साथीको हत्या आरोपमा ४ पक्राउ
रुपन्देही : साथीको हत्या गरेको आरोपमा रुपन्देहीमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। कपिलबस्तु बाडगंगा नगरपालिका- ६ बस्ने २७ वर्षीय चिरञ्जिवि आचार्यको हत्या गरी जंगलमा फालेको अभियोगमा प्रहरीले सोहि ठाउँकै २० वर्षीय राजु विक, ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल र २४ वर्षीय बसन्त खत्रीलाई पक्राउ गरेको हो।
आचार्यको शव रुपन्देहीको सैनामैना नगरपालिका-१० सितलपुर जंगलमा जेठ ६ गते फेला परेको थियो। प्रहरीका अनुसार जेठ ४ गते कपिलबस्तुको लक्ष्मण घाटस्थित एक रेष्टुरेण्टमा पाँचैजना मदिरा सेवन गरी बसेका थिए।
मदिरा पिएको अवस्थामा चिरञ्जिवि आचार्यको मोबाइल हराउँदा झगडा भएको थियो। झगडापछि उनीहरुले चिरञ्जिविको हत्याको योजना बनाएका थिए। राजु विक र रमेश विकले चिरञ्जिवि आचार्यलाई मोटरसाइकलमा लगेर रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डी नजिकको सितलापुर जंगलमा लगि ढुंगाले हानेर हत्या गरी छोडेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।
हत्यापछि मृतकसँग रहेको १३ हजार रुपैयाँ लिइ दुबैजनाले मोटरसाइकल कपिलबस्तुको खायरखानी जंगलमा छोडेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !