हावाहुरी पीडितलाई सहयोग
बेनी : बेनीमा महिलाले मात्र सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बाराका हावाहुरी पिडितका लागि आर्थिक सहयोग गरेको छ।
६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको समारोहमा मुठ्ठीदान अभियान अन्तरगत संस्थाका सदस्यले संकलन गरेको ३३ हजार रुपैयाँ उपलब्ध गराएको हो।
संस्थाकी अध्यक्ष ज्योती लामीछानेले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापा र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजीअ लीलाधर अधिकारीमार्फत संघीय सरकारको राहत कोषका लागि रकम हस्तान्तरण गरेकी हुन्।
सहकारीले श्रीमानको कुटाइबाट घाइते भएकी धवलागिरी गाउँपालिका ६ मराङकी डिलमाया सुनारको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ।
कार्यक्रममा जिल्ला सहकारी संघ र संघका अध्यक्ष दिपक कार्कीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गर्न लागेको अक्षयकोषमा दश÷दश हजार रुपैयाँ हस्तान्तरण गरे।
कार्यक्रममा मन्त्री थापाले महिलाको आर्थिक स्रोतमा पहुँच बढाउन र जिविकोपार्जन सुधारका लागि म्याग्दी लगायत पिछडिएका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु गरेको जानकारी दिइन्।
गण्डकी प्रदेशका सांसद विनोद केसीले कुल लगानीको तीस प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र दोहोरिएर सदस्य बन्न नपाइने प्रदेशका सहकारी नीति कडाइका लागि कार्यान्वयनमा लैजानुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !