हावाहुरी पीडितको सहयोगमा जुटे बालबालिका

हावाहुरी पीडितको सहयोगमा जुटे बालबालिका

जनकपुरधाम : सामान्य वर्षा र हावाले भयानक रूप लिई आएको भीषण चक्रवातले अहिले प्रदेश २ को बारा र पर्सा जिल्लाका थुप्रै गाउँलाई उजाड बनाएको छ। हुरीले घर, रूख, बिजुलीका पोल र सवारी साधनसमेत उडायो। ससाना बालबालिका पनि यस प्राकृतिक विपत्को चपेटमा परेका छन्। कतिपयले आफ्ना बुवाआमालाई गुमाएका छन्। कतिपय चोटपटक लागेर घाइते भएका छन्। घर नै हुरीले भत्काएपछि बास बस्न ओतको समेत समस्या परेको छ उनीहरूलाई।

पढ्ने विद्यालय क्षतिग्रस्त भएको छ। डेस्क बेन्चहरू भाँचिएका छन्। किताबकापी हुरीमा हराएको छ। खानसमेत धौधौ परिरहेका बेलामा पढ्न त निकै गाह्रो छ। अस्थायी रूपमा बनाइएका टहराहरूमा जेनतेन पीडितले दिनरात काटिरहेका छन्। सामान्य जीवनलाई अस्तव्यस्त बनाएको चक्रवातको क्षति अकल्पनीय छ। तर, आफ्नो घरबार गुमाएर बेघर भएकाहरूलाई सबै नेपाली दाजुभाइले सहयोग गर्दा भने उनीहरूको घाउमा मल्हम पट्टी लगाउन सकिन्छ।

हावाहुरीको प्रकोपमा परेका व्यक्तिको सहयोगका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न संघसंस्था मात्र होइन; बालबालिका पनि जुटेका छन्। बारा, पर्सामा गएको प्राकृतिक विपत्मा परेकाहरूको सहयोगका लागि जनकपुरमा बालअभियन्ता र युवा अभियन्ताहरूले संयुक्त रूपमा राहत संकलन अभियान सञ्चालन गरेका छन्। त्यसैगरी हावाहुरीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूले क्यान्डल मार्चसमेत निकालेका छन्।

‘हामीजस्ता थुप्रै बालबालिकाले प्राकृतिक विपत्मा परेर घरपरिवार गुमाउनु परेको छ’, बाल अभियन्ता विद्यापति ठाकुरले भने, ‘हाम्रो तर्फबाट हुन सक्ने सानो सहयोग राहतस्वरूप संकलन गर्न मात्र खोजेका हौं।’ पसल–पसलमा गएर बालबालिकाले डोनेसन बक्स राख्दै राहत संकलन गरेका छन्। यति ठूलो विपत्मा सानो भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो काम गरेको बताउँदै बालअभियन्ता प्रियंका मि श्रले भनिन्, ‘हामी पीडितलाई सहयोग गर्नुस् भनेर सबैलाई अनुरोध गर्न चाहन्छौं।’

‘बुवाआमाभन्दा टाढा हुनुपर्ने सोचले पनि मन रुवाउँछ’, सरस्वती श्रेष्ठले गह्रुँगो स्वरमा भनिन् , ‘जसले आँखाअगाडि आफ्नो बुवाआमा र आफन्तलाई गुमाए, ती साथीलाई कति पीडा परिरहेको होला।’ प्राकृतिक विपत्को असरले बालमनोविज्ञानमा गहिरो प्रभाव पार्न सक्ने हुनाले बारा र पर्सामा बालबालिकालाई लक्षित गरी विशेष सेल्टर निर्माण गर्ने योजना प्रदेश सरकारको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भीषण हावाहुरीले क्षति पुर्‍याएका विद्यालयहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्। ती विद्यालयहरूलाई तत्कालै मर्मतसम्भार गरी पठनपाठनको अवस्था निर्माण गर्ने उनले बताए। कानुनमन्त्री यादवले भने, ‘बालबालिकाले यथाशीघ्र पठनपाठनको वातावरण पाऊन्। त्यसका लागि हामी प्रयत्नरत छौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.