‘गैरआवासीय नेपाली पर्यटक होइनन्, लाहुरे हुन्’

‘गैरआवासीय नेपाली पर्यटक होइनन्, लाहुरे हुन्’

स्याङ्जामा जन्मिएका जेदु पोखरेल लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। अमेरिकालाई कर्मथलो बनाएका उनले आफूलाई सामाजिक काममा पनि सक्रिय बनाउँदै आएका छन्। पछिल्लो समय उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सक्रिय छन्। एनआरएनए मेरिल्यान्डका संस्थापक अध्यक्ष रहेका पोखरेल हाल एनआरएनए अमेरिका राष्ट्रिय समन्वय समितिको उपाध्यक्ष छन् ।

विश्वभरका आप्रवासीको आकर्षण केन्द्र बनेको अमेरिकामा रहँदा पोखरेल अप्ठेरोमा परेका नेपालीको हितमा सक्रिय छन्। एनआरएनलाई संस्थागत बनाउन अझै काम गर्नु जरुरी रहेको उनको धारणा छ। पछिल्लो पटक उनी गैरआवासीय नेपालीसँग जोडिएको नागरिकता विधेयक संशोधनको लबिङमा नेपाल आएका थिए। दोहोरो नागरिकता अडानमा रहेको एनआरएन, अमेरिकाले उनीसहित एउटा प्रतिनिधिमण्डललाई लबिङका लागि काठमाडौं पठाएको थियो। नागरिकता विधेयकमा आफ्ना अधिकार सुरक्षित गराउने लबिङमा नेपाल आएका बेला अन्नपूर्ण पोस्ट्ले पोखरेलसँग गरेको कुराकानीको संक्षिप्त अंश :

अमेरिकामा नेपालीको अवस्था कस्तो छ ?

नेपालीहरू अहिले विश्वका १७६ मुलुकमा पुगिसकेका छन्। नेपालबाहिर अहिले करिब ५५ लाख नेपाली छन्। तीमध्ये अमेरिका नेपालीको प्रमुख आकर्षणको केन्द्र हो। अमेरिकाका सबैजसो राज्यमा नेपाली फैलिइसकेका छन्। नेपालीहरू वैधानिक र अवैधानिकरूपमा अमेरिका पस्ने क्रम जारी छ। समस्याका बावजुद पनि नेपालीले अमेरिकामा आफ्नो फरक पहिचान स्थापित गर्दै आएका छन्। नोकरीसँगै व्यवसाय गर्ने क्रम बढेपछि आर्थिकरूपमा सम्पन्न हुँदै गएका छन्। अमेरिकामा एनआरएनएको स्थापनासँगै हामी नेपालीको अधिकतम् हितमा क्रियाशील छौँ। संघर्ष गर्न सक्नेका लागि अमेरिका धेरै सहज छ। तर दुःख गर्न नसक्नेका लागि अमेरिका चुनौतीपूर्ण छ ।

नेपालीले अमेरिकामा झेल्नुपरेका समस्या के छन् ?

अमेरिकामा नेपालीको प्रमुख समस्या अध्यागमनको हो। अंग्रेजी भाषा जान्न नसक्दा धेरै नेपालीले अध्यागमनमा समस्या भोग्नुपरेको छ। अध्यागमनमा अलमलले धेरै नेपालीले दुःख पाउने गरेका छन्। अध्यागमनको जटिलतामा परेका नेपालीलाई एनआरएनएले कानुनी सहयोग दिने गरेको छ।

हामीले हेल्प डेस्क राखेर समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएका छौं। यहाँ नेपालीले भोग्नुपरेको अर्को समस्या बेरोजगारी हो। बेरोजगारीसँगै आर्थिक समस्या देखिन्छ। अर्कातिर स्वास्थ्यमा समस्या पर्दा हामीले उपचारको पहल गर्दै आएका छौं ।

नेपालीहरू अझै संगठित हुन सकेका छैनन् नि ?

खासमा नेपालीहरू अमेरिकामा धेरै पछि छिरेका हुन्। भारतीयहरू ६० वर्षअघि नै यहाँ छिरेर आफ्नो पहिचान स्थापित गरिसकेका छन्। उनीहरू यहाँ व्यापार व्यवसायमा जमिसकेका छन्। तर, पछिल्लो समय विभिन्न व्यवसायमा नेपालीको उपस्थिति बढ्दै गएको छ।

दोहोरो नागरिकताको प्रावधान व्यवस्था गर्न सके गैरआवासीय नेपालीले विदेशमा आम्दानी गरेर नेपालमा लगानी गर्छन् ।

एनआरएनएमा करिब १० हजार नेपाली सदस्य भइसकेका छन्। विस्तारै संगठित हुँदै जाँदा अमेरिकी सरकारमा नेपालीको उपस्थिति बढ्दै छ। नेपाली समुदायकै साथ पाएर मेरिल्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ मा डेमोक्र्याट्रिकबाट राज्य प्रतिनिधिसभा सदस्यमा ह्यारी भण्डारी निर्वाचित भएका छन् ।

तपाई एनआरएनएको नेतृत्वमा आएर नेपालीलाई कस्तो सहयोग गर्नुभएको छ ?

अमेरिकामा भारतीयको भन्दा नेपालीको संख्या न्यून छ। तर नेपालीले आफ्नो प्रभाव बढाउँदै लगेका छन्। नेपाली संगठित हुँदै जाँदा समस्या पनि छन्। यी समस्याको पहिचान गरेर मैले समाधानको विकल्प पनि खोज्दैछु। अंग्रेजी भाषाको समस्याले अमेरिकामै पहिलो पटक नेपाली भाषालाई मान्यता दिलाउन सकेका छौं। मेरिल्यान्डमा सवारी लाइसेन्सका लागि पहिलो पटक नेपाली भाषामा कोर्ष बनाइएको छ। म एनआरएनए मेरिल्यान्डको अध्यक्ष हुँदा नेपाली भाषालाई औपचारिक मान्यता दिन सकिएको हो। अब नेपालीहरूले अंग्रेजी नजान्दा सवारी लाइसेन्सको परीक्षा दिन नसक्ने अवस्था छैन।

मेरिल्यान्डमा बस्दै आएका करिब १५ हजार नेपालीले मातृभाषामै सवारी लाइसेन्सको परीक्षा दिन पाएका छन्। यसले सवारीसाधन अनिवार्य मानिने अमेरिकामा धेरै नेपालीलाई राहत मिलेको छ। यो प्रावधान न्युयोर्कमा पनि लागू भएको छ। मेरिल्यान्डमा नेपाली भाषाको सवारी लाइसेन्स पाठ्यक्रम लागू भएपछि अन्य राज्यबाट यहाँ आएर धेरै नेपालीले परीक्षा दिएका छन्। म्यासाचुसेट्समा पनि नेपाली भाषाले मान्यता पाउँदै छ। अमेरिकामा अल्पसंख्यक मानिने नेपालीलाई आफ्नो पहिलो भाषाले सरकारी मान्यता पाउँदा सहजता मिलेको छ ।

एनआरएनए अमेरिका राष्ट्रिय समन्वय समितिको वरिष्ठ उपाध्यक्षमा उठ्दै हुनुहुन्छ, आगामी योजना के छन् ?

अमेरिकामा रहेका नेपालीलाई संगठित गर्दै अघि बढ्नुछ। यसका लागि नेपालीलाई त्यहाँको सरकारबाट धेरैभन्दा धेरै सुविधाको पहल गरिरहेका छौँ। दसैंको टिकाको दिन पब्लिक स्कुलमा छुट्टि गराउन पहल भइरहेको छ। पब्लिक स्कुलको पाठ्यक्रममा नेपाली भाषालाई ऐच्छिक राखिदिन अमेरिकी सरकारलाई आग्रह गरेका छौं। मेरिल्यान्डजस्तै अन्य राज्यमा पनि नेपालीमा परीक्षा दिन पाउने व्यवस्थाका लागि पहल गरिरहेको छु ।

विदेशको नागरिकता लिएका प्रवासी नेपालीका लागि नेपाल जाँदा लाग्ने भिसा शुल्क निःशुल्क गराउन एनआरएन आईसीसीसँग समन्वय गरी पहल गर्दै छौं। मेरो अर्को एजेन्डा एनआरएन वल्र्ड टेलिभिजन हो। विश्वका १७६ देशका गैरआवासीय नेपालीलाई यो टेलिभिजनमार्फत जोड्ने अभियानमा छु। अमेरिकामा यसको मुख्य कार्यालय राखेर विश्वभरका ५५ लाख गैरआवासीय नेपालीका गतिविधि प्रसारण गर्ने लक्ष्य पूरा गर्छौँ ।

प्रसंग बदलौ, नागरिकतामा तपाईहरूले खोजेको कुरा के हो ?

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएन) अमेरिकाले मसहित दुईजनालाई नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैरआवासीय नेपालीका तर्फबाट ‘लबिङ’ गर्न नेपाल पठाएको थियो। नेपालमा रहँदा सत्तारुढदेखि प्रतिपक्षी सांसद र नेतासँग हाम्रा कुरा प्रष्ट राखेका छौं। उहाँहरूसँगको भेटमा हामीले गैरआवासीय नेपालीलाई पर्यटक नभई लाहुरे बनाउन आग्रह गरेका छौं। राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता विधेयकमा गैरआवासीय नेपालीलाई पर्यटक मात्रै बनाउन खोजिएपछि हामीले त्यसलाई सच्याउन भनेका छौं। यसको अर्थ के हो भने दोहोरो नागरिकताको प्रावधान सुरक्षित भए गैरआवासीय नेपालीले विदेशको आम्दानी नेपालमा लगानी गर्छन्।

राजनीतिकबाहेक आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितका प्रावधान विधेयकमा समावेश हुनुपर्ने हाम्रो माग हो। गैरआवासीय नेपालीले जन्मभूमि फर्किंदा लगानी गर्ने वातावारण सरकारले बनाउनुपर्छ। दोहोरो नागरिकताको व्यवस्था गरेर राज्यले हामीलाई लाहुरेकारूपमा स्वागत गरे मात्रै त्यो सम्भव हुन्छ। नत्र जन्मभूमि फर्किने नेपालीले ५ डलर खर्चेर उतै जान्छन्। अहिले कैयौँ नेपालीले अर्बौं लगानीमा होटलदेखि अन्य पूर्वाधारमा लगानी गरिरहेका छन्। अहिलेको लगानीलाई अझै बढाएर देशलाई समृद्ध बनाउने हो भने गैरआवासीय नेपालीलाई राज्यले दोहोरो नागरिकताको अधिकार दिन सक्नुपर्छ ।

नेपाललाई समृद्ध बनाउन एनआरएनले के गर्न सक्छन् ?

अनेक किसिमका बाध्यताले बिदेसिएका नेपालीले जन्मभूमिको माया कहिल्यै मार्दैनन्। सरकारले अधिकार दिन कञ्जुस्याइँ गरिरहँदा पनि गैरआवासीय नेपालीले मातृभूमिमा लगानी गरिरहेका छन्। एनआरएनए आफैंले यहाँ लगानी गर्ने होइन। यसका सदस्यले लगानी गर्ने हुन्।

अमेरिकामै पहिलो पटक नेपाली भाषालाई मान्यता दिलाउन सकेका छौं। मेरिल्यान्डमा सवारी लाइसेन्सका लागि पहिलो पटक नेपाली भाषामा कोर्ष बनाइएको छ ।

नेपाललाई समृद्ध बनाउने सबालमा एनआरएन गम्भीर छन्। नेपाल लगानीका लागि भर्जिन ल्यान्ड भएकाले हामी त्यसतर्फ सक्रिय छौं। तर यसमा सरकारले पनि गैरआवासीय नेपालीलाई संकिर्ण दृष्टिबाट नहेरी खुला हृदयले स्वागत गर्न सक्नुपर्छ। त्यसका लागि नागरिकता ऐनको संशोधन विधेयकलाई हाम्रो सुझावअनुसार पास गराउनुपर्छ सरकारले ।

नेपालमा लगानीको वातावरण बनेकै हो त ?

सरकारले गैरआवासीय नेपाली र विदेशी दातृ निकायलाई लगानीको वातावारण बनेको बताइरहेको छ। तर, हामीले लगानीको सहज वातावारण बनिसकेको देखेका छैनौं। संघीयता आएसँगै केन्द्रदेखि गाउँसम्म सरकारको उपस्थिति छ। तर, दोहोरो करप्रणाली, झन्झटिलो निर्णय प्रक्रिया, सरकारी ढिलासुस्तीजस्ता जटिल समस्या हामीले भोग्नुपरिरहेको छ। दोहोरो कर प्रणलाीले गैरआवासीय नेपालीले सहजरूपमा लगानी ल्याउन सकेका छैनन्। एक ठाउँमा कर तिरेपछि फेरि अर्को सरकारी निकायलाई किन कर तिर्नु ? गैरआवासीय नेपालीको लगानीको सहजताका लागि सरकारले प्रतिबद्धता गरेको छ। तर कार्यान्वयनमा कमजोर छ। यी जटिलताले अझै नेपालमा लगानीको राम्रो वातावरण बनिसकेको छैन ।

तपाईंका लागि एनआरएन राजनीति किन ?

धर्मशास्त्रले समाजसेवालाई पवित्र काम र उत्तम जीवन भनेको छ। त्यसैलाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघका माध्यमबाट मैले मेरो बाँकी जीवनलाई समाजसेवामा समर्पित गर्ने निधो गरेको छु। यसैका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छु ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.