प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रतिवेदन सरकारलाई
जनकपुरधाम : प्रदेश २ को नामकरण र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित आयोगले मुख्यमन्त्रीलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरे।
‘प्रदेशका ८ वटै जिल्लाको सदरमुकाममा आयोगले सार्वजनिक छलफल कार्यक्रमको आयोजना गरि प्रदेशको नाम र राजधानी कहाँ राख्दा उपयुक्त हुने भनि सुझाव सल्लाह लिएको छ,’ डा. झाले भने, ‘जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघसंगठन र सर्वसाधारणको राय संकलन गरी हामीले प्रतिवेदन तयार गरेका छौं।’ प्रतिवेदनमा समावेश गरिएका सुझाव र तथ्य भने सार्वजनिक गरिएको छैन।
आयोगले जनभावना अनुरुप तयार गरेको प्रतिवेदनलाई अध्ययन गरी प्रतिवेदन सहितको प्रस्ताव चाँडै नै प्रदेशसभामा सरकारले लग्ने मुख्यमन्त्री राउतले बताए।
‘हामीले प्रस्ताव सदनमा लगेपछि विशेष समितिमा छलफल भई दुई तिहाईले पारित भएर नाम र राजधानीको टुंगो लाग्ने छ।’
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधीवक्ता दीपेन्द्र झा र सुझाव संकलन आयोगका सदस्यहरूको उपस्थिति रहेको थियो।