वर्ष फेरियो तर हाम्रो सोच ?

वर्ष फेरियो तर हाम्रो सोच ?

विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०७५ सालले हामीबाट बिदा लिएको छ। २०७६ साललाई आपसमा शुभकामना दिँदै स्वागत गरेका छौं। वर्षको रूपमा हेर्दा त जबदेखि मानिसले समयलाई गणना दिन थाल्यो त्यही आधारमा हामी २०७६ सालमा प्रवेश गर्दै छौं। हाम्रो नेपाली पात्रोका आधारमा मात्र नभएर अरू मुलुक र विभिन्न धर्म–सम्प्रदायका आआफ्नै समयतालिकाअनुसार नयाँ वर्ष मनाउने गरिएको पाइन्छ। नयाँ उमंग, नयाँ संकल्प र नयाँ ऊर्जाले व्यक्तिगत रूपमा, सामाजिक रूपमा र समग्रतामा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको चाहनालाई अरू व्यावहारिकता प्रदान गर्दै निरन्तरता दिन र यसलाई जीवन्त राख्ने संकल्पको याद दिलाउँछ प्रत्येक नयाँ वर्षले।

प्रत्येक १२ महिनामा वर्ष फेरिन्छ तर हाम्रो संकल्पअनुसार हामी हिँड्छौं या हिँड्दैनौं ? हाम्रो सोच नकारात्मकताबाट सकारात्मकतातिर फेरियो कि फेरिएन ? हामीले चाहेको सुख, शान्ति र समृद्धिमा थप विकास भएको छ या छैन ? भौतिक विकाससँगसँगै हाम्रो आत्मविकास भएको छ कि छैन ? के सकारात्मक उपलब्धि भयो एक वर्षको अन्तरालमा हाम्रो जीवनमा ? के परिवर्तन आयो राष्ट्रमा ? शुभकामना व्यक्त गर्ने कार्यक्रम र शब्दमा जस्तै रूपान्तरण जीवनमा र सोचाइमा आयो कि आएन ? यी सबै कुरालाई मूल्यांकन गर्ने र आगामी वर्षमा विगतका कमजोरी नदोहोर्‍याउन संकल्प लिने क्षण र अवसर पनि हो नयाँ वर्षको सुरुवात।

जीवन जिउने क्रममै पनि हामी प्रत्येक वर्ष आफ्नो जन्मदिन मनाउँछौं र विगतका वर्षलाई हेरेर अबको वर्षमा यो–यो राम्रो काम गर्छु या यो अहित हुने काम गर्दिनँ भनेर संकल्प गर्दछौं तर दुईचार दिनमै त्यो संकल्प बिर्सन्छौं। किनकि हामीले होसपूर्ण जीवन जिएकै छैनौं। दुःख लाग्न सक्छ– बेहोसीको उपमा पाउँदा तर अरू कुनै कारण छैन आज राष्ट्र र जनताले समृद्धि पाएका छैनन् भने।

थोरै मात्र सजगता अपनाउने हो भने अस्तव्यस्त जीवनलाई प्रेमपूर्ण जीवनमा बदल्न सकिन्छ।

हाम्रो समृद्धिको मापन के हो ? भयलाई उत्साहमा, चिन्तालाई विस्मयमा, शोकलाई शक्तिमा, क्रोधलाई करुणामा र कामनालाई तृप्तिमा रूपान्तरण गरी आत्मसम्मान र स्वाभिमानमा बाँच्न सकेको क्षण समृद्धिको अनुभूति हुनेछ। कुनै पनि विकसित राष्ट्रको इतिहास हेर्ने हो र सिक्न खोज्ने हो भने त्यस राष्ट्रका नेतृत्व वर्ग र नागरिकले सिकेको र अपनाएको संस्कार, सोच र त्यसअनुसारको कर्म महत्वपूर्ण पक्ष हुन् आउँछन्।

वर्ष फेरिँदैमा हाम्रो स्वभाव फेरिएन, हाम्रो सोच फेरिएन भने विकासको अनुभूति पनि गर्न सकिन्न। नयाँ सोच, नयाँ ज्ञान, नयाँ ऊर्जा, नयाँ संकल्प, नयाँ योजना, नयाँ थालनी र नयाँ जीवनशैलीको विकास गर्ने प्रेरणा जाग्न सक्यो भने मात्र नयाँ वर्षको उमंगले सबैमा हौसला थप्न सक्छ र जीवनलाई सुन्दर तरिकाले जिउन प्रेरणा प्रदान गर्छ। सबैलाई थाहा छ– हाम्रो कर्मको फल हाम्रो विचारको फल हो। जे विचारले कर्म गरिएको छ त्यही फल प्राप्त भएको छ। विचार कस्तो गर्‍यौं, सबैको हितका लागि गर्‍यौं या आफ्नो स्वार्थपूर्तिका लागि मात्र ? अहिलेसम्म होस आएको छैन सम्बन्धित पक्षलाई। वास्तवमै भन्ने हो भने आफू स्वयं बेहोसीमा छु भन्नेसम्म हेक्का छैन।

वास्तवमै समृद्धि प्राप्त गर्न त लोभलालचमाथि विजय प्राप्त गर्ने सक्ने नेतृत्व हुनुपर्छ। दया र करुणाको खेती गरी प्रेमको फल टिप्ने नेतृत्व जन्मिनुपर्छ। जागृतिपूर्ण जीवन जिउने र जीवन जिउन दिने नेतृत्वले राष्ट्र हाँक्नुपर्छ। जुन कर्मले, जुन सफलताले हामी पूर्णरूपले खुलेर जिउन सक्छौं, मानसिक रूपले मुक्त हुन सक्छौं र एउटा सहज, सरल मुस्कान छर्दै एक अविच्छिन्न खुसीयालीको महासागरमा प्रवेश गर्न सक्छौं, त्यो जीवन जिउन सिक्ने वास्तविक मनुस्य जन्मिनुपर्छ। वर्ष फेरिँदै र शुभकामना आदानप्रदान गर्दै गए पनि मानिसमा तनाव र अस्थिरता कम भएको छैन, पाइँदैन। विसंगति र अराजकता कम भएको पाइँदैन आखिर किन यस्तो भइरहेको छ ? किनकि, जीवनका सबै अनुभव, घटना र विकासले केही न केही शिक्षा दिएकै छन्।

तिनलाई बोध गरेर शिक्षा ग्रहण गर्न नसकेर समृद्ध र प्रेमपूर्ण जीवन तनावग्रस्त बनेको छ। थोरै मात्र सजगता अपनाउने हो भने अस्तव्यस्त जीवनलाई प्रेमपूर्ण जीवनमा बदल्न सकिन्छ। अस्तव्यस्त बन्न धेरै परि श्रम र विचारको खेलले भूमिका खेल्छ, यो कठिन छ तर प्रेमपूर्ण बन्ने उपाय सरल छ। कठिन र तनावपूर्ण कर्ममा हात नहाल्ने हो भने जीवनमा आनन्द नै आनन्द र प्रेम नै प्रेम अनुभूति हुन्छ। सम्यक कर्म, सम्यक भोजन, सम्यक स्वास्थ्यप्रति जागृत, सम्यक वाणी, सम्यक संकल्प, शिलवान् आचरण, चेतनाको स्तर वृद्धि र स्वीकारको भाव जागृत गराउनासाथ जीवन प्रेमपूर्ण बन्छ, नयाँ जीवनशैलीको आरम्भ हुन्छ। केही कुरामा पनि अति आसक्ति नगर्ने, आफ्नो जिम्मेवारीलाई इमानदार भएर पूरा गर्ने र सत्यम्, शिवम्, सुन्दरम्को मार्ग अपनाउने व्यक्तिको जीवनमा सधैं नयाँ वर्षको आभास रहन्छ।

परिस्थिति होइन आफ्नो मनस्थितिलाई अनुकूल बनाउने र शारीरिक रूपमा स्वस्थ र मस्त रहन कोसिस गर्ने व्यक्तिको जीवन नै उत्कृष्ट तरिकाले बित्छ। केही कुरा मात्र ख्याल गर्‍यौं र आफैंले त्यसलाई व्यवहारमा लागू गर्‍यौं भने जीवन धन्य भएको अनुभूति गर्नेछौं। जस्तै– हामीसँग बुद्धि मात्र होइन प्रेम भरिएको हृदय पनि होस्। बाहिरको विज्ञानको ज्ञान होस् र भित्रको अध्यात्मको पनि मिठास होस्। बाहिर प्रेम र भित्र शान्ति कायम रहोस्। प्रेम विभिन्न आयाममा फलित होस्।

समृद्धि त हाम्रो आचरण र जीवनशैली बन्नुपर्छ। वर्तमान विश्वमा भौतिक विकास, भौतिक सम्पन्नता र विज्ञानले सबै चिजको विकास गरेको छ तर मानिसमा बफादारी, इमानदारी र विश्वासको खडेरी पर्न थालेको छ। यसको अर्थ हुन्छ– विश्वास भित्रबाट प्रस्फुटन हुने गुण हो, जुन जन्मिँदै मानिसले लिएर आएको छ तर बाहिरी सम्पन्नताको मृगतृष्णाले त्यो भित्री गुण भुल्न थालेको छ मानिसले। बाहिर हेर्दा इमानदार र निष्ठावान् देखिने व्यक्ति पनि भित्रभित्रै खोक्रो, अभाव र लोभले भरिएको भेटिन्छ। व्यवहार गर्दै जाँदा उसको असलियत देखिन थाल्छ। अत्याचार, अराजकता, हिंसा, अपराध, चोरीजस्ता कर्ममा लाग्ने व्यक्तिलाई कसैले मन पराउँदैन र त्यस्ता व्यक्ति कहिल्यै विश्वासका पात्र बन्न सक्दैनन्।

अरूलाई ठग्ने काममा लागेका व्यक्ति, मदिरापान, धूमपान गर्ने व्यक्ति, अर्थविहीन राजनीति गर्ने व्यक्ति, व्यापारमा बिचौलियाको काम गर्ने व्यक्ति, भ्रष्टाचारलाई प्राथमिकता दिने व्यक्ति, आफू परि श्रम नगरी अरूको परि श्रमलाई ठगेर खाने व्यक्ति, अनैतिक र समाजविरुद्ध काम गर्ने व्यक्ति पनि सधैं विश्वासको घेराभन्दा बाहिरै हुन्छन्। नववर्ष २०७६ ले यी सबै कुरा प्राप्त गर्न सक्ने समाज, नेतृत्व वर्ग र हाम्रो जीवनशैली र सकारात्मक विचारको सन्देश फैलाउनु छ। २०७५ ले जे राम्रो शिक्षा दिएर गएको छ, त्यो अवलम्बन गर्नु छ। विगतका कमजोरी र गल्तीबाट पाठ सिकेर त्यो गल्ती नदोहोरिने संकल्प गर्नुपर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.