फनपार्कमा फनफनी
भर्खरको युवाले एक्लै आँट गरेर सुरु गरेको परियोजनाको अहिले जिल्लाभर चर्चा छ। उनको आँट देखेर उनका बुवासमेत दंग परेका छन्।
चितवन भरपुरका महेश तिवारी (३३)ले एक्लै आँटेर थालेको फनपार्क निर्माणको कामको चर्चा हुन थालेको छ। ठूलो लगानीमा भरतपुरमा फन पार्कको परियोजना सुरु गर्दा उनलाई धेरैले मूर्ख भने। अहिले नेपालकै फनपार्क मध्येको उत्कृष्ट बनाएर सञ्चालन सुरु गरेपछि उनी फरक धारमा गनिएका छन्। अहिले फन पार्क घुम्ने जोकोहीले पनि सञ्चालकबारे सोधीखोजी गर्छन्। तिवारीले भरतपुर महानगरपालिका–४ स्थित लंकुमा जेम्स वल्र्ड फनपार्क सुरु गरेका हुन्। २५ करोड रुपैयाँको लागतमा निर्माण भएको फनपार्कका उनी ‘वान मेन आर्मी’ कहलिएका छन्।
सानै उमेरबाट व्यावसायिक मानसिकतामा हुर्केका महेशले बुवाको व्यवसायभन्दा फरक गर्ने सोच बनाए। उनका बुवा गोविन्द तिवारीले नारायणगढमा तासका लागि प्रख्यात भेटघाट रेस्टुरेस्ट ३२ वर्षदेखि सञ्चालन गर्दै आएका छन्। उनलाई तासको जन्मदाताका रूपमा चिनिन्छ। स्थापित पेसाभन्दा फरक धारमा अघि बढ्न खोज्ने छोराको प्रस्ताव सुरुमा गोविन्दले स्वीकार्न सकेनन्। लगानी ठूलो भएका कारण पनि डुब्ने डर उनमा थियो।
महेशले सहरमा आवश्यकता भएको महसुस गरेर दृढ विश्वासमा एक्लै अघि बढे। वैशाख १ देखि सञ्चालनमा आएको फनपार्कले सबैको ध्यान तानेको छ। अहिले उनका बुवा छोराको लगाव र साहसको प्रशंसा गर्छन्। ‘मपछिको पुस्ताले बुवाको बिँडो धानेको नभनोस् भनेर मैले फरक काम थालेको हुँ’, महेशले भने, ‘समाजलाई के दिन सकिन्छ भनेर सबैको आवश्यकता भएर बनाएको पार्कमा मानिस रमाएको देख्दा आफू सफल भएझैं लाग्छ।’
फनपार्कबारे बुझ्नकै लागि उनले दुई वर्ष विभिन्न देशमा भ्रमण गरे। हङकङ, चीन, भारतमा प्रदर्शनी अवलोकन र सप्लायर्सलाई भेटेर बुझ्न थाले। त्यस क्रममा उनले एक सय २० वटा कम्पनीको निरीक्षण गरे। अन्ततः उनले १४ महिनामा स्तरीय फनपार्क सञ्चालनमा ल्याए।
काम अघि बढाएको ६ महिनापछि मात्रै लगानीका लागि इच्छुक हुनेहरू भेटिए। ‘स्पष्ट भिजन भएपछि आँट आउँछ, पैसाले रोकिन्न’, उनी भन्छन्, ‘समस्या स्रोतमा होइन, सोचमा हो।’ फनपार्कको डिजाइन उनी एक्लैले गरेका हुन्। अहिले बच्चादेखि वृद्ध उमेर समूहकाको आकर्षण बढेको छ। कोही खेल्छन्, कोही हेरेर रमाउँछन्। यसले आफूलाई सन्तुष्टि दिएको महेशको भनाइ छ।
सहरी कोलाहलबाट मुक्त हुन बजार क्षेत्रमा उचित गन्तव्यको अभाव थियो। रमाउने वातावरणको माग बढेको सहरी क्षेत्रमा फन पार्क निर्माण गरेपछि मानिसको आकर्षण बढेको छ। फनपार्कमा राखिएको मनोरञ्जनका साधन र सुविधाको हिसाबले नेपालकै सबैभन्दा ठूलो फनपार्क भएको उनको दाबी छ। गर्मी र जाडो समयलाई लक्ष्य गरेर त्यसैअनुसार सुविधाको योजना बनाएका छन्। सबै खेल समावेश भएको फन पार्क नेपालमा अन्त नभएको उनले दाबी गरेका छन्। विश्वमा उत्कृष्ट मानिएका खेलहरू पनि राखिएको छ।
नारायणगढबाट तीन किलोमिटरको दूरीमा तीन बिघा क्षेत्रफलमा फनपार्क बनाइएको छ। फनपार्कमा सानादेखि ठूला गरी एक सय किसिमका खेल समावेश गरिएको छ। सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टाछुट्टै खेलको व्यवस्था गरिएको छ। जिल्लामा पहिलो पटक ल्याइएको वाटर पार्कलाई विशेष आकर्षणका रूपमा राखिएको छ। वाटर पार्कमा दुई ठूला टनेल छन्।
४३ फिटको उचाइबाट दुई सय ६५ फिट लामो टनेलमा पानीमा रम्दै झरेर खेल्न सकिन्छ। संसारबाट लोप भएको डाइनोसर प्रजातिबारे जानकारी हुने खालको जुरासिक पार्क पनि बनाएका छन्। फनपार्कमा एक सय १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
महेशले १० वर्षको उमेरदेखि नै व्यवसायमा बुवाको संगत गर्न थाले। पढाइपछिको फुर्सदमा उनी रेस्टुरेन्टमै काम गर्थे। कामप्रतिको लगावलाई उनले प्राथमिकतामा राखे। २५ वर्षको उमेरमा उनले काठमाडौंको अनामनगरमा भेटघाटको शाखा विस्तार गरेर व्यवसाय गरे। सँगै पढेका साथीहरू विदेश जाँदा उनले भने नेपालमै पहिचान बनाउने लक्ष्य लिए। अहिले उनी आफ्नो पेसामा रमाएका छन्। नेपालमै केही गरौं भन्ने योजनासहित विदेश गएका साथीलाई बोलाउँदै छन्। महेशले एमबीए गरेका छन्।
भर्खरको युवाले एक्लै आँट गरेर सुरु गरेको परियोजनाको अहिले जिल्लाभर चर्चा छ। उनको आँट देखेर उनका बुवासमेत दंग परेका छन। सुरुमा लगानी डुब्ने डर मानेका गोविन्द तिवारीले अहिले छोराको काममा साथ दिएका छन्। स्वदेशमै बसेर केही गरौं भन्ने सोच बनाएकोमा उनी खुसी पनि छन्। ‘सुरुमा लगानी ठूलो भएका कारण डर लागे पनि छोराले गरेको कामले हर्षित बनाएको छ’, गोविन्दले भने, ‘अलग्गै व्यवसायबाट पहिचान बनाउन खोजेकामा सन्तुष्ट छु।’
उनी पनि छोरालाई साथ दिँदै लागिपरेका छन्। डेढ फिट गहिरो खाल्डो पुरेर उनले रमणीय स्थल निर्माण गरेका हुन्। पहिला सुनसान हुने त्यस क्षेत्रमा चहलपहल नै बेग्लै भएको छ। उनले विदेशको मोह कहिल्यै पालेनन्। स्वदेशमै उनको मोह बढ्यो।
फनपार्कमा उनी बिहान ८ बजेदेखी बेलुकी ७ बजेसम्मै हुन्छन्। फनपार्कको व्यवस्थापन र प्रचार अहिले उनको योजनामा छ। गरेको लगानीको सुरक्षा उनको चिन्ताको विषय हो। लगानी गरे पनि त्यसमा ढुक्क हुने खालको वातावरण नभएकामा उनले चिन्ता व्यक्त गरेका छन्।
पाइला पाइलामा अवसर भएको अनुभव महेशले सुनाए। राज्यले नीति बलियो बनाए लगानीको वातावरण बढ्ने उनको भनाइ छ। व्यवसायीले लगानी गरेपछि त्यसलाई राज्यले सुरक्षित बनाउन नसकेको गुनासो गरे।