'सूदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम खुद्रा पसलजस्तो'
धनगढी : सत्तापक्षले सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेको छ भने प्रतिपक्षीले कार्यान्वयन हुनै नसक्ने भन्दै आलोचना गरेको छ।प्रदेश सरकारले प्रदेश सभामा जेठ १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रम माथि मंगलबारदेखि सुरु भएको छलफलमा सत्तारूढ घटक नेकपाले आलोचनात्मक समर्थन जनाएको छ।
कांग्रेसका सांसदले विकास निर्माण र प्रदेश समृद्धिका मुद्दामा आफूहरु विपक्षमा नउभिने बताउँदै सरकारको नीति कार्यक्रम मीठा शब्दले भरिएको र परिचालन हुने स्रोतसाधनका बारेमा बेवास्ता गरिएको विचार व्यक्त गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम खुद्रा पसलजस्तो भएको टिप्पणी गरे। 'विगतमा पनि वितरणमुखी बजेट ल्याएर आलोचित भएको सरकारले फेरि पनि त्यसैमा टेकेर ल्याउनु कतिको उपयुक्त छ, उनले भने, 'कार्यक्रममा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना हुनुपर्ने हो, त्यो देखिएन।'
यस्तै प्रतिपक्ष कांग्रेसका अर्का सांसद गोविन्द बोहराले नीति कार्यक्रम सदैव प्रचारमुखी मात्र भएको बताए।प्रदेशमा जलस्रोतको प्रचूर सम्भावना हुँदाहुँदै पनि ठूलो परियोजना कार्यक्रममा समावेश नहुने विडम्बना भएको बोहराले बताए।
'जलस्रोतको धनी प्रदेशमा त्यो अनुसारको योजना कार्यक्रममा छैन्, उनले भने, 'बसाईसराई रोक्नका लागि पनि पहाडमा ठूला परियोजना ल्याउन आवश्यक छ।'
उनले प्रदेशमा रोजगारीको समस्यालाई समाधान गर्ने गरी कार्यक्रममा नल्याएको भन्दै आलोचना गरे। 'कागजमा कार्यक्रम राम्रो देखाउने तर, कार्यान्वयनमा पक्ष कमजोर भए त्यसको कुनै सार्थकता हुने छैन।' सांसद कर्णबहादुर मल्लले कार्यक्रम उत्कृष्ट भएको तर, कार्यान्वयनमा चुनौति थपिने बताए।
नीति तथा कार्यक्रमको आलोचना गर्ने जिम्मा प्रतिपक्ष दलका सांसदलाई दिएको सत्तारुढ सांसदले कार्यक्रमको खुलेर बचाउ गरे।सत्तापक्षका सांसद लिलाधर भट्टले नीति कार्यक्रमका केही बुँदा समसामयिक र उत्कृष्ट भएपनि कतिपय बुँदामा रहेका कुरा महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहने स्पष्ट संकेत गरे।
प्रदेश सरकारले राम्रो नीति कार्यक्रम ल्याउन प्रयास गरेकोमा उनले प्रशंसा गरे।उनले प्रतिपक्षको आलोचनाविनाको कार्यक्रम लोकतान्त्रिक नहुने तर्क गरे।सत्तारुढ सांसद मेहश दत्तजोशीले प्रदेश सरकारको नीति कार्य क्रम जनताको तत्कालका आवश्यता पूर्ति गर्न र प्रदेश समृद्धिका बाटोमा डोर्याउन केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताए।
प्रदेश सरकोरको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। मंगलबारको प्रदेश सभामाप्रतिपक्ष र सत्तापक्ष गरी १० जना सांसदले छलफलमा भाग लिएका थिए। सांसद दिव्यश्वरी शाह, दीर्घ सोडारी, बलदेव रेग्मी, कुन्तीजोशीलगायतले छलफलमा भाग लिएका हुन्।