कारुणिक नरसंहार

कारुणिक नरसंहार

मिक्लाजुङ : नौ जनामाथि एकै व्यक्तिद्वारा खुकुरी प्रहार गरी हत्या ! सुन्दा पनि कहालीलाग्दो यस्तो घटना सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा भएको छ। नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका हुन्। प्रहरीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै नवैजनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन नौ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन।

बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन्।

यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ। बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी छन्। उनलाई उपचारका लागि झापा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। उनले हत्या कसले किन ग¥यो भन्नेबारे अनुसन्धान भइरहेको बताए। बमकुमार फियाक मानबहादुरका ससुरा हुन्। उनीहरूको घर १५ मिनेट पैदल दुरीमा छ।

हत्यालगत्तै मानबहादुरको आत्महत्या

नौ जनाको हत्या भएलगत्तै मानबहादुर माखिमले आत्महत्या गरेका छन्। उनको शव घरनजिकै झुन्डिएको अवस्थामा भेटिएको थियो। परिवारमा बेमेल भएपछि पत्नी मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइतमा बस्दै आएकी थिइन्। मानबहादुर मलेसियाबाट दुई महिनाअघि फर्किएका थिए। वडाध्यक्ष हस्तराज फियाकका अनुसार मानबहादुर र मनकुमारी सम्बन्ध विच्छेदको तयारीमा थिए। ‘घटनाबारे छानबिन भइरहेको छ,’ फियाकले भने, ‘नौ जनाको हत्याले गाउँ शोकमा डुबेको छ।’

मानबहादुर भने मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए। पत्नीले छाडेपछि उनी मानसिक रूपमा विक्षिप्त थिए। नौ जनाको हत्यालगत्तै उनले आत्महत्या गरेपछि प्रहरीले परिवारको हत्यामा उनकै संलग्नता रहेको आशंका गरेको छ। अनुसन्धान उनीतर्फ मोडिएको प्रहरी अधिकारीको भनाइ छ। ‘बच्न सफल बालिकाको भनाइ र उनको आत्महत्याले हत्यामा उनको संलग्नता रहेको अनुमान छ’, अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले भने, ‘अहिले यसै भन्न सक्ने अवस्था छैन। एकजनाले यति धेरैको हत्या कसरी गर्न सक्छ ?       हामी पनि अन्योलमै छौं।’ घटना अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल र संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री घटनास्थलतर्फ गएका छन्। प्रहरीले घटनास्थल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।

नकावधारीले खुकुरी हाने : सीता

बमबहादुरका चार छोरीमध्ये दुई छोरी, ज्वाइँ र नातिनीहरूको हत्या भएको छ। ‘सबैलाई विभत्स रूपमा काटिएको अवस्थामा भेटिएको छ,’ प्रमुख जिल्ला अधिकारी वस्तीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। नकाव लगाएर आएका व्यक्तिले एकएक गरी खुकुरी प्रहार गरेको घाइते सीता खजुमले बताइन्। आफूले भागेर ज्यान बचाएको उनको भनाइ छ।’ नौ वटै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

राति घटना भए पनि स्थानीयले मंगलबार बिहान मात्र थाहा पाएका थिए। स्थानीयले थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

छोरी इक्साको हत्या भएको सुनेपछि मासिमप्रसाद शेर्मा विह्वल छन्। ‘मेरी एउटी छोरी थिई। उसलाई पनि मारिदिए,’ मासिमले भने ‘अघिल्लो साल पत्नीले छाडेर गई अहिले छोरीलाई मारिदिए। घटना भएको १५ घन्टा भइसक्यो, छोरीको शव देख्न पाएको छैन।’

करिब दुई साताअघि जस्मिताको घरमा थुक्पाको खाजा खाने आठ जना बिरामी परेका थिए। जस्मिताकै छोरीसहित ढाका बुनाई तालिममा सहभागी आठ जना बिरामी परेका थिए। तीमध्ये दुईजना गम्भीर थिए। उनीहरू सोमबार मात्र उपचारपछि फर्किएका थिए।

खाजा खाइसकेपछि सबै बिरामी भएर खोजी गर्दा नुनमा सिसा मिसाएको पाइएको थियो। त्यतिखेरै सबै मार्ने षड्यन्त्र भएको स्थानीयको अनुमान छ। त्यसबखत असफल भएपछि सोमबार राति सबैको हत्या गरिएको स्थानीयले बताए। खानेकुमार सिसा मिसाएर खुवाएको घटना सार्वजनिक भए पनि प्रहरी र स्थानीय सरकारले चासो नदिँदा हत्या भएको भन्दै स्थानीय बासी आक्रोशित भएका छन्। प्रहरीले गम्भीर अनुसन्धान नगर्दा घटना हुन पुगेको स्थानीय वीरेन्द्र शेर्माले बताए। यस्तै एकै व्यक्तिले यति धेरैजनालाई खुकुरी प्रहार गर्न असम्भव रहेको भन्दै स्थानीय बासिन्दाले घटनाबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेका छन्।

संसदमा ध्यानाकर्षण

प्रमुख विपक्षी कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा भएको सामूहिक हत्याकाण्डबारे यथार्थ जानकारी दिन सरकारसँग माग गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद देवेन्द्रराज कँडेल र पुष्पा भुसालले घटनाको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन र घाइतेको उपचार गर्न माग गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.