अलैंचीको मूल्य घट्दा किसान निराश

अलैंचीको मूल्य घट्दा किसान निराश

भोजपुर : तीन वर्षअघि गाउँमै प्रतिमन एक लाख १० हजारले अलैंची बिक्री भएपछि दंग भएका भोजपुर नगरपालिका जिमीगाउँका प्रेमकुमार राई यसको खेतीमा हौसिए । आफ्नो ८ रोपनी धान फल्ने खेत मासेर त्यही वर्षदेखि उनले अलैंची लगाए । साबिककै मूल्य यथावत रहने आशमा अलैंची लगाएका प्रेम अर्को वर्ष एकाएक भाउ घटेपछि चिन्तित भए । यो वर्ष त उनी प्रतिमन २२ हजार रुपैयाँमै बेच्न बाध्य भए ।

‘मिहिनेतका साथ खाइनखाइ उब्जाएको अलैंचीले यो वर्ष त झनै ढाड सेक्यो । गरेको लगानी पनि उठेन’, उनले भने, ‘यो वर्ष अलैंची लिने ठेकेदार गाउँ पसेनन् । आफैं बजारसम्म पु¥याएर सस्तोमै बेच्नुप¥यो ।’ प्रेमजस्तै भोजपुरका अधिकांश किसान पोहोरभन्दा पनि मूल्य घटेपछि निराश छन् । गत वर्ष ३५ हजार प्रतिमन बिक्री भएको अलैंची यो वर्ष प्रतिकेजी चार सय ५० देखि ६ सय ५० रुपैयाँमा मात्र भयो । जिमीगाउँकै दुर्ज राईले पनि राम्रो मूल्य पाउने आशामा तीन वर्षअघि सयौं मुरी धान फल्ने १९ रोपनी खेतमा इलामबाट राम्रो जातको अलैंची ल्याएर रोपे । तर अलैंचीको मूल्यमा आएको भारी गिरावटले उनको सबै मेहनत खेर गएझैं भयो ।

‘बर्सेनि भाउ घटेको घट्यै छ । फलेको अलैंचीको आम्दानीले काम गर्ने श्रमिकलाई दिने ज्यालासम्म धान्न गाह्रो भइसक्यो’, उनले भने, ‘सुरुमा राम्रो भाउ होला भनेर सबै खेत मासेर अलैंची लगाइयो । अहिले भाउ नपाएपछि अलैंची खेती नै काउसो बनेको छ ।’ अलैंचीमा निरन्तर मूल्य खस्किए पनि किसान उचित मूल्य पाउनेमा आशावादी देखिएका छन् । श्रम र लगानी अनुसारको आम्दानी निकाल्न गाह्रो भएको किसानको गुनासो छ । भाउ घटे पनि दुःखले लगाएको अलैँची नै मासेर पुनः अन्नबाली लगाउने मनसायमा नरहेको टेम्केमैयुङ गाउँपालिका छिनामखुका किसान दीपचन्द्र राई सुनाउँछन् । उनी भन्छन्, ‘पसिना बगाएर खेती लगाएको छु । भाउ घटे पनि यसलाई मासेर अन्नबाली लगाउने इच्छा छैन । थोरैबहुत भए पनि राम्रै आम्दानी दिइहाल्छ क्यारे ।’

अलैंचीको मूल्यमा भारी गिरावट आए पनि भोजपुरमा यो वर्ष गतवर्षको तुलनामा ८ मेट्रिक टनले अलैंची उत्पादन बढेको छ । कुल ६ सय ५० हेक्टर क्षेत्रफलमा गरिने अलैंची खेतीबाट यो वर्ष कुल दुई सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकले देखाएको छ । गत वर्ष जिल्लामा कुल एक सय ९२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । उत्पादनमा वृद्धि भए पनि अलैंचीको मूल्य भने क्रमिक रूपमा खस्किँदा किसानलाई यो वर्ष पनि निराश तुल्याएको हो ।

गुणस्तरीय उत्पादन नभएपछि ग्रेडिङ र ब्रान्डिङमा समस्या आएकाले पनि अलैंचीले सन्तोषजनक मूल्य नपाएको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी युकमणि भट्टराईले बताए । राज्यले अन्तर्राष्ट्रियस्तरमा अलैंची व्यापारको प्रवद्र्धन गर्न नसक्नु र गुणस्तरीय उत्पादन हुन नसक्नुले पनि अलैंचीको मूल्य घटेको उनले सुनाए । ‘भोजपुरमा उत्पादित कच्चा अलैंची राम्ररी प्रशोधन गरिँदैन । अनि यहाँबाट कच्चा पदार्थको रूपमा लगिएको अलैंची बिर्तामोडमा पु¥याएपछि सबै अलैंचीको पुच्छर काँटछाँट गरिन्छ । गुणस्तरीय उत्पादन नभएर पनि मूल्य घटेको हो’, उनले भने ।

चालु आर्थिक वर्षदेखि सुरु गरिएको अलैंची जोन कार्यक्रममा जिल्लाका ९८ किसान समूह र कृषि फार्म आबद्ध छन् । अलैंची जोन कार्यालय भोजपुरका अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये ६ वटाका ३० वडामा अलैंची जोन परियोजना सञ्चालन गरिएको छ । परियोजनाले किसानको घरघरमै पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको अलैंची जोनका निमित्त प्रमुख खिरप्रसाद राईको भनाइ छ ।

कार्यक्रमअन्तर्गत जिल्लामा करिब ४९ लाखबराबरको किसानलक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ । अलैंचीका लागि प्रमुख क्षेत्र मानिने टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका विभिन्न ग्रामीण भेगमा रामसई, गोलसई र डम्बरसई जातका अलैंचीखेती गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.