विदेशको सीप, स्वदेशमा उद्यम
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका लील पुनले रोजगारीका लागि आठ वर्ष जापान बसे। जापानमा काम गर्दा जानेको व्यावसायिक सिप प्रयोग गरेर जन्मथलोमा अरु युवालाई सहभागी बनाएर पुनले कृषि उद्यम सुरु गरेका छन्। ‘गाउँमा बाँझिएर फालिएको जग्गाको सदुपयोग, रोजगार र आयआर्जनको अवसर सिर्जना गर्न साथी मिलेर कृषि तथा पशुपालन सुरु गरेका हौं’, पुनले भने, ‘जापानको व्यावसायिक अनुभव र सिपलाई स्वदेशमा परिचालन गरेको हो।’
पुनको नेतृत्वमा गाउँमै रहेका हेमन्त, अमन र पाब्लर पुनले कर्बाकेली ब्रदर्स प्रालि स्थापना गरेका छन्। उक्त कम्पनीमार्फत नांगी गाउँमा व्यावसायिक बाख्रा, माछापालन, तरकारी र आलु खेती सुरु भएको छ। बसाइसराइ र कामदार नपाएर बाँझो बनेको ३० रोपनीभन्दा बढी क्षेत्रफलको बारीमा यस वर्षदेखि आलु खेती गरेका छन्। आलु र तरकारी खेती गर्न पुख्र्यौली जग्गाका साथै भाडामा पनि लिएका छन्।
फार्म स्थापना, बाख्रा खरिद र पूर्वाधार निर्माणमा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी लगानी भएको सञ्चालक पुनले बताए। तीन रोपनीमा मौसमी र बेमौसमी तरकारी खेती गरेका उनीहरूले माछापालन सुरु गरेका छन्।
उनीहरूको फार्ममा स्थानीय खरी र उन्नत बोयर जातका ६० वटा बाख्रा छन्। तीन जनाले पूर्णकालीन रोजगारी पाएका छन्। फार्ममार्फत गाउँका कृषि उपज बजारीकरणका लागि पोखरामा बिक्री कक्ष सञ्चालन भएको छ। नांगी, राम्चे, काफलडाँडा, लोप्रो, डाँडाकटेरी, फलामेडाँडा, शालिजामा उत्पादन भएको तरकारी, आलु, किबी, खसीबोका पोखराको बजारमा निकासी गर्न थालेका छन्।
उच्च पहाडी भूगोलमा पर्ने नांगी र आसपासका गाउँ आलु खेतीको पकेट क्षेत्र हो। यहाँका कृषकले रासायनिक मलको प्रयोगबिना खेती गर्छन्। खेती विस्तारका साथै बाख्राको संख्या बढाउने योजना बनाएका छन्।
गाउँको उत्पादन कोसेलीको रुपमा बजार पठाउन र गाउँमा बजारबाट आवश्यक सामान पठाउन उनीहरूले गाउँघरमा हुलाकबाटोको अवधारणा अघि सारेका छन्। यस अवधारणाअनुसार गाउँ र सरहका बासिन्दाले पारसल (कोसेली) आदानप्रदान गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !