कहाँ छिपेको हुन्छ सुख, शान्ति ?
एउटा पुरानो कहानी छ– एकजना धनी व्यक्ति आफ्नो सुन्दर घोडामा हीरा, जवारतसहित सुख र शान्ति खोज्न निस्के। बाटोमा भेट्नेजतिलाई उनी सोध्थे– सुख कसरी मिल्छ ? कसैले मलाई बताइदेओस्, मलाई क्षणभर मात्र खुसी मिल्यो भने पनि मसँग भएका हीरा, जवारत दिनेछु। उनी एक गाउँबाट अर्को गाउँ पुगे तर कुनै मानिसले उनलाई खुसी हुने उपाय बताउन सकेनन्।
एकजना व्यक्तिले सुफी फकिर मुल्लानसरुद्दीनलाई भेट्ने सल्लाह दिए। किनकि सबैलाई विश्वास थियो– उनी केही न केही उपाय निकालेर मानिसका समस्या समाधानको तरिका बताउँथे। नदीकिनारमा एउटा ठूलो पीपलको बोटमुनि ध्यान गरेर बसिरहेका, प्रफुल्ल, शान्त मुल्लानसरुद्दीनसँग ती धनी व्यक्तिको भेट भयो। राजाले त्यही प्रश्न राखे– यो सबै हीरा, जवारत म तपाईंलाई सुम्पिन्छु मलाई खुसी हुने र शान्त रहने उपाय बताइदिनुपर्यो। नसरुद्दीनले भने– तिमी ठीक ठाउँमा आइपुग्यौ। केही क्षण आँखा बन्द गर।
जब ती व्यक्ति आँखा बन्द गरेर चुपचाप बसिरहेका थिए, नसरुद्दीनले हीरा, जवारतको पोको समाते र घोडाको लगाम हातमा लिए र घोडा चढेर दौडे। घोडा कुदेको आवाज सुनेर व्यक्तिले आँखा खोले, नसरुद्दीन उनको हीरा, जवारतको पोको र घोडा लिएर भाग्दै थिए। राजा चिच्याउँदै घोडाको पछिपछि दौडिन थाले।
कुदेको घोडा भेट्टाउन कहाँ सजिलो थियो र ! उनी कराउन थाले– म त सुख र शान्तिको खोजीमा सन्तकहाँ आइपुगें भनेको त लुटेराकहाँ पो पुगेछु ! ल न गाउँले हो, मलाई मद्दत गर्नुस्, त्यो लुटेरा पक्रेर मेरो घोडा र जवारत मिलाइदिनुस्। नयाँ मान्छे छ, के कुरा गरिरहेको पनि गाउँलेले बुझेनन्। बस्, उनी कुदिरहेको र चिच्याइरहेको आवाज मात्र सुने, हेरे तर गाउँलेले केही गरेनन्।
उनलाई लाग्यो, यो गाउँका सबै मान्छे लुटेरा रहेछन्, कसैले मद्दत गरेनन्। उनी दौडि नै रहे, थकित र पसिनैपसिना हुँदै। निकैपर घोडा देखे, आखिर त्यो घोडा जहाँबाट छुटेको त्यतै जाँदै थियो। उनले पछ्याइरहे। अन्त्यमा त्यही रुखमुनि पुगे। नसरुद्दीन घोडा बाँधेर, हीरा, जवाहरतको पोको छेउमै राखेर शान्त मुद्रामा आँखा चिम्लेर बसिसकेका थिए। १०–१५ मिनेटपछि ती व्यक्ति पनि त्यहीं आइपुगे। आफ्नो हीरा, जवाहरतको पोको छातीमा टाँसे, आफ्नो घोडातर्फ नजर लगाए र आकाशतर्फ हेर्दै भने– हे भगवान्, मेरो समान सकुशल मलाई मिल्यो तिमीलाई धेरैधेरै धन्यवाद !
नसरुद्दीन छेउमा पुगे र सोधे– केही शान्ति, केही सुख मिल्यो तिमीलाई ? ती व्यक्तिले भने– हो, मलाई अहिले केही सुख र शान्ति पनि मिल्यो। नसरुद्दीनले भने– धेरै उपाय बताउन सक्छु म तिमीलाई सुखी र शान्ति रहने तर अहिलेलाई यो झलक नै काफी छ। मैले कुनै नयाँ चीज तिमीलाई दिएको थिइनँ। तिमीसँगै भएका चिजमा तिम्रो सुख, शान्ति, प्रेम र आनन्द छिपेको छ। तिमीभित्र रहेका खजानाको पहिचान गर।
यो बोध कथा ती व्यक्तिका लागि मात्र नभएर सबैका लागि आफूभित्र रहेको हीरा, जवारतरूपी खजाना पहिचान गर्ने सूत्र छिपेको छ।
ध्यानीसँग अरूलाई हेप्ने प्रवृत्ति हुँदैन। आफू मात्र राम्रो भन्ने अहंकार हुँदैन। बरु अरूलाई पनि स्वस्थ भएर जिउने कला हुन्छ। प्रेरणादायी बोली हुन्छ।
मानिसले जति प्रगति गरेको भए पनि सुख, शान्ति र पूर्णता नमिलेको अनुभूति गरिरहेकै हुन्छ। त्यो सुख बाहिरी धन, पद र सम्मानमा त छँदै छैन, जुन कुरा बोध कथाले प्रस्ट पारेको छ। धन छ त केवल धन छ त्योसँगै खुसी, प्रेम, शान्ति मिलोस् यो जरुरी छैन। कुनै पनि बाहिरी सम्पदा र विशेषताले आन्तरिक सुख, शान्ति र प्रेमको अनुभूति दिन सक्दैन। त्यसो हो भने के हुन् त ती आन्तरिक सम्पदा जान्ने प्रयास गरौं। जागरुकता ः जीवनमा खुसी हुने महत्वपूर्ण कलामध्ये एक हो जागरुकता। एक द्रष्टा झैं आफैंले आफैंलाई हेर्ने एक मूल मन्त्र हो
जागरुकता। आफूले गरिने कर्महरू जस्तै– हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, श्वास लिँदा, छोड्दासमेत सबै काममा भित्रबाट आफैं द्रष्टा भएर हेर्ने कला जागरुकता हो। आफ्ना शरीरका क्रियाकलापप्रति होसपूर्ण हुनु, आफ्नो आउँदै–जाँदै गरेको श्वासप्रति होसपूर्ण हुनु, स्वाद, गन्ध, ध्वनि, दृश्य र स्पर्शप्रति होसपूर्ण रहनु सबै जागृत अवस्थाका लक्षण हुन्।
आफूले व्यक्त गर्ने र अरूबाट प्राप्त गर्ने हार्दिक अनुभूति जस्तै– प्रीति, स्नेह, श्रद्धाजस्ता संवेदनाप्रति होसपूर्ण हुनु पनि जागृत अवस्था हो। दिव्य नाद, अकारण खुसी या दुःखी, शान्ति या अशान्ति सबै विचारप्रति होसपूर्ण हुनु पनि जागृत व्यक्तिका गुण हुन्। जागृत व्यक्ति कहिल्यै दुःखी बन्नुपर्दैन। ऊ सधैं प्रेमभाव र समभावमा जिइरहेको हुन्छ। कसरी, के, किन, कसका लागि गरिरहेछु र यसले आफू या अरूलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक त्यो जान्न सक्नु जागृति हो।
जागृतिको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो त्यसको मात्र चाहना हुन्छ। जति पनि आध्यात्मिक मार्ग छन्, सबैले देखाउन खोजेको मार्ग हो– भित्रको द्रष्टा भावलाई जगाउनु। मार्ग जुनसुकै होऊन्, मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वारा ध्यान, सत्संग, कथा, कीर्तन, भजनजस्ता कर्म हुन् या योग, तप, साधना, नोकरी, पदोन्नति, सम्मान सबैको अन्तिम लक्ष्य नै जागरणपूर्ण रहनु हो। सबै कर्म गरेर पनि जागृति पैदा भएन भने ती सबै व्यर्थ हुनेछन्।
कुनै प्रयासविना जागृति फलित हुन्छ भने त्यो महत्वपूर्ण उपलब्धि हो। जागृतिभित्रको जागरणको कला हो। प्रयासले यो प्राप्त हुँदैन। द्रष्टा भाव, प्राकृतिक स्वभाव र सहजताको परिणाम हो जागरण। हरेक विचार, भाव र कर्मलाई द्रष्टा भएर हेर्ने कला जागृति हो। जागृतिले आत्मविश्वास बढाउँछ र सुख, शान्ति र प्रेमपूर्ण जीवन जिउने कला प्राप्त हुन्छ। व्यक्ति दुःखबाट मुक्त हुन्छ।
प्रफुल्लता ः मानिस किन सुखी छैन, किन शान्त छैन ? किनकि ऊ प्रफुल्ल र प्रसन्न छैन। आफूसँग छैन र अरूसँग पनि छैन। दुःख मानिसको स्वभाव होइन, उसको स्वभाव त प्रफुल्लता हो, प्रसन्नता हो। आफ्ना हरेक कर्ममा, सम्बन्धमा, जिम्मेवारीमा, दायित्व बहन गर्ने क्रममा प्रफुल्ल भएर गर्ने व्यक्ति कसरी दुःखी हुन्छ ? जसको मन सफा छैन, जो सकारात्मक छैन, जसको भित्र अनावश्यक विचारका संग्रह छन्, त्यही व्यक्ति मात्र प्रफुल्ल रहन सक्दैन अन्यथा मानिसलाई प्रफुल्लताको गुण दिएको छ अस्तित्वले। जसमा लोभ, मोह, कामना, ईष्र्या, मै खाऊँ, मै लाऊँ भन्ने स्वभावको छ। ऊ प्रफुल्ल रहन पनि त सक्दैन।
अहिले राष्ट्रका उच्च ओहोदामा रहेका व्यक्ति र तिनका प्रवृत्ति हेरौं त ! कसैले प्रफुल्ल र प्रसन्न भएर आफ्नो जीवन बाँच्ने कला सिकेको पाइँदैन। अरूकै सम्पत्ति दोहोन गर्ने, अरूलाई झुक्याउने, भ्रष्टाचार गर्ने, चतुर बन्न खोज्ने, व्यक्ति प्रफुल्ल र सुखी हुन सक्छ ? ऊ मात्र होइन उसका सन्तान, दरसन्तानले समेत यो कर्मको फल भोग्न बाध्य हुनुपर्छ। यो अस्तित्वकै नियम हो जसरी राम्रो कर्मको फल सन्तान दरसन्तानले खान्छन्। नकारात्मक कर्मको फल पनि त्यही नै हो। प्रफुल्ल र प्रसन्न रहन कुनै प्रयासको जरुरत छैन मात्र नकारात्मक प्रवृत्ति, नकारात्मक सोच, असफलता, अस्थिरता, दुःख र बेचैनी निर्मूल पार्ने विचार र सकारात्मक चित्रण सकारात्मक जरुरी छ। निरहंकारीता ः मैले गरेको ठीक छ, मैले चाहेअनुसार गराएरै छाड्छु, यो सब मैले गरेर भएको हो। अरूभन्दा धन, पद, सम्मान सबैमा अगाडि उछिनेरै जान्छु भन्ने स्वभाव अहंकार हो। यसले व्यक्तिलाई सुख, शान्ति र प्रेममा रहनै दिँदैन।
अहंकाररहित हुनु मानिसको स्वभाव हो। कल्पना गरौं– हाम्रो मृत्यु भयो। शरीरले यस संसारबाट बिदा लिँदै छ। बिदाइका लागि हाम्रा आफन्त हाम्रो आँगनमा जम्मा भएका छन्। सबै शोकाकूल छन् र समवेदना प्रकट गर्दैछन्। जम्मा भएका व्यक्तिमध्ये परिवारजन, कार्यालयमा सँगै काम गर्ने कर्मचारी मित्र, ध्यान साधना सँगै गर्ने साधक मित्र आदि विभिन्न क्षेत्रका छन्। हाम्रो शरीर त छुट्यो यस संसारबाट, अब यस क्षणमा हामी अरूका मुखबाट के सुन्न चाहन्छौं ? परिवारबाट (अवश्य पनि सहयोगी, प्रेमल, सधैं मीठो बोल्ने, नरिसाउने, आपत् पर्दा सहयोग गर्ने, आफूलाई मेटाएर पनि दिन तयार, प्रतिकूल परिस्थितिमा पनि धैर्य राख्ने, कसैका बारेमा नराम्रो कुरा नगर्ने आदि सुन्न चाहन्छौं होला।
कार्यालयका साथीको मुखबाट सधैं काममा सक्रिय, आफूभन्दा तलका कर्मचारीलाई पनि मित्रवत् व्यवहार गर्ने, घमण्ड गरेको कहिल्यै देखिएन। सबैलाई सामान व्यवहार गर्ने, जस्तोसुकै अप्ठेरो काम पनि सहज तरिकाले सुल्टाउने, लोभ नगर्ने, कहिल्यै घुस खाएनन्। सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्थे आदि सुन्न चाहन्छौं होला। ध्यान केन्द्र, धार्मिक संस्थाका मित्रहरूका मुखबाट शील, शिष्टता, बोलीवचन र व्यवहार देख्दा ध्यानको गहिराइमा पुगेको अनुभूति हुन्थ्यो। आफूले गरेका सहयोग र काममा पनि कर्ता भाव प्रस्तुत गरेनन्। आफू ध्यानी भए पनि अरूलाई हेप्ने प्रवृत्ति थिएन। आफू मात्र राम्रो भन्ने अहंकार थिएन। बरु सबैलाई स्वस्थ र मस्त भएर जीवन जिउने कला सिकाउँथे। उनका वचन र व्यवहार प्रेरणादायी थिए।
यस्तै सुन्न चाहन्छौं भने जीवन छँदै त्यहीअनुसारको कर्म, आचारण, बोलीवचन, शिष्टता र व्यवहारमा ख्याल पुर्याउनु आवश्यक छ। हामी कसैलाई पनि कठोर थिए, असहयोगी थिए, बोलीवचन रुखो थियो, धेरैपटक दुःख दिए, मेरो काम बिगारिदिएका थिए। आखिर शरीर छोडेरै जानु रहेछ धेरैलाई दुःख दिए भन्ने सुन्न चाहन्नौं। त्यसैले जीवनमा सुख, शान्ति, समृद्धि, वैभव, प्रेम प्राप्त गर्न आफ्नो आन्तरिक खजाना पहिचान नगरी सुखै छैन।
प्रतिक्रिया दिनुहोस !