नियन्त्रणमा आउँदै फ्लु

नियन्त्रणमा आउँदै फ्लु

सुर्खेत : हुम्लाको ताजाकोटमा फैलिएको मौसमी फ्लु नियन्त्रणमा आउन थालेको छ। फ्लुबाट तीन सातामा १० जनाको ज्यान गएको थियो। फ्लुप्रभावित गाउँमा आइतबार डाक्टर पुगेका थिए। उनीहरूले शिविर सञ्चालन गरी उपचार थालेका छन्।

स्थानीय बासिन्दा भने डाक्टर नपुग्दासम्म धामीझाँक्रीकै भरमा परेका थिए। धामीको भर पर्दा र स्वास्थ्य चौकीमा सामान्य उपचार मात्र गराउँदा नौ जनाको ज्यान गएको स्थानीय तारा खत्रीले बताए। ‘अस्पतालमा नाम लेखाएर सिटामोलबाहेक अरू केही पाइँदैन’, उनले भने, ‘त्यसपछि हामी सबै धामीझाँक्रीकहाँ पुग्यौं। प्रकोप बढेपछि मात्रै गाउँपालिकालाई जानकारी गराएका थियौं।’

मौसमी फ्लुको संक्रमण फैलिएपछि हरेक दिन गाउँमा धामी बसाउने र हेराउने काम भएको उनको भनाइ छ। ‘सुर्खेतबाट डाक्टर नआउँदासम्म हामीले प्रत्येक राति घरमा धमेलो (धामी) बसालेर हेराउने काम ग¥यौं’, उनले भने, ‘दैनिक धामी बसाल्दा चामल चढाउनुपर्छ। न हाम्रो चामल बच्यो न त बिरामीलाई बचाउन सकियो।’ सुविधासम्पन्न अस्पताल नहुनु र सदरमुकामसम्म पहुँच नभएपछि धामी बसाउनुको विकल्प नभएको उनको भनाइ छ।

डाक्टरका अनुसार आइतबार राति थप एक जनाको मृत्यु भएको छ। पहिल्यै गम्भीर अवस्थामा पुगेका बिरामीको ज्यान गए पनि अब त्यस्ता बिरामी नरहेको उनीहरू बताउँछन्। सोमबार शिविरमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो र झाडापखालाको संक्रमण देखिएको डा. केएन पौडेलले बताए। ‘हामीले स्वाइन फ्लु हो कि भन्ने आशंका गरेका छौं’, उनले भने, ‘हेलिकप्टर नआएकाले परीक्षणका लागि नमुना पठाउन सकेका छैनौं।’ शंकास्पद व्यक्तिको खकार संकलन गरी परीक्षणका लागि मंगलबार सुर्खेत पठाएपछि मात्रै कुन रोगको संक्रमण हो भन्ने यकिन हुने उनले बताए।

उनका अनुसार एकै ठाउँमा बोलाएर उपचार गर्न नसक्ने भएपछि तीन टोली बनाएर उपचार सुरु गरिएको छ। उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र मुगुबाट गएका डाक्टरसहित स्वाथ्यकर्मी त्यता गएका छन्। भैसामाझस्थित सामुदायिक स्वास्थ्य इकाइमा डा. पौडेल, गोठेलबाडामा डा. टेकराज भट्टराईको टोलीले शिविर सञ्चालन गरेको स्वास्थ्य चौकी ताजाकोटका अहेव मोतीलाल जैसीले बताए। यस्तै, वडा नम्बर २ को महिला स्वास्थ्य चौकीमै बिरामीको परीक्षण गरिएको छ।

उनका अनुसार बिरामी मात्र नभई अन्य स्थानीय पनि शिविरमा आइरहेका छन्। बिहान ८ बजे सुरु शिविरमा साँझ ७ सम्म गाउँलेको भीड लागेको छ। ‘स्वास्थ्य संस्थामा भनेजस्तो औषधि पाइँदैन’, उनले भने, ‘सदरमुकाम जान तीन दिन लाग्छ। पहिलो पटक गाउँमा विशेषज्ञ डाक्टर देखेपछि सबै मानिस उपचारका लागि आएका छन्।’

ताजाकोटका नागरिक उपचारका लागि सदरमुकाम जानुपरे ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। ठूलो रोग लागे लाखौं खर्च गरेर सुर्खेत तथा नेपालगन्जको विकल्प नभएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए।

पटक–पटक झाडापखाला प्रकोप

ताजाकोटमा एकै पटक यति धेरैको ज्यान गएको यो पहिलो घटना होइन। विभिन्न प्रकोपका कारण दर्जनौंले ज्यान गुमाएका छन्। स्थानीय नरजित खड्काका अनुसार गाउँमा पटक–पटक झाडापखालाले सताएको छ। २०४८ सालमा झाडापखालाले एक महिनामा २७ जनाको मृत्यु भएको उनले सुनाए। ‘जडीबुटी प्रयोग गर्नुको विकल्प थिएन’, उनले भने, ‘बिरामी नपरेका स्थानीय पनि मर्ने डरले गाउँ छाडेर भाग्नुपरेको थियो।’ यस्तै, २०६४ मा पुनः झाडापखाला फैलिएपछि सातामै सात जनाको ज्यान गयो। हेलिकप्टरमार्फत डाक्टर र औषधि ल्याएपछि मात्र रोग नियन्त्रणमा आएको थियो। ‘सुरुमा रोग लाग्दा सामान्य मान्छौं तर ठूलो रूप लिएपछि चिकित्सक आउने बेलासम्म धेरैको मृत्यु भइसकेको हुन्छ’, उनले भने, ‘गाउँमा राम्रो औषधि पाइँदैन। सदरमुकाम आउन तीन दिन लाग्छ। उपचार नपाएर हामी दुर्गमका मानिसले ज्यान गुमाउनुपर्छ।’

गाउँमा खोनपानीको अभाव छ। अधिकांश गाउँमा एक/एकवटा मात्र खानेपानीका धारा छन्। अधिकांशले खोलाको पानीले प्यास मेटाउने गरेको उनको भनाइ छ। दूषित पानीले झाडापखाला संक्रमण देखिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.