गोरखाका निमा लामालाई जनसेवाश्री
गोरखा : गोरखाका निमा लामालाई जनसेवाश्री विभुषणद्वारा विभूषित गरिएको छ। संविधान दिवसको दिनमा घोषणा गरिएको सो विभूषण नयाँ वर्षको दिन वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन्।
गोरखाको अन्तिम गाउँ चुमनुब्री गाउँपालिका ७ छेकम्पार, निले स्थायी घर भएका लामाले बिगत लामो समयदेखि विभिन्न स्थानमा रहेर समाजसेवा गरेकाले विभूषित गरिएको उनलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ। लामा चुमकल्याण समितिका अध्यक्ष हुन्।
‘नेपाल राष्ट्रको गौरव तथा नेपाली जनताको हित अभिवृद्धिका लागि तपाईंबाट भएको योगदानको सम्मानस्वरुप जनसेवाश्री विभूषणद्वारा विभूषित गरिएको छ’, प्रमाणपत्रमा भनिएको छ।
५५ वर्षका लामा साबिक छेकम्पार गाविसका पूर्वअध्यक्ष तथा साविक जिल्ला विकास समितिका पूर्वसदस्य रहेर सामाजिक काम गरेका थिए। त्यस्तै २०६३ सालदेखि अहिलेसम्म चुमकल्याण समितिको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन्। उनी स्यार समाज कल्याण केन्द्रको अध्यक्ष, हिमाली समुदाय जलवायु मैत्री संगठनका उपाध्यक्ष पनि हुन् भने कम्युनिटी एक्सन नेपाल (क्यान)का उपाध्यक्ष हुन्।
उनी प्रधानमन्त्री अध्यक्ष रहेको आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सञ्चालक परिषदका सदस्य र चुम स्याक्या संरक्षण समितिका संरक्षकको रुपमा रहेर काम गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !