६५०० जनालाई एक वडासचिव

६५०० जनालाई एक वडासचिव

खाँदबारी : संखुवासभाको भोटखोला गाउँपालिकामा पाँच वडा छन् । जनसंख्या ६ हजार ५ सय ७६ छ । तर, सबै वडाका जनतालाई एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयलाई सास्ती भएको छ ।

भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताए । ‘महिनामा एक वडामा दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन’, वडासचिव लामाले भने, ‘एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।’ अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा (वडासविच र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । २७ जनाको दरबन्दी भए पनि पाँच जनामा मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । पाँच जना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए । उनका अनुसार पाँच वडामा एक÷एक र गाउँपालिका कार्यालयमा दुई गरी सात जना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । ‘एक जना वडासचिवलाई कतितिर कुदाउने ? ’, उनले भने । सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन हुने उनले बताए । सिंहदरबारकेन्द्रित सरकारी सेवा गाउँ पुर्‍याउन कठिन हुने उनको भनाइ छ ।

यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको उनले सुनाए । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक ४ हजार रुपैयाँसमेत व्यवस्था गरेको छ । यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् । चीन र भारत जोड्ने छोटो मार्ग किमाथाङ्का–रानी सडक सोही गाउँपालिका हुँदै जाने भए पनि काम समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्चालन हुने हो भने भोटखोलामा पनि कर्मचारी आउने उपाध्यक्ष पान्जाम भोटेको विश्वास छ । भोटखोलामा पुर्‍याउन किमाथाङ्का–रानी सडक तत्काल निर्माण गरी सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोश टाढा रहेको भोटखोला चीनको सीमा क्षेत्रमा पर्छ । यो गाउँपालिका साबिकका किमाथांका, चेपुवा, हटिया, पावाखोलाका १ देखि ३ वडा मिलेर बनेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.