हप्तामा पाँच चुरोट र एक बोतल रक्सी पिउनु उस्तै घातक
काठमाडौं : हप्तामा पाँचवटा चुरोट पिउँदा हुने हानी र १ बोतल मादकपदार्थ पिउँदा हुने हानी उत्तिकै हुने एक अध्ययनले देखाएको छ।ब्रिटेनको एक अनुसन्धानको रिपोर्टअनुसार हप्तामा एक बोतल रक्सी र पाँचवटा चुरोट पिउँदा हुने क्यान्सरको जोखिम उत्तिकै हुन्छ।
प्रशस्त मात्रामा चुरोट पिउने व्यक्तिमा क्यान्सरको जोखिम बढी हुने भएपनि अत्यधिक मात्रामा रक्सी पिउनेमा पनि क्यान्सरको जोखिम बढ्ने गरेको उक्त अध्ययनले देखाएको बीबीसीमा समाचार छ।
अध्ययनअनुसार हप्तामा एक बोतल मादक पदार्थ पिउँदा हुने हानी बराबर महिलाले हप्तामा 10 वटा चुरोट र पुरुषले ५ वटा चुरोट पिउनु जत्तिकै हुन्छ। कम मात्रामा अल्कोहल र चुरोट पिउनेहरु नै बढी स्वस्थ हुने गरेको पाइएको तथ्य उक्त अध्ययनले देखाएको छ।विशेषज्ञका अनुसार अत्यधिक मात्रामा मदिरा पिउनेभन्दा चुरोट पिउनेहरुमा क्यान्सरको जोखिम बढी हुनेगर्छ।
त्यसैले क्यान्सरको जोखिम कम गर्न मद्यपानका साथसाथै धुमपानलाई पूर्णरुपमा निषेध गर्नुपर्छ।स्वस्थ रहन हप्तामा १४ युनिटभन्दा बढी मादकपदार्थ पिउन नहुने विज्ञहरुले सुझाएका छन्।