वर्षाले तीन घर विस्थापित
बागलुङ : भारी वर्षा र हावाहुरीका कारण जिल्लाको बडिगाड गाउँपालिका- ६ खाल बजारमा तीन परिवार विस्थापित भएका छन्। सोमबार साँझपख परेको वर्षासँगै आएको भलले स्थानीय गोठे सार्कीको छाप्रो र चर्पी डुबेको छ भने गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा पनि क्षति पुगेको वडाअध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए।
उर्लिएर आएको घ्वाङ्ग खोलो घरमा पसेको थियो। घर डुबानमा परेपछि गोठे सार्कीको परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन्। बाढी आएपछि झण्डै २ घण्टा मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको थियो।
रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसिभिले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताए। ग्रामीण क्षेत्रमा खोलिएका सडक र वस्तीभन्दा माथिको जंगलमा लागेको आगोका कारण नदी किनारका वस्ती थप जोखिममा परेका छन्।

प्रतिक्रिया दिनुहोस !