एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध

एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध

जनकपुरधाम : प्रदेश २ मा शुक्रबारदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।

प्रश्नपत्र रुजु गर्दा प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोबाइल सुरक्षाकर्मीको नियन्त्रणमा राखेर जानुपर्ने निर्णय गरेको छ। परिक्षाका बेला केन्द्राध्यक्ष बाहेक सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी सबैको मोबाइल अफ गरी खाममा राखेर केन्द्राध्यक्षले राख्ने छन्। मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएकाले प्रदेश २ मा एसईई परिक्षा स्थगित गर्नु परेको थियो। विज्ञान र सामाजिक विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको बारे पनि बैठकमा समीक्षा भएको थियो।

समिति संयोजक प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा बसेको बैठकले विगतमा भन्दा सुरक्षा सतर्कता बढाउने, परीक्षामा खटिने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीलाई थप सजग हुन निर्देशन दिने निर्णय गरेको छ। सबै केन्द्रमा सुरक्षाकर्मीको उपस्थिति प्रभावकारी बनाउने, परीक्षार्थीको शरीर खानतलासी गर्ने, विद्यार्थीले परीक्षाकेन्द्रमा मोबाइल लगे तत्काल जफत गर्ने छ।

केही केन्द्रमा परिक्षा निरीक्षकले मर्यादा विपरित गतिविधि रोक्ने प्रयास नगरेको वा नसकेको देखिएकाले त्यस्ता गतिविधी रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रुपमा नियुक्ति गर्न केन्द्राध्यक्षलाई निर्देशन दिएको छ। केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीका रुपमा नियुक्त गरेका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानालगायत सबै विवरण तयार गरी परीक्षा अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न भनिएको छ।

केही केन्द्रमा परीक्षामा खट्ने व्यक्तिको परिचय पत्रमा फोटो नटाँसिएको, फोटोमा पर्ने गरी परिचय पत्र जारी गर्ने व्यक्तिको हस्ताक्षर नगरिएको पाइएकाले फोटोमा पर्ने गरी हस्ताक्षर गरीएको परिचय पत्र अनिवार्य लगाउन पनि बैठकले निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.