किन सञ्चालनमा आएन मुग्लिङको 'आर्क' पुल ?

किन सञ्चालनमा आएन मुग्लिङको 'आर्क' पुल ?

मुग्लिङ : जीर्ण मुग्लिङ पुल विस्थापित गर्ने गरी निर्मित देशकै लामो ‘आर्क ब्रिज’ निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा आउन सकेको छैन। तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमाथि निर्मित चिनियाँ प्रविधिको यो पुल देशमै यस्तो प्रविधिको लामो पुल हो।

एक सय २० मिटर लामो पुलले झण्डै आयु सकिन लागेको मुग्लिङ पुललाई विस्थापित गर्ने लक्ष्य राखिएको थियो। पृथ्वी राजमार्गलाई देशको पश्चिम भागसँग जोड्ने एक मात्र माध्यम मुग्लिङ पुलको नयाँ विकल्प  इलाइट एड्भेन्चर लोहनी जेभीले तयार पारेको हो। यसका लागि झण्डै ११ करोड खर्च भएको कम्पनीको दाबी छ।

तर वैशाख महिनामा तयार भएको यो विशेष प्रविधिको पुल सञ्चालनमा नआउँदा जोखिम बढिरहेको छ। वैशाखबाटै सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि आवश्यक अनुमति नपाएकाले सञ्चालनमा ल्याउन नसकिएको निर्माण कम्पनीको भनाई छ। ‘पुल सञ्चालनका लागि हामी तयार छौं,’ कम्पनीका वरिष्ठ साइट सुपरभाइजर मोतिलाल शर्माले भने,‘तर आवश्यक वातावरण बन्न नसक्दा सकिएको छैन।’

हाल सञ्चालनमा रहेको पुलभन्दा करिब २० मिटरको दुरीमा रहेको नयाँ पुल सञ्चालनका लागि सडक खन्न बाँकी छ। तनहुँतर्फ डेढ र चितवनको मुग्लिङतिर ४० सेमी सडक खन्नुपर्ने काम बाँकी छ। तर सडकको डिजाइन नै स्विकृत भएको छैन। ‘हामीले डिजाइन सडक विभागमा पठाएका छौं,’ उनले भने,‘तर उताबाट स्विकृती नआएकाले काम थाल्न सकिएको छैन।’ डिजाइन स्वीकृत भएर आइसके पछि मात्र काम गर्न मिल्ने भएकाले कुरेर बसेको उनले बताए।

यसैगरी सडक खन्नका लागि दुवै जिल्लाका स्थानीय प्रशासनले अनुमति दिनु आवश्यक छ। सडक खन्ने समयमा यातायात अवरुद्ध हुने भएकाले प्रशासनको अनुमतिमा मात्र काम थाल्ने तयारीमा निर्माण कम्पनी छ। तर उसले दुवैतर्फबाट अनुमति पाईसकेको छैन।

‘हामीले सडक खन्नका लागि अनुमति मागेर निवेदन दिएका छौं,’ शर्माले भने,‘उहाँहरुको समयको प्रतिक्षामा छौं।’  डिजाइन स्वीकृत भएर दुवै जिल्लाले सडक खन्न अनुमति दिएमा यातायातलाई कम प्रभाव पार्ने गरी काम थाल्ने शर्माले बताए।

‘अनुमति आइसकेमा चाँडो काम सकेर पुल हस्तान्तरण गर्ने लक्ष्य छ,’ उनले भने। अनुमति पाएर काम सक्नका लागि कम्तीमा २० दिन लाग्ने अनुमान गरिएको छ। यस अर्थमा असार मसान्तअघि पुल सञ्चालनमा आउने सम्भावना कमजोर बनेको छ।

देशकै लामो आर्क ब्रिज

पटक पटक जीर्ण भए पछि मर्मत गरेर पुरानो पुललाई एक तर्फी रुपमा चलाउनु परे पछि चार वर्ष अघि दुर्लभ प्रविधिबाट पुल निर्माण थालिएको थियो। निर्माणको चार वर्ष पछि पुल तयार भएको हो। यसअघि यस्तै प्रविधिको पुल कालीगण्डकी नदीमा तयार भएको छ। तर यो पुल भने सबै नेपाली प्राविधिकले तयार पारेका हुन्।

निर्माण कम्पनीका सुपरभाइजर शर्माले ठूलो डिजाइन भएका कारण नाफा नभए पनि पछिका लागि भनेर मेहनतपूर्वक काम गरेको दाबी गरे। ‘पछि अरु यस्तै पुल बनाउँदा त सहज होला तर यसमा खास फाइदा छैन’ उनले भने। लामो नदी पार गर्दा भार कम होस् भन्ने उद्देश्यले त्रिशुलीमा यस्तो पुल तयार पारिएको  सडक  विभागका अधिकारी रामहरि पोख्रेलले बताए।

दोहोरो यातायात चलाउन सकिने

हाल सञ्चालनमा रहेको पुलले एक पटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ। तर अब बन्ने पुलमा भने निर्वाधरुपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने पोख्रेलले बताए। मुग्लिङ पुल हल्लने तथा विभिन्न भाग भत्किएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो।

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टबाट २०२९ सालमा उद्घाटन भएको पुरानो पुलको आयु ५० वर्ष तोकिएको थियो। २०४६ सालसम्म दुवैतर्फ सुरक्षा गार्ड राखेर पुल एकतर्फी सञ्चालन गर्ने गरिएको थियो। २०४६ सालयता गार्ड नराखिएको स्थानीय राजनीतिकर्मी कृष्ण शिलवाल स्मरण गर्छन्।

पछिल्लो समय अत्यधिक सवारी चापले बेला बेला भत्कने गर्न थाले पछि समय अगावै नयाँ पुलले विस्थापन गर्न लागिएको हो। शिलवाल निकै पुरानो इतिहास बोकेको मुग्लिङ पुल जीर्ण भएकाले यातायात सञ्चालनमा जोखिम रोक्न नयाँ पुल चाँडो सञ्चालन गर्नुपर्ने बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.