संखुवासभामा भेटियो ६०० वर्ष पुरानो इँटा

संखुवासभामा भेटियो ६०० वर्ष पुरानो इँटा

चैनपुर : संखुवासभाको चैनपुर बजारमा ६ सय वर्ष पुरानो इँटा फेला परेको छ। चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो। स्थानीय नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा १४ औं शताब्दीभन्दा अघिको रहेको दाबी इतिहासविद् डा. रमेश ढुंगेलले गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुन्। ‘चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ’, उनले भने, ‘६ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन्।’

उनका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ। नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको ऐतिहासिकता रहेको उनले गरे। यसको संरक्षण आवश्यक रहेको उनले बताए। चैनपुर संखुवासभाको पुरानो सदरमुकाम हो। इँटाको लम्बाइ १४ इन्च, चौडाइ ८ इन्च र मोटाइ २ इन्च छ। पुरातत्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी यसको सुरक्षा रेलिङ राखेर गर्नुपर्ने उनको भनाइ छ। यसबारे विभागमा लिखित जानकारी गराउने उनले बताए। त्यसपछि विभागका कर्मचारी आएर थप खोजबिन गर्नेछन्।

यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो। यसले इतिहास थप भएको चैनपुरका मेयर भरतकुमार खत्रीले बताए। ‘चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्’, उनले भने, ‘मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ।’ स्थानीय सरकारले संरक्षणको काम थाल्ने उनको भनाइ छ।

नवौं देखि १४ औं शताब्दीसम्म यसप्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ। चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उनले सुनाए। पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन्।

मेजर पाटीका रूपमा रहेको पाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुंगेलको भनाइ छ। भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी बत्तावरसिंह बस्नेत टोलीको योगदान रहेको इतिहास छ। विक्रम संवत् १८४५ मा स्थानीय स्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, वि श्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुंगेलले बताए। उनका अनुसार १८३०–३१ मा पृथ्वीनारायण शाहका पालामा बत्तावरसिंहका बुवा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ। सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो। तर, पछि बत्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो। चैनपुर फिर्ता भएको विजयको खुसियालीमा मेजर पाटी बनाइएको ढुंगेलको भनाइ छ।

उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ। उक्त मूर्ति २ सय ५० वर्ष पुरानो रहेको उनले उल्लेख गरे। सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ। त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.