नङ किन टोक्नु हुँदैन ?
तिमीहरूको नङ टोक्ने बानी छ कि छैन ? नङ टोक्ने गरेका छौ भने त्यो बानी नराम्रो हो। नङ टोक्ने बानीले स्वास्थ्यमा नराम्रो असर गर्छ। यो बानीले दाँत, मुख, छाला र पेटमा समेत अनेकौं समस्या निम्त्याउँछ।
नङ टोक्ने बानी भएका बालबालिकाका हातका नङ बिग्रेका हुन्छन्। दाँतले नङको आकार पनि बिगार्छ। नङ वरपरको छाला उप्कन्छ। नङ टोक्दा नङ वरिपरिको छालाको कोषिकामा समेत असर पुग्छ।
वीर अस्पतालका वरिष्ठ दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीका अनुसार सानो उमेरका नङ टोक्ने बानी भएका बालबालिकामा ठूलो भएपछि दाँत बिग्रने समस्या हुन्छ। दाँत भित्र टम्म मिलेर बस्दैन। बाहिर उछिट्टिन्छ। नङमा फोहोर जमेर बस्ने भएकाले मुखमा राख्नेबित्तिकै फोहोर भित्र पस्छ। नङको फोहोर पेटमा पुग्छ। नङको फोहोरमा भएको ब्याक्टेरियाले आउँ, झाडापखाला लगायतका समस्या निम्त्याउँछ। पाचन प्रणालीमा असर पुग्छ।
नङ टोक्दा रोग प्रतिरोधात्मक क्षमता पनि घट्छ। नङ टोक्ने बानी बच्चादेखि नै सुरु हुन्छ। कतिपयले किशोरावस्थासम्म पनि नङ टोक्छन्।
नङ टोक्ने बानीका बेफाइदा :
· आन्द्रामा जुका पर्ने
· औंलाको छालावरिपरि रक्तस्राव हुने
· छालामा संक्रमण भई नङ वरिपरि सुन्निने
· श्वास गन्हाउने
· नङ बांगिने
· मुखमा फोका आउने
अभिभावकले के गर्ने ?
· नङ छोटो बनाइदिने
· नङ टोक्दाको बेफाइदाबारे बुझाउने
· तनावमा नराख्ने
· नङमा ब्यान्डेज वा स्टिकर लगाइदिने
कति बेला धुने हात
: खाना बनाउनु अगाडि र बनाइसकेपछि।
: कुनै पनि खानेकुरा खानु अगाडि।
: कुनै पनि बिरामी व्यक्तिको हेरचाह गरिसकेपछि।
: घाउ वा चोटपटकमा औषधि लगाइसकेपछि।
: शौचालयमा गएर आएपछि।
: आफूभन्दा साना भाइबहिनीको डाइपर फेरेपछि वा उनीहरूलाई शौचालयमा लगेर ल्याएपछि।
: नाक कोट्याउने, सिंगान पुस्ने, खोक्ने वा हाछ्यु गरेपछि।
: कुनै पनि जनावर, उनीहरूले खाने खानेकुरा वा जनावरका दिसापिसाब छोएपछि।
: कुकुर, बिरालोलगायतका घरपालुवा जनावरलाई चलाएपछि।
: कुनै पनि फोहोरमैला चलाएपछि।
प्रतिक्रिया दिनुहोस !