बीउ उत्पादनमा आकर्षण
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको फलाते चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका कृषकले व्यावसायिक रूपमा तरकारीको बीउ उत्पादन गर्न थालेका छन्। यस क्षेत्र मार्फा रायो जातको सागको बीउका लागि पकेट क्षेत्रको रूपमा विकास भएको छ।
ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बीउ उत्पादनमा कृषकको आकर्षण बढेको फलातेका खमबहादुर पूर्जाले बताए। फलातेका ३६ जना कृषकले व्यावसायिक रूपमा बीउ उत्पादन गर्न साग खेती गरेका छन्।
‘गाउँका सबैले बीउ उत्पादन गर्न साग खेती गरेका छन्’, पुर्जाले भने, ‘एउटा घरले थोरैमा २० केजीदेखि एक सय केजीसम्म बीउ उत्पादन गर्छौं।’ तीन रोपनी बारीमा साग खेती गरेका पुर्जाले गत याम (सिजन)मा एक सय किलोग्राम बीउ बेचेको बताए।
पोखरा र चितवनका व्यापारी गाउँमै आएर बीउ खरिद गरेर लैजाने भएकाले बजारको समस्या छैन। प्रतिकिलो ४७५ रुपैयाँका दरले बीउ बिक्री हुन्छ। फलातेका साथै खिवाङ, महभीर र कुटुकामा पनि व्यावसायिक रूपमा सागको बीउ उत्पादन हुने गरेको छ। लालीगुराँस कृषक समूहमा आबद्ध ५० जना कृषकमध्ये अहिले ११ जनाले व्यावसायिक रूपमा बीउ उत्पादन गरिरहेका छन्।
समूहमा आबद्ध कृषकले गत वर्ष करिब साढे तीन लाख रुपैयाँको सात सय किलोग्राम बीउ बिक्री गरेका थिए। समूहकी अध्यक्ष मिठू विकले यस वर्ष हिउँ धेरै परेकाले बीउ उत्पादन घट्ने बताइन्। तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले अनुकूल हावापानी, वातावरण र भुगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बीउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो।
पाँच वर्षदेखि सागको बीउ उत्पादन गरिँदै आएको हो। कोदो, आलु, मकैको विकल्पमा साग खेती गरेको कुटुकाका कृषक रवीन मगरले बताए। कृषकलाई तालिम, मूल बीउ र बजार व्यवस्थापनमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए।
मंगला गाउँपालिकाको धापुङ र बेनी नगरपालिका १० पात्लेखेतमा पनि मार्फा रायो सागको बीउ उत्पादन गर्न परीक्षण गरिएको थियो। धापुङ र पात्लेखेतमा परीक्षण सफल भएको थिएन। दुई हजार मिटर उचाइको भुगोल मार्फा रायो सागको बीउ उत्पादनका लागि अनुकूल मानिएको छ।
भदौमा बीउ, असोजमा बिरुवा रोपेपछि असारमा बीउ उत्पादन गर्न सकिन्छ। बीउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन। ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागबानी विकास केन्द्रले विकास गरेको हो।
बीउ उत्पादनलाई व्यावसायिक बनाउन गाउँपालिकामा कृषक समूह दर्ता गर्न लागिएको फलातेका अर्जुन पुर्जाले बताए। कृषकका लागि बीउ भण्डारण गर्ने मेटलबिन, सुकाउने त्रिपाल र बाली बिमाको सुविधा आवश्यक रहेको उनले बताए।
खिवाङका कृषकले भने सिँचाइ समस्या भएको बताएका छन्। सिँचाइ सुविधा भए बीउ उत्पादन सहज हुने कृषकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !