फट्केकै भर
संखुवासभा : सिसुवा खोलामा भेल बढेपछि सिलिचोङ गाउँपालिका–१ र २ का स्थानीयको आउजाउ टुट्छ। पुल नहुँदा वडा नम्बर १ स्थित रियाम्मा, मोस्तेम र २ को बाला मात्र होइन, गाउँपालिका केन्द्र ताम्कुसँगको सम्बन्ध विच्छेद हुन्छ। बाँस र काठबाट बनाइएको फट्के पनि भेलले बगाउँदा समस्या हुने गरेको स्थानीय हेमराज कुलुङको भनाइ छ।
उनका अनुसार २ सय ५० भन्दा बढी परिवारका सदस्य ज्यान जोखिममा राखेर फट्केमार्फत खोला तर्छन्। खोला बढ्नासाथ देवादहमा फट्के थाप्न दुवै वडाका बासिन्दाले श्रमदान गर्ने गरेको स्थानीय अदल कुलुङले बताए। हिउँदमा पनि फट्के प्रयोग गर्ने गरिएको उनको भनाइ छ। हिउँदमा एकपटक बनाए पुग्ने र बर्खामा भने भेलले पटक–पटक बगाउने गरेको उनले सुनाए।
फट्के नहुँदा वडा नम्बर १ बाट बाला हुँदै गाउँपालिका केन्द्र आउन चार घण्टा हिँड्नुपर्छ। अर्को पुल चढ्न ताम्लुङ, छुदाक हुँदै सिसुवाटार आउनुपर्ने अदलले सुनाए। पुल नहुँदा मोस्तेम, रियाम्मा र ताम्लुङका बालबालिका चार घण्टा हिँडेर बाला याम्दाङ मावि आउने गरेका छन्।
स्थानीयले गाविस, जिविसलगायत स्थानीय निकायसम्म पुल मागेका थिए। तर, उनीहरूले आश्वासनबाहेकी केही पाएनन्। झोलुंगे पुल बनाउन स्थानीयले संघीय, प्रदेश र स्थानीय सरकारसहित विभिन्न संघसंस्थामा निवेदन दिएका छन्। तर, स्थानीय सरकारले नै पनि चासो नदिएको स्थानीयको गुनासो छ।
देवादहमा पुल नहुँदा स्थानीयलाई धेरै सास्ती भएको १ नम्बर वडाध्यक्ष अलक्षकुमार कुलुङले बताए। आफू जनप्रतिनिधि भएपछि पहल गरे पनि पुल निर्माणको अवस्थामा पुग्न नसकेको उनले सुनाए। वडाको बजेटले नपुग्ने भएकाले आफू असफल भएको उनको भनाइ छ।
पुल मागेको जुगौं बिते पनि कुनै निकायले सुनुवाइ गरेनन्।
पुल नहुँदा मास्तेम, तिवा, पौखामटार, तम्लुङ, बाला, रियाम्मा, तेयुङलगायत गाउँका स्थानीयलाई समस्या छ। छिमेकी जिल्ला भोजपुरको साल्पासिलिछोका ओख्रे, ठोटनेरी, सानो ताल, ठूलो ताल, बाइखिमलगायत गाउँसम्मका स्थानीय पनि प्रभावित हुने गरेका छन्। भोजपुरवासी पनि सिवाटारको बुधबारे बजार भर्न आउने गरेका छन्।
सिलिचोङ गाउँपालिकामा ६ वटा फट्के छन्। वडा नम्बर ४ र ५ जोड्ने नेवा खोला, ५ र ९ को नौवा खोला, ४ र ८ को स खोला, ८ र ९ को रेम्बेवान सिवावा खोलामा फट्के सञ्चालनमा छन्। सम्तेलबाट ९ बेसिन्दा तर्न पनि फट्केकै भर छ।
प्रतिक्रिया दिनुहोस !