चोरीका गहना र नगदसहित कैलालीमा ४ पक्राउ
धनगढी : कैलाली प्रहरीले भारतबाट चोरी ल्याइएका सुनका गरगहना र नगदसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका-४ का ३८ वर्षीय मानबहादुर कार्की, ५का ४३ वर्षीय सन्तोष भट्टराई, कैलाली गौरीगंगा नगरपालिका ८ का २१ वर्षीय कुमार भुल र गोदावरी नगरपालिका ७ बस्ने २८ वर्षीय योगेन्द्र बिक रहेका कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानतकारी दिए।
भारतको लुधियाना पंजाव गुरुनगर बस्ने नन्द किशोरको घरबाट सुन र हिराका गरगहना र नगद चोरी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक गिरी बताए। नन्द किशोरसहितको टोली नेपाल आएर प्रहरीलाई खबर गरेपछि चोरीमा संलग्नलाई कैलालीका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो। चोरीमा संलग्न केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
नन्द किशोरले प्रहरीमा बुझाएको विवरण अनुसार थुप्रै सुन र हिराका गहना अझै फेला पर्न नसकेका उनले जानकारी दिए । प्रहरी उपरीक्षक गिरीले पक्राउ परेका समूह यसअघि पनि भारतका विभिन्न ठाउँमा चोरी गरेर फरार रहेको बुझिन आएको जानकारी दिए।
पक्राउ परेका व्यक्तिका साथबाट २७ ग्राम ५ सय ३० मिलिग्राम सुनको एक थान सिक्री, ८ ग्राम ८० मिलिग्राम सुनको एक थान औँठी, १ ग्राम ४ सय मिलिग्राम सुनलगायतका गहना र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, १ सय ३० अमेरिकन डलर, हंगेरीको ५ सय नगद रकम बरामद गरिएको छ।