अनाथका नाथ

अनाथका नाथ

 

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लीलाधर भण्डारी (५०)ले पितृवात्सल्यको अनुभव गर्न पाएनन्। बाबुको अनुहार त के तस्बिरसम्म पनि हेर्न पाएनन्। उनी दुई वर्षको हुँदा बुवालाई ‘दोख’ले लगेछ। त्यस बेला उक्त विकट गाउँमा रोगको नाम पनि धामीझाँक्रीले नै जुराउँथे। डाक्टर र अस्पतालमा उपचारको कल्पनासम्म पनि थिएन। अचेल आमाले बुवालाई लागेको व्यथाको लक्षण बताउँदा निमोनिया अनुमान आउन सकिने भण्डारी बताउँछन्।
       

श्रीमान्को निधनपछि पनि उनकी आमाले हिम्मत हारिनन्। आम्दानीको स्रोत केही नभए पनि जेनतेन छोरालाई विद्यालय भर्ना गरिन्। लेकाली बारीमा फलेको मकै र कोदोले ६ महिना पनि खान पुग्दैनथ्यो। दुःख गरेर विद्यालयमा तिर्ने शुल्क जुटाइन्। यसरी ३ कक्षासम्मको पढाइ पूरा भयो।

कक्षा ४ मा भर्ना हुन डेढ घण्टा टाढाको विद्यालय जानुपथ्र्यो। त्यसमाथि आर्थिक समस्या पनि। ५० रुपैयाँ ऋणसमेत कसैले नपत्याएपछि लीलाधरको पढाइ बीचमै रोकियो। उनका हजुरबा र काका पनि पढाइले खर्च मात्र बढ्ने र गरिबलाई पढाइ आवश्यक नहुने निष्कर्षमा पुगे।

विदेशी छात्रवृत्तिले कायापलट

भण्डारी विद्यालय जान छाडेको करिब ६ महिना भएको थियो। साथीहरू विद्यालय जाँदा उनी बाख्रा चराउन जान्थे। एक मात्र सन्तान छोरालाई पढाउन नसकेकामा आमा पनि पिरोलिइन्। एक दिन बिहान अँध्यारै प्रधानाध्यापक विन्द्रप्रसाद ढकाल उनीहरूका घरमा आइपुगे।

लीला ओछ्यानमै थिए। ढकाल सरले लीलाकी आमालाई विद्यालयमा विदेशी संस्थाबाट छात्रवृत्ति आएको र त्यो लीलालाई दिने निर्णय भइसकेको खबर सुनाए। उनले त्यसै दिनबाट छोरालाई विद्यालय पठाउन पनि सुझाए।

तत्कालीन प्रधानपञ्च पूर्णचन्द्र पौडेल, अर्का विद्यालयका प्रधानाध्यापक चेतनाथ पौडेलले पनि उक्त कार्यमा सहयोग गरे। छात्रवृत्तिबापतको रकम आउन्जेल स्थानीय अर्जुनबहादुर थापाले भर्नाबापतको रकम सहयोग गरे। यसरी भण्डारीको विद्यालय यात्रा पुनः सुरु भयो।

‘त्यति बेला सेभ द चिल्ड्रेन यूकेले विकट गाउँका विद्यालयमा एक जना विद्यार्थीलाई छात्रवृत्ति दिँदो रहेछ। त्यो एक सय २५ रुपियाँले मेरो पढाइ खर्च पु¥याएर घरमा नुनतेल पनि जुटाउँथ्यो’, उनले सुनाए।

भण्डारीले हालको शारदा मावि बाह्रबिसेबाट २०४३ सालमा द्वितीय श्रेणीमा एसएलसी गरे। काठमाडौं आएर पाटन क्याम्पसमा पढ्न थाले। आईए पढुन्जेल आउने उनको छात्रवृत्ति बढेर सात सय रुपैयाँ भइसकेको थियो। ‘विदेशी छात्रवृत्तिले मेरो जीवन कायापलट भयो। त्यस बेला म एकान्तकुनामा ५० रुपियाँ भाडा तिरेर बस्थेँ’, उनले भने।

लीलाधरलाई एसएलसी दिँदासम्ममा ‘जुन दिन कमाउन सक्ने हुन्छु, त्यसै दिनदेखि आफूजस्तै अनाथ बालबालिकालाई सहयोग गर्न थाल्छु’ भन्ने भावना पलाएको थियो। यसैबीच उनले होटल व्यवस्थापन तथा तालिम केन्द्रबाट तालिम लिए। यही अवधिमा उनले मल्ल होटलमा अभ्यास गर्ने मौका पाए।

उनी बिहान कलेज जान्थे, दिउँसो तालिममा सहभागी हुन्थे अनि राति ट्राभल एजेन्सीमा काम गर्थे। ‘त्यसै बेला मैले जर्मनी जाने मौका पाएँ। तीन वर्ष त्यहाँ बसेर तालिम गरेँ। केही कमाएँ पनि। तर मलाई चिसो फापेन। उताबाट फर्किएपछि पर्यटन व्यवसायमा लागेँ’, उनी सुनाउँछन्। जर्मन भाषा खरर्र बोल्ने भएकाले धेरै विदेशीसँग नजिकिन सहज भयो। अनाथ बालबालिकालाई सहयोग गर्ने मेरो इच्छा बताउन पनि सजिलो भयो’, उनले भने।

सामाजिक सेवामा फड्को

उनी डेरा गरी बसेको घर नजिकैको एउटा घरमा काम गर्न राखेकी अनाथ बालिकाले आत्महत्याको प्रयास गरिछन्। लीलाधरकी श्रीमतीले उद्धार गरेर कोठामा ल्याइछन्। उनले ‘अब यसलाई हामी नै पढाऔं’ भन्दै मलाई खबर गरिन्। ‘म एउटा जर्मनी टोली घुमाउँदै थिएँ’, उनले विगत सम्झिए, ‘यो सुन्ने बित्तिकै मैले साथै भएका विदेशीलाई सुनाएँ। तत्कालै एक जनाले सहयोगको हात उठाइहालिन्।

मेरो इच्छा सहयोगको थियो। व्यक्तिगत खातामा पैसा जम्मा गर्न मन भएन।’ उनले ‘असहाय तथा अनाथ बालबालिका संरक्षण फाउन्डेसन नेपाल’ नामक संस्था दर्ता गरे। यो सन् २००२ को कुरा हो। यसरी पहिलो पटक सहयोग गरिएकी नीरा थापामगर हाल स्पेनको ग्रिनकार्ड पाएर उतै ब्युटी पार्लर व्यवसायमा रहेको उनी सुनाउँछन्।

विस्तारै उनको संस्थाले गति लियो। सामाजिक र प्रशासनिक दबाबमा अनाथ भनिएका बालबालिकाको संख्या एक सय ३० पुग्यो। यसरी आउने दबाबबाट जम्मा हुने बालबालिका र आफ्नो उद्देश्य मेल नखाएपछि उनले ५० जना बालबालिका बाबुआमाको जिम्मा लगाए। कतिपयको विद्यालय शुल्क तिरिदिएर खानेबस्ने व्यवस्था गर्न उनीहरूका बुवाआमालाई नै सहयोग मागे।

पर्यटकहरूसँगै सहयोग मागेर संस्था चलाइरेका उनी बताउँछन्। संस्थामा हाल २० जना बालिका र बाँकी बालक छन्। त्यसमा पाँच जना क्याम्पस जान्छन् भने अन्य सहिद धर्मभक्त स्कुलमा पढ्छन्। भण्डारीले आफ्ना नानीहरूलाई पनि सोही विद्यालयमा पढाए। उनको संस्थामा बसेर पढेका विद्यार्थीमध्ये तीन जना इन्जिनियर, एक जना डाक्टर, चार जना स्टाफ नर्स छन्। केही बैंकमा काम गर्छन्।

एक जना वकिल छन्। कोही पनि बेरोजगार नरहेको उनी बताउँछन्। ‘हिजोआज कतिपय भाइबहिनी मेरो तलब आयो, संस्थालाई सहयोग गर्छु भन्दै सुनाउँछन्। उनीहरूलाई सहयोग नचाहिने र आफ्नो खुट्टामा उभिने बन्न सुझाउँछु। उनी केही किनेर भाइबहिनीलाई खुवाउँछन्। सँगै बसेर खेलेर जान्छन्’, उनले भने।

यसै क्रममा उनले सडक बालबालिका पुनस्र्थापनाका लागि लामो अध्ययन गरेर ‘प्रोजेक्ट पाइलटिङ’समेत गरे। उनको योजनामा सरकार पनि सहमत भयो। तर अरू सरकारी, गैरसरकारी संस्थाको अवरोधले काठमाडौंमा योजना अघि बढाउन सम्भव भएन। सानो ठाउँमा काम गर्न सहज होला भन्ने हेतुले उनी हेटौंडा पुगे साथीहरूसँग। सडक बालबालिकालाई उठाएर विद्यालय पु¥याउन थाले।

त्यसैबीच सडक बालबालिकाको स्वतन्त्रतामाथि हनन भयो भनेर उनीविरुद्ध मुद्दा प¥यो। त्यसपछि बालबालिकाका मन्त्रालयका सचिवसमेतको टोली स्थलगत अध्ययनका लागि हेटौंडा पुग्यो। ‘मेरा स्थानीय सहयोगी पनि अन्तर्राष्ट्रिय संस्थाबाट किनिए। मविरुद्ध हातपात भयो। अपहरण प्रयास पनि गरियो। त्यसपछि स्थानीय संस्थालाई काम जिम्मा लगाएर म काठमाडौं फर्किएँ’, उनी भन्छन्।

उनले त्यही मोडल काठमाडौंमा लागू गर्न खाजे। त्यसका लागि सबै सहमत भए। तर बिस्तारै यसका पक्षधर कोही कर्मचारी मौन बसे भने कोही सरुवा भए। अहिलेसम्म पनि उक्त मोडल ज्यूँ का त्यूँ रहेको उनको भनाइ छ। ‘यो योजना कार्यान्वयन गर्न सकिएको भए बालमजदुर, मगन्ते बालबालिका, सडक बालबालिकाको संख्यामा उल्लेख्य सुधार हुने थियो। पूरा नियन्त्रण गर्न सकिने थियो’, उनले भने।

अझै पनि स्रोतसाधन र सहयोग पाए पाँच वर्षमा सडक बालबालिका पूर्ण रूपमा पुनःस्थापन गर्न सकिने उनको बुझाइ छ। तालिम केन्द्र खोलेर त्यसलाई आवासीय बनाउने योजना रहेको उनले बताए। ‘असहाय र अनाथ बालबालिकालाई सहयोग र साथ आवश्यक छ। म पनि अर्काको सहयोग नपाएको भए पढ्न पाउने मात्रै होइन अनाथ बालबालिकाका लागि केही गर्न सक्ने बन्ने थिइनँ’, उनले भने, ‘जब म अर्काको सहयोगमा पढ्न थालेँ, बिस्तारै पछि यसरी नै सहयोग गर्ने बन्छु भन्ने भावना विकास भएकाले यहाँसम्म आइपुगेँ।’

गोरखाकी सुस्मिता अधिकारी विगत १५ वर्षदेखि उक्त संस्थामा बसेर पढिरेहकी छन्। उनी त्यहाँ आउँदा पाँच वर्षकी मात्र थिइन्। हाल उनी सीए पढिरहेकी छन्। उनलाई आफ्नी आमाबारे केही थाहा छैन। ‘हामीलाई आमाले सानैमा छाडेर जानुभएछ। बुवाको निधनपछि म यहाँ आएकी हुँ। मलाई पढाउने स्पेनिस दाता हुनुहुन्छ। यहाँ आउन पाएकोमा धेरै खुसी लागेको छ। मेरा बुवाआमा हुनुभएको भए पनि यति राम्ररी राख्न र पढाउन सक्नुहुन्न थियो होला’, उनले भनिन्।

काभ्रेका विकास तामाङ सानै उमेरबाट सडक बालबालिकाको संगतमा पुगे। त्यस बेला उनका बाबुआमाबीच खटपट थियो। आमाले उनलाई उक्त संस्थाको जिम्मा लगाइन्। विकासले त्यहीँबाट कक्षा १२ सम्म पढे। होटल म्यानेजमेन्ट पढेका उनी हाल पोखराको बेगनास लेक रिसोर्टमा कार्यरत छन्। ‘सुरुमा परिवार छाडेर यहाँ बस्न गाह्रो भयो। बिस्तारै मजस्तै साथीभाइ बहिनीसँग भेट भयो। यहाँ आउन पाएर मेरो पूरै जीवनशैली नै परिवर्तन भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.