बादल मडारिंदा तर्सिन्छन् हुरीपीडित

बादल मडारिंदा तर्सिन्छन् हुरीपीडित

बारा : भरवलिया (बारा) हुरीले थुप्रैको परिवार उजाडिदिएको छ।धेरैलाई घरविहीन बनाएको छ।सिंगो परिवार अटाउने घर क्षणभरमै भगनावशेषमा परिणत भए।तरपनि डरलाग्दो प्राकृतिक विपत्तिबाट विक्षिप्त बनेका उनीहरु विस्तारै आफूलाई सम्हालिन कोशिस गर्दैछन्।उनीहरु त्रिपालमै भएपनि टाउको लुकाउन पाउँदा खुशी देखिन्छन्।

घटनालाई बिर्सिने प्रयासमा रहेका उनीहरु शनिबार फेरी अत्तालिन पुगे।मौसम बदलिएर वर्षासँगै सामान्य चलेको हुरीले उनीहरुमा ठूलै त्रास फैलाइदियो।फेरी घटना नदोहोरियोस् भन्दै कतिपय त भगवान पुकार्न थाले। 

परिवारका सबै सदस्य टेन्ट र त्रिपालमुनि एकअर्काको सहारा बन्दै गुटमुटिएर बस्न थाले।केहीलाई टेन्ट उडाउने चिन्ता भयो।कोही टेन्ट समात्न थाले, कोही टेन्ट कसिलो गरी बाँध्न थाले।कतिपयले त टेन्टको डोरी छोड्दै छोडेनन्।बल्लतल्ल पाएको टेन्ट हुरीले उडाउन थालेपछि खुल्ला आकाशमै रात बिताउने चिन्तामा उनीहरु डुब्न थाले।

तर केही समयमै वर्षा र हुरी रोकिएपछि उनीहरुले राहतको श्वास फेरे।'एकछिन त हामी धेरै आत्तियौं, फेरी त्यस्तै घटना हुने हो किन भन्ने डर लाग्यो,' फेटा गाउँपालिका- १ भलुई भरवलियाका रामरतन पटेलले भने, 'घर भनेकै अहिले यही टेन्ट हो, हुरीले यसलाई पनि उडायो भने फेरी खुला आकाशमा कसरी दिन काट्नु।त्यही भएर भित्र बसेर टेन्ट समात्यौ, भगवानलाई पुकार्‍यौं।केही बेरमा हुरी रोकियो अनि मात्रै बाहिर निस्कियौं।'

यसअघि ठूलो वर्षा र हुरीको सामना गरेका स्थानीय गत आइतबारको घटनापछि सामान्य हावा चल्ने वित्तिकै झस्किन थालेको रामरतनले बताए।'त्यो दिन त्यस्तो हुरी आउँला भनेर कहिल्यै सोचेका पनि थिएनौं।रामरतनले भने, 'आज पनि त्यसैगरी पानी र हावा चल्न थालेपछि त्यस्तै घटना हुने हो कि भन्ने डर लाग्यो।'

शनिबार हावा चल्न थालेपछि भरवलियाकै उमेश पटेल पानी पर्न थालेपछि आफ्ना १० छोराछोरी लिएर टेन्ट भित्र पसे। उनले पनि पत्निसहित छोराछोरीलाई टेन्ट समाउन लगाए।हुरीले घर भत्काएपछि टेन्टमुनि आइपुगेका उनलाई रातिको समयमा साना छोराछोरीलाई कहाँ सुताउने भन्ने चिन्ताले सताउन थाल्छ।'घर त सबै खत्तम भयो, अब बाँकी भनेकै यही एउटा टेन्ट छ, पटेलले भने ,'तर यही पनि उडायो भने कहाँ जाने,कता बस्ने।'

नेपाली सेनाका क्याप्टेन मनिस विकका अनुसार भरभलियामा मात्रै तीन सय ५० परिवार टेन्टमा बसिरहेका छन्। वर्षासँगै सामान्य हुरी आउँदा तिनै परिवार बढी आत्तिन्छन्। हुरीले घर नभत्किएका स्थानीय समेत घर नजिकैको टेन्टमा सहारा लिन पुग्छन्। 'टेन्ट भत्किँदा मरिने डर हुँदैन् त्यसैले धेरै मानिस टेन्टभित्र पनि आएर बस्छन्,' स्थानीय रविन्द्र मुखियाले भने,'तर शनिबार भगवानले हाम्रो पुकार सुन्यो, घेरै ठूलो हावाहुरी आएन।'

हुरी र वर्षा रोकिएपनि स्थानीयमा त्रास भने कम भएको छैन्। कतिबेला हुरी आउने हो भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ। गत आइतबारको घटनापछि गाउँमा विद्युत सेवा अवरुद्ध छ।जेनेरेटरबाट सार्वजनिक स्थानमा दिइँदै आएको विद्युत सेवा पनि शनिबारबाट हटाइएको फेटा गाउँपालिका- ६ कि पुरैनियाकी भुवानी खातुनले बताइन्। 

'रातिको समयमा हुरी आए कता भाग्ने? बत्ती छैन् अँध्यारोमा कता जानु,' भुवानीले भनिन्, 'धेरै पीडा छ।' हुरी चल्न थालेपछि आफन्तले समेत फोन गरेर चिन्ता व्यक्त गर्न थालेको भुवानीले बताइन्। 'केही दिनका लागि आफन्तकै घरमा बस्न बोलाइरहेका छन्, तर सबै परिवार गएर बस्ने अवस्था छैन्,' उनले भनिन्। 

हुरीले त्रास उत्पन्न गराएसँगै पीडितलाई शनिबारदेखि खाने समेत चिन्ता थपिएको छ। गाउँमै सञ्चालन गरिएको सामूहिक भोजनको मेस समेत बन्द भएका छन्। राहतस्वरुप खाद्यान्न पाएपनि पकाएर खानका लागि उनीहरुसँग भाँडा र चुलो समेत छैन्।

'दिनभरी हुरी आउने चिन्ताले सताउँछ, साँझ पर्दै गएपछि के खाने भन्ने चिन्ताले सताउने गरेको पुरैनियाकी अम्बिका खातुनले बताइन्।उनले भनिन्, चामल भएपनि पकाएर खाने भाँडा छैनन्।'

फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसादले पनि पुरैनियामा सञ्चालन हुँदै आएको मेस उठ्न थालेकाले समस्या भइरहेको बताए। वर्षा र हुरीले मेस सञ्चालनका लागि समेत कठिनाई भइरहेको भन्दै अमिरिलालले जेनरेटर बिग्रिएकाले गाउँभरी विद्युत पुर्‍याउन नसकिएको बताए।

अध्यक्ष अमिरिलालले शनिबार साँझ ठूलो वर्षा भएकाले स्थानीय त्रसित भएको बताए।जल तथा मौसम फिड कार्यालय सिमराका प्रमुख केशव खरेलका अनुसार शनिबार बारामा ७.२ मिलिलिटर वर्षा भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.