पर्यटकीय स्थल खचाखच

पर्यटकीय स्थल खचाखच

विराटनगर : नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ।

धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वनभोज र घुम्न आउने पर्यटकले भरिभराउ भए। ती स्थानमा एक हप्ताअघि देखिनै पर्यटकको चहलपहल बाक्लिएको थियो। पर्यटकलाई आर्कषित गर्न अधिकांश पर्यटकीयस्थलमा मेला महोत्सव तथा सांगीतिक कार्यक्रमको आयोजनासमेत गरिएको छ। 

पछिल्लो समय आन्तरिक पर्यटकमा पनि पर्यटकीय क्षेत्र घुम्न जाने प्रचलन बढ्दै गएको पाइन्छ। यो वर्ष विगतको तुलनामा पर्यटकको उपस्थिति बढेको होटल व्यवसायी बताउँछन्।

नयाँ वर्षको पहिलो दिन धनकुटाका विभिन्न पर्यटकीयस्थानमा वनभोज तथा घुम्न आउने आन्तरिक पर्यटकले खचाखच हुँदा व्यवसायीलाई व्यवस्थापन गर्नै धौधौ भयो। 

विशेष गरी जिल्लाको भेडेटार, नाम्जे, राजारानी, जेफाले डाँडा, ओख्रे बजार, नमस्ते झरना, मुलघाट, यस्तै सदरमुकाम क्षेत्रमा रहेको चुलिवन, सल्लेरी वन, हिले बजार, उत्तरपानी, बक्रुकुण्ड मन्दिर, पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्र, बजार नजिकै रहेको चिया बगानसहितको ताल, राम्चे डाँडा, जोरपाटी, सिँधुवा बजार, कुवापानीस्थित गुराँसे चिया बगानलगायत पर्यटकीयस्थल पर्यटककले भरिभराउ थिए।

पर्यटकीयस्थल भेडेटारमा पर्यटकका लागि सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। यस्तै भेडेटार बजारदेखि केही तल रहेको कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने नमस्ते झरनामा बिहानैदेखि पर्यटकको भीड देखिएको थियो। धनकुटा सदरमुकामदेखि माथि रहेको डाँडा हिले बजारमा खाना महोत्सव आयोजना गरिएको छ। यस्तै सदरमुकाम नजिकै रहेको चुलिवन डाँडामा व्यवस्थित रूपमा पूर्वाधार निर्माण र मिनी मेला आयोजना भएको पर्यटकको उपस्थिति धेरै देखिन्थ्यो।

यता तमोर नदी किनारा मूलघाट र लेउती खोलाको वगरमा पनि वनभोजको लागि आएका समूहको भीड देखिएको थियो। भेडेटारमा तराईका मुख्य बजार विराटनगर, इटहरी, धरान, झापाका साथै भारतको सीमावर्ती बजार जोगमुनि, सिक्किम, दार्जिलिङ, विहारबाट हजारौं संख्यामा नयाँ वर्ष बनाउन भेडेटार आएका छन्। 

भेडेटारसहित आसपासका नाम्जे, ओख्रे, नमस्ते झरनालगायत स्थानमा सञ्चालित सानादेखि स्तरीय सबै होटल केही दिन यता भरिभराउ रहेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। पर्यटकको भीडले बजार क्षेत्रमा सवारीसाधन व्यवस्थापनमा ट्राफिक समस्या भएको थियो।

नयाँ वर्षको सुरुवातमा उत्साहजनक पर्यटकको उपस्थितिले गर्मीको यो सिजनमा भेडेटारलगायत आसपासका क्षेत्रमा आर्थिक कारोबार राम्रो हुने भेडेटारमा सञ्चालित सवसारा रिसोर्ट प्रालिका सञ्चालक किरण राईले बताए। नयाँ वर्षका दिन भेडेटारभन्दा केही तल रहेको नमस्ते झरनाको चिसो पानी रमाउने पर्यटकको भीड अन्य दिनभन्दा धेरै रहेको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष तथा होटलव्यवसायी दिलीप सुब्बाले बताए। यहाँ तीन दर्जनभन्दा बढी सानादेखि ठूला होटल सञ्चालित छन्।

खुला आकाशसँगै सेताम्मे हिमालको दृश्यावलोकन गर्दै प्राकृतिक सौन्दर्यतामा रमाउने आन्तरिक तथा बाह्य पर्यटक ताप्लेजुङमा पनि कम रहेनन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित, पाथीभरा, फुङफुङ्गे झरनालगायत स्थानमा पर्यटकको चहलपहल बाक्लिएको छ।

नयाँवर्षको पहिलो दिन ८ हजार बढीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताए। रामनवमी र नवरात्रमा यहाँ पर्यटकको भीड लाग्छ। पाथीभरामा गत वर्ष साढे ३ लाखले भ्रमण गरेको थिए। पूर्वाधार, व्यवस्थापनलगायत चुस्त बनाइएकाले यसपालि उक्त संख्या बढ्ने समितिले जनाएको छ।

गत वर्ष ३९ जनाले आरोहण गरेको कञ्चनजंघा हिमालमा यस वर्ष २४ जनाले अनुमति लिएका छन्। आरोहणको तयारीका लागि सहयोगी र गाइड आवश्यक सामानसहित आधारशिविर पुगेका छन्। पर्यटकको आगमन बढेसँगै पदमार्ग (तापेथोक, घुन्सा, खम्बाचेन, याम्फुदिन)का स्थानीय पर्यटकको स्वागत सत्कारमा व्यस्त हुन थालेका छन्। 

आधारशिविर मात्रै पुगेर फर्कने चैत्र पहिलो हप्तादेखिनै जान थालेको घुन्साका हिमाली चुङ्दाले बताए। ‘१५ टोली गएका छन्’, उनले टेलिफोनमा भने, ‘त्यसमध्ये कोही वेसक्याम पुगेर फर्कने र कोही आरोहणको तयारी गर्ने छन्।’ फुङलिङबाट कञ्चनजंघा जाने दुईवटा रुट छन्। मित्लुङ, तापेथोक, घुन्सा हुँदै उत्तरी रुट र देउराली, सिङ्चेवु भञ्ज्याङ, मामाङ्खे, याम्फुदिन हुँदै पूर्वी रुट।

मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङ्गे झरनामा समेत पर्यटक तानिन थालेका छन्। सडकको पहुँच गाउँपालिकाको केन्द्र साँवामा पुगेसँगै आन्तरिक तथा बाह्य पयटकको आकर्षणको केन्द्र बनेको हो। करिब १ सय ५० मिटर अग्लो पहराको कापबाट खसेको झरना निकै आकर्षक छ। नयाँ वर्षसँगै सदरमुकाम फुङलिङ नजिकैका पर्यटकीयस्लथल सुकेटार, दोभान, काबेली, सिद्धिडाँडामा पिकनिक मनाउने बढेका छन्। बालकदेखि वृद्धसम्मै पिकनिकमा रमाइरहेका भेटिन्छन्। 

सुकेटारबाट कञ्चनजंघा, मकालु, सगरमाथा जस्ता ८ हजार मिटरभन्दा माथि उचाईका र कुम्भकर्ण लगायत ७ हजार माथीका दर्जनौं हिम शृंखला र पाथिभरा, मानाभरा, जलजले, तेह्रथुमको सक्रान्तिको दृश्यावलोकन गर्न सकिन्छ। यो क्षेत्र अहिले गुराँस फुलेर राताम्मे छ।

पर्यटकीयस्थलको तीव्र प्रचारसँगै इलाममा गत वर्षभन्दा ४६ हजार ८ सय ३० जना बढीले भ्रमण गरेका छन्। थपिएका भौतिक सुविधा, इलाममा भएका पर्यटकीय गतिविधिका कारण आन्तरिक र वाहियपर्यटक बढेका हुन्। गत वर्षको वैशाख १ देखि वर्षान्तसम्ममा १ लाख ३१ हजार ५ सय ७६ जनाले इलामको भ्रमण गरेको इलाम प्रवेशद्वार जोर कलशको पर्यटन सूचना केद्रका अधिकृत गगन घिमिरेले जानकारी दिए।

अघिल्लो वर्षको यही अवधिमा ७४ हजार ५ यस ४६ जना पर्यटकले इलाम घुमेको घिमिरेको भनाइ छ। देशका पश्चिमी जिल्लाबाट पछिल्लो समयमा इलामका गन्तव्य घुम्ने पर्यटकको चाप बढेको केन्द्र कर्मचारी गगन घिमिरेले जानकारी दिए। कन्यामको चियाबारीको हरियाली दृष्यको स्वाद लिदै घोडा चड्ने र बनभोज खान तराईबाट आउने पर्यटकको चाप बढेको छ भने श्रीअन्तुकोलगायत क्षेत्रको भ्रमणमा पनि पर्यटकको लर्को लाग्न थालेको छ।

इलाम बजारसहित माइपोखरी, ढापपोखरी, सन्दकपुर, माङमालुङ, राँके, पानिटार लगायत क्षेत्रमा पनि पर्यटक पुग्ने क्रम बढ्दो छ।

तेह्रथुमसहित ताप्लेजुङ र संखुवासभा सीमावर्ती क्षेत्रमा पर्ने तिनजुरे–मिल्के–जलजले क्षेत्र (टीएमजे) को गुराँस फुल्ने डाँडाकाँडा वनभोज तथा घुम्न आउने आन्तरिक तथा वाहिय पर्यटकले भरिभराउ भए। विगतभन्दा यो वर्षमा बढी हिउँ र असिना पानी परेको कारण टीएमजे क्षेत्रमा रहेको गुराँसका जंगलमा गुराँस कम फुलेपनि नयाँ वर्षको पहिलो दिन पर्यटकको आगमनमा भने कुनै कमी आएको देखिन्दैन थियो। धरानको पश्चिम उत्तरमा रहेको धार्मिकस्थल विष्णुपादुकामा तीर्थयात्री र पर्यटकको भीड छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.