ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र
जुम्ला : सिँजा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ। सम्झौताअनुसार तोकिएको मिति सकिसक्दासमेत एउटा पिलर मात्रै निर्माण भएको छ । त्यो पनि अधुरै छ । पुल निर्माण गर्न ०६९ सालमा ४ करोड २५ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदारले कामै नगरी सामग्री खरिदको नाममा रकम लिएको पाइएको छ।
‘एउटा मात्र पिलर ठडिएपछि निर्माण छाडेर ठेकेदार नै भागेका छन्’, स्थानीय हंश सार्कीले भने, ‘जनतालाई् अनेक कानुन लगाउने तर करोडौंका संरचना अलपत्र पार्नेलाई अझै कारबाही गर्न सकेका छैनन्।’ स्थानीय बासिन्दाले पुल निर्माणका लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालय र ठेकेदार बर्मजंग शाहीलाई पटक–पटक दबाबसमेत दिएका थिए। अलपत्र यो पुल निर्माणका लागि यहाँका जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि, पुल निर्माणका लागि सरकारी तवरबाट हालसम्म ठेकेदारलाई निर्देशन दिइएको छैन।
पुल निर्माणका लागि ल्याइएका दुई सय बोरा सिमेन्टसमेत प्रयोग नभएर खेर गएको छ। पुलका लागि ल्याइएका छड, गिट्टी, बालुवाको पनि अत्तोपत्तो छैन। पुल निर्माणका लागि सिँचाइ कुलोसमेत भत्काइएपछि न सिँंचाइ कुलो बनाइएको छ, न पुल। पुलकै कारण सिँचाइ कुलो भत्केपछि खेतबारीमा सिँचाइ गर्न समस्या भएको छ। ‘पुल बनाउन सुरु गर्दा सिँचाइ कुलो भत्किएको हो, पुल नबनेपछि कुलो पनि बनाउन सकिएको छैन’, स्थानीय महेश्वर तिरुवाले भने।
प्रतिक्रिया दिनुहोस !