मार्सल आर्ट्सका मियो
सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’का स्वर्ण पदक विजेता हुन्, तुलसी।
दुई दशकअघिको कुरा। तेक्वान्दो ओलम्पियन दीपक विष्ट अन्तर्राष्ट्रिय खेल खेल्न अमेरिका पुगेका थिए। सात समुद्रपारिको त्यस प्रतियोगितामा एक नेपालीलाई रेफ्रीका रूपमा पाउँदा उनी आश्चर्यचकित मात्र भएनन्, गर्वले ढक्क छाती फुलेको सगौरव सुनाउँछन्।
दीपकले भेटेका व्यक्ति उनै हुन्, जो गत वर्षसम्म हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक थिए। उनी हुन्, तुलसीकुमार गुरुङ (५८)।
कास्कीको बारचोक गाउँमा जन्मिएका उनलाई मार्सल आर्टका लागि विश्वविख्यात ब्रुस ली, ज्याकी च्यान र जेट ली जस्ता पात्रले हालीमुहाली जमाएको चिनियाँ भूमिमा पुगेर यो सफलता हासिल गर्नु पक्कै सहज थिएन। यसका लागि उनले जीवनका अनेकौं कठिन उकालीओलारी पार गर्नु परेको छ।
खेलकुदमा उनले प्राप्त गरेको उपलब्धि धेरै कमलाई मात्र मिलेको छ। सन् १९७८ मा ब्रिटिस आर्मीमा आबद्ध भएपछि उनी मार्सल आर्टस् खेलप्रति आकर्षित भए। तर त्यसअघि समेत उनलाई खेलप्रतिको लगाव उस्तै रहेछ। गाउँमा रहँदा छेलो हान्ने प्रतिस्पर्धामा सधैं उत्कृष्ट हुने गरेका उनी पौडी, बक्सिङ हुँदै मार्सल आर्टस्मा जम्न पुगे। तेक्वान्दोका आठौं डान तुलसी सम्भवतः एकमात्र नेपाली हुन्।
सन् १९८४ मा आयोजित दक्षिण एसियाली खेलकुद (साफ)को पहिलो संस्करणमा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी पनि हुन्, तुलसी। त्यसमा उनले पौडीको पुरुष १०० मिटर रिलेतर्फ कांस्य जितेका थिए। अमृत चित्रकार, जयप्रसाद गुरुङ र राजमान तुलाधार टोलीका अन्य खेलाडी थिए।
त्यसअघि २०३८ मा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय खेलकुदमा समेत सहभागिता जनाएका यिनले पौडीबाटै दुई स्वर्ण र एक रजत पदक जिते। यीमध्ये एक रिले र दुई एकल प्रतिस्पर्धा थिए। २०४० को दोस्रो संस्करणमा भने यिनी मार्सल आर्टस्मा स्वर्णसहित उत्कृष्ट फाइटर बने। तुलसीले त्यति बेला करातेका चर्चित खेलाडी मोहन राईलाई नकआउट ढालेका थिए। राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहको विशेष जोडमा मार्सल आर्टस्लाई पहिलोपटक राष्ट्रिय खेलकुदमा समावेश गरिएको उनी सुनाउँछन्। त्यति बेला नेपालमा मार्सल आर्टस् निकै चर्चित थियो। कराते ठूलो कि तेक्वान्दो ? भन्ने बहस नै चल्थ्यो। सचिव शाहकै पहलमा तेक्वान्दो र कराते दुवैलाई जोडी मार्सल आर्टस् गेम खेलाइएको उनी बताउँछन्।
ब्रिटिस गोर्खा सैनिकमा यिनले १८ वर्ष बिताए। सेनामा फिजिकल ट्रेनर (वारन्ट अफिसर) पद हासिल गर्ने आफू पहिलो नेपाली भएको गुरुङको दाबी छ। बक्सिङ र मार्सल आर्टस्मा रुचि राख्ने यिनले सेनामा भर्ती भएको वर्ष दिनभित्रै तेक्वान्दो खेल रोजेका थिए। त्यसको एक वर्षमै ब्ल्याक बेल्ट पाएका यिनलाई खेलकुदप्रतिको लगावकै कारण विशेष तालिमपश्चात् सेनाको फिजिकल ट्रेनर बनाइएको थियो।
बु्रस लीलाई प्रत्यक्ष देख्ने–भेट्ने अवसर नमिले पनि तुलसी उनको मार्सल आर्ट कलाबाट निकै प्रभावित रहेछन्। आफूलाई मार्सल आर्टस्तर्फ डोर्याउने श्रेय पनि उनै ब्रुस लीलाई दिन्छन्। सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’का स्वर्ण पदक विजेता हुन् तुलसी। सन् १९८३ मा यिनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’मा समेत सहभागिता जनाएका थिए। ब्रिटिस सैनिक खेलाडीहरूबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि यिनलाई हङकङ ओपनमा भिड्ने अवसर जुरेको थियो।
यस्तै अनेक सफलताले यिनलाई विश्व तेक्वान्दो महासंघका अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक र रेफ्री हुँदै हङकङ राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षकसम्म पुर्यायो। आफ्नो सफलतालाई यिनी मेहनत र लगनशीलताको कमाल भन्छन्। आफूले कामपछिको परिणामलाई भन्दा सधैं कामलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाइ छ।
सेनाबाट अवकाश लिइसकेपछि पनि यिनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे। सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज् तेक्वान्दो एसोसिएसन’ दर्ता गरेका थिए। त्यसयता यिनको प्रशिक्षकत्वमा दुई हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन्। एकताका दक्षिण एसियामा मार्सल आर्टस् भनेपछि नेपालको छुट्टै सान थियो। तर त्यसलाई निरन्तरता दिन नसक्दा अरू देश हामीभन्दा धेरै अघि बढिसकेकामा उनी थोरै दुःखी छन्। नेपाली खेलकुद सिस्टममा चल्न नसक्दा पछि परेको उनको ठम्याइ छ। नेपाली खेलाडी शारीरिक रूपमा बलिया र प्रतिभाशाली रहेको उनको ठम्याइ छ। राम्रो वातावरण र प्रशिक्षण पाउने हो भने नेपाली खेलकुदको भविष्य उज्ज्वल देख्छन् उनी। खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउन भूमिका खेल्ने राम्ररी बुझेका उनी अहिले पनि नछुटाई व्यायाम गर्ने गरेको सुनाउँछन्।
खेलकुदमा यिनको लगाव धेरै पुरानो हो। स्कुले जीवनमा यिनको झुकाव बक्सिङतर्फ बढ्यो। त्यति बेला पोखराको अमरसिंह स्कुलका यिनी निकै राम्रा बक्सर थिए। कुनै बेला पोखरा महेन्द्रचोकको बीच सडकमै यिनी जिम्न्यास्टिक गर्थे। मान्छेहरू वरिपरि भेला भएर उनको ‘चटक’ हेर्थे रे। कुनै विदेशीले पिटी सुज लगाएको देखे उनलाई ब्रुस लीको झल्को आउथ्यो। अनि सीधै च्यालेन्ज गर्थे, ‘डु यु वान्ट्स टु फाइट ? ’
लामो समय खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगत्मा देशको नाम चम्काएका उनी भूकम्पपछि ‘वी विल राइज फाउन्डेसन’ नामक संस्थामार्फत सामाजिक कार्यमा समेत सक्रिय छन्। उनी यस संस्थाका संस्थापक हुन्। उबेला सिन्धुपाल्चोकमा अस्थायी एकीकृत बस्तीसमेत निर्माण गरेका उनी सम्मिलित फाउन्डेसनले सोही गाउँमा ईश्वरीमाला प्राथमिक विद्यालयको निर्माण गरी हस्तान्तरण गरिसकेको छ। हङकङ र बेलायतमा हाइक फर नेपाल कार्यक्रममार्फत नियमित नेपालको पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको संस्थाले पछिल्लो समय ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक राष्ट्रव्यापी भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !