठाबाट निर्वाह गर्दा असहज भइरहेको दुई नम्बर वडा सचिव मोहनलाल श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार साविकको अर्खा गाविसको भवनबाट काम चलिरहेको छ । ‘दुइटै वडाका सेवाग्राही आउँदा कोठामा भिडभाड हुन्छ’, उनले भने, ‘सुरुदेखि नै यसैगरी चलाइरहेका छौँ ।’
जिर्ण र साँघुरो कोठाबाट काम गर्दा दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको पनि उनी बताउँछन् । फरक फरक पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु समेत एउटै कोठामा मिलेर बसेका छन् ।
१ नम्बर वडा अध्यक्ष मानबहादुर थापा साविकको एमाले र २ नम्बर वडा अध्यक्ष डोरबहादुर राना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । साविकको अर्खा ६ देखि ९ सम्मका वडा मिलाएर हाल एक नम्बर वडा कार्यालय र १ देखि ५ सम्मका वडालाई वडा नम्बर २ कायम गरिएको छ ।
दुवै कार्यालयको भवन निर्माणधिन अवस्थामा भए पनि तत्कालै सर्ने अवस्था छैन । सात वडा मिलेर बनेको गौमुखी गाउँपालिकाको यसअघि केन्द्र विवादले भवन निर्माण अघि बढ्न सकेको थिएन । पुँजाको लिवोसमा केन्द्रको टुंगो लागिसकेको जानकारी दिँदै अध्यक्ष विष्णुकुमार गिरीले गाउँपालिकाको भवन निर्माण प्रक्रियालाई तिव्र रुपमा अघि बढाउने बताए ।
उनले चालु आर्थिक वर्षमा दुई करोड २२ लाख रुपैयाँ बरावरको बहुउद्देश्यिय भवन लिवासेमा निर्माण गर्ने योजनामा रहेको बताए । गाउँपालिकाको कामकाज हाल ठूलावेसी बजारमा साँघुरो भवनको कोठाबाट सञ्चालन भइरहेको छ ।
जिल्लाका नौ स्थानीय तहमध्ये प्यूठान नगरपालिकाको मात्र प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा छ । हाल नगरपालिका कालिका विकास केन्द्र नेपाल विजुवारको भवनमा भाडामा संचालन भइरहेको छ । नगरप्रमुख अर्जुनकुमार कक्षपतीका अनुसार २०७६ सालको शुरुवातबाटै नयाँ भवनबाट कामकाज शुरु गर्ने योजना रहेको सुनाए । विजुवार खेलकुद मैदान नजिक खेतीयोग्यभूमी झिमरुक फाँटमा नगरपालिकाको प्रशासनिक भवन बनेको छ ।
भाडाकै भवनबाट काम चलाइरहेका स्थानीय तहले मासिक लाखौँ रुपैयाँ घरभाडामै खर्च गर्छन् । झिमरुक, नौवहिनी, मल्लरानी, ऐरावती, सरुमारानी, माण्डवी र स्वर्गद्धारी नगरपालिका पनि साँघुरो भवनबाट गुज्र्रिरहेका छन् ।
भवन अभावकै कारण विषयगत शाखा, न्याय सम्पादनका लागि छुट्टै इजालसको व्यवस्था हुन सकेको छैन । सेवाग्राहीको चापले कर्मचारीलाई दैनिक कामकाज गर्न मुस्किल पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !