बेरोजगारलाई निर्ब्याजी ऋण
जुम्ला : तातोपानी गाउँपालिकामा बेरोजगार तथ्यांक संकलन जारी छ। तथ्यांकअनुसार ३ हजारभन्दा बढी युवायुवती बेरोजगार छन्। गाउँपालिकाकी रोजगार संयोजक विमला शर्मा बेरोजगारीको यकिन तथ्यांक आउन केही समय लाग्ने बताउँछिन्।
बेरोजगार युवायुवतीलाई बिनाब्याज ऋण उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ। पालिकाको नीतिले कामको खोजीमा भौंतारिँदै आएका र लगानी अभावमा बसिरहेका बेरोजगार युवायुवती खुसी भएका छन्। तर, उक्त ऋण लिन सहजै पाउनेमा भने उनीहरू ढुक्क छैनन्।
बढ्दो बेरोजगारी समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले निबर्याजी ऋण दिने व्यवस्था गरेको छ।निर्ब्याजी ऋण कार्यविधि अनुमोदन गरी कार्यान्वयनमा ल्याउने जिल्लाका ८ स्थानीय तहमध्ये तातोपानी पहिलो हो। गाउँपालिकाको हिउँदे गाउँसभाबाटनिर्ब्याजी ऋणसम्बन्धी कार्यविधि–२०७५ अनुमोदन भइसकेको छ। उक्त ऋणबाट सीप, जाँगर र क्षमतावान बेरोजगार युवायुवती लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए।
स्रोत नभएर लगानीको पर्खाइमा रहेका युवाले पालिकाबाट १० लाखसम्म ऋण पाउनेछन्। ‘विदेशबाट फर्केर आएका युवालाई विशेष प्राथमिकता दिएरनिर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ’, गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘विपन्न तथा बेरोजगार, उद्यम गर्न चाहनेलाई यो सुविधा उपलब्ध हुनेछ, त्यो ऋणबाट उनीहरूले स्थानीय जडीबुटी तथा रैथाने बाली संरक्षण गर्ने खालका व्यवसाय गर्नु पर्नेछ। ’
गाउँपालिकाबाट ऋण लिएकाहरूले कोही–कसैलाई हानि–नोक्सानी हुने किसिमको व्यवसाय तथा उद्योग सञ्चालन गर्न नपाइने कार्यविधिमा उल्लेख छ।निर्ब्याजी ऋणबाट युवा गाउँमै उद्यम गरेर घरपरिवार पाल्न सक्ने बनाउन गाउँपालिकाले प्राविधिक कुरामा पनि सहयोग गर्ने उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन्।
प्रतिक्रिया दिनुहोस !