प्रविधिसँगै जोडिदै ठुलीभेरी नगरपालिका
डोल्पा : पहिलो पटक गाउँका ३ हजार नागरिक सञ्चारको पहुँचमा जोडिएका छन्।डोल्पाको साविक माझफाल गाविस हालको ठुलीभेरी नगरपालिका- ५ र- ६का तीन हजार नागरिक पहिलो पटक मोबाइल सेवामा जोडिएका हुन्।
वडा नम्बर ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बिटिएस स्थापना गरी त्यस क्षेत्रका नागरिकलाई नमस्ते मोबाइल सेवा प्रदान गरिएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ।
भौगोलिक रुपमा ठूलो क्षेत्रफलमा फैलिएको डोल्पा जिल्लाका विभिन्न गाउँबस्ती सञ्चारसँग जोडिने क्रम जारी छ। एक वर्ष पहिलादेखि नै कामको थालनी गरिएको उक्त बिटिएसको काम सोमबारबाटै सूचारु भएको प्राविधिक राजकुमार गजुरेलले जानकारी दिए।
हुवावे कम्पनीले जिम्मा पाएको बिटिएसको काम सोमबार सम्पन्न गरी ३ हजार नागरिक सञ्चारको पहुँचमा पुर्याउने सपना पूरा गरिएको भन्दै विद्यार्थी नेता योगेन्द्र बुढाले खुसी व्यक्त गरे। उनले भने,' गाउँमा सञ्चारसँग जोडिन पाउँदा त्यति बेलाका सबै दु:ख भुलियो।आज गाउँमै बसेर सहरमा कुरा गर्ने सपना सबैको पूरा भएको छ।' स्थानीय सरकारले समन्वयमा माझफाल ५ र ६ का नागरिलाई सञ्चारमा जोड्न सफल हुँदा निकै खुसी लागेको वडा नम्बर ६ का अध्यक्ष धर्मलाल बुढाले बताए ।
सोमबारबाटै सञ्चालनमा आएको नमस्ते मोबाइल टावर माइक्रोवेभ रेडियो लिंकमा जोडिएको छ। यसबाट फोन र टुजी इन्टरनेटसमेत चलाउन पाउने दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए।
नमस्ते मोबाइलको सेवा सूचारु भएसँगै गाउँमा खुसियाली मनाउन थालिएको स्थानीय राजकुमारी बुढाले जानकारी दिइन्। उनले भनिन्,' युवा पंक्तिमा त खुसी छँदैछ वृद्धा पनि अचम्मित भएका छन्, घरबाटै आफन्तसँग कुरा गर्न पाउँदा।'
नेपाल टेलिकम केन्द्रीय कार्यालयले पहिलो प्राथमिकतामा राखेर माझफालको टावर स्थापना गर्यो। हालसम्म डोल्पा कुल जनसंख्यामध्य झण्डै २६ हजार जनसंख्या मोबाइल सेवाको पहुँचमा जोडिएका छन् भने माथिल्लो डोल्पाको धो बाहेक अन्य सबै क्षेत्र सञ्चारको पहुँचभन्दा बाहिर नै रहेको छ।
प्रतिक्रिया दिनुहोस !