योग मानिसको आचरण हो

योग मानिसको आचरण हो

हामीलाई गर्व लाग्नुपर्छ- नेपाल योगको उद्गम भूमि हो। नेपाल ऋषिभूमि, देवभूमि, शिवभूमि र नेपाल नै योगभूमि हो। हाम्रा ऋषिमुनीका योग साधनालाई अनुसरण गरेर विश्वभरि योग दिवस मनाउने गरिन्छ। योगलाई कसरी जीवनमा उतार्ने भन्ने कलासँग हामी अनभिज्ञ छौं। जहाँबाट हाम्रो जन्म भयो, त्यो उद्गमसँगै हामी अपरिचित छौं। त्यसो त हिजोआज सम्प्रदाय, धार्मिक संघसंस्थालगायत थुप्रै योगाचार्यले विभिन्न तरिकाले मानिसलाई योगतर्फ उन्मुख गराउन प्रेरित गरिरहेको देखिन्छ।

 यो मानिसको जीवन जिउने कलामध्ये एउटा महत्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, श्वासप्रश्वासका प्रक्रियामार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन। योग हाम्रो जीवन पूर्णताका साथ जिउन आवश्यक पर्ने जीवन पद्धति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो। योगलाई मानिसहरूले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीको माध्यम बनाएका हुन सक्छन्। तर, योग शारीरिक समस्याको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याको समाधान हो। त्यसैले त भनिएको छ : सांसारिक दुःखकष्टहरूको एक मात्र औषधि योग हो।

अवश्यमेव योगको पहिलो चरण शारीरिक व्यायामबाट सुरु हुन्छ। योग र यसका आसन, प्राणायाम, ऊर्जा जागरणले हाम्रो शरीर स्वस्थ राख्न मद्दत गर्छ। तर, यसको अन्तिम लक्ष्य अन्तर्मुखी बनाउनु हो। शरीर र मनभन्दा पनि परको चेतना जगाउनु हो। योग अर्थात् मनुष्यलाई संसारबाट अध्यात्मतिर जोड्नु, मनबाट आत्मासँग जोड्नु हो। योग भएन भने वियोग हुन्छ अर्थात् मनुष्य बहिर्मुखी हुन्छ। वियोग हँुदा हामीले जोडेको घरवार, प्रेम, सम्पत्ति, मित्रजन त छुट्छन् भने अस्तित्वबाट प्राप्त शरीर, शरीरसँगै जोडिएको आत्मा र त्यो परम् चैतन्य हुँदै परमको अनुभूतिका लागि योग अवश्य जरुरी छ। अझै गहिराइको कुरा गर्नुपर्दा त्यो परम्को त्यो चैतन्यस्वरूपको अनुभूति गर्ने, स्वयंमा स्थित हुने र स्वयंको स्वभावमा जिउनु नै मनुष्यको स्वभाव हो, यही नै योगको मर्म हो।

सद्गुरु ओशो योगगुरु पतञ्जलीको सम्मान गर्दै भन्नुहुन्छ- भौतिक विज्ञानले बाहिरको अनुभव सिद्ध गर्छ भने योग अर्को शुद्ध विज्ञान हो, जसले भित्रको अनुभूतिलाई प्रस्फुटन गरिदिन्छ। अर्थात् भित्रको खोजको कला नै योग हो। ओशो अरू प्रस्ट पार्नुहुन्छ- मनको समाप्ति योग हो। योग कुनै शास्त्र होइन, न त मानिसले गर्ने कुनै विधि नै हो। योग त मानिसको आचरण हो। योग भूत र भविष्यको जानकारी पनि होइन। योग त केवल मानिसभित्रको वास्तविकता थाहा पाउने कला हो। अर्थात् योग बाहिरी अनुभवभन्दा परको अमृत रसको अनुभूति हो, जून घटित भएमा मानिस सुख र दुःखबाट पार पाउन सक्छ। योग वशिष्ठमा वर्णन गरिएको छ- मानिस क्षणमा सुखी छ त क्षणमै दुःखी बन्छ। क्षणमै सम्पन्न ठान्छ त क्षणमै गरिब ठान्छ। किनकि, दुःख मनमा लाग्छ। मनमा आउँछ। सिकायत मनमा आउँछ।

त्यो मनदेखि पार पाउने योग भने ध्यान हो। योगसँगै आउने ध्यानलाई मानिसले बिर्सेको छ। त्यसैले त ओशोले सधैं मनुष्य जातिलाई सम्झाउँदै आउनुभएको छ- योग सम्पूर्ण विज्ञान हो। यसले विश्वास गर्न होइन, बोध गर्न सिकाउँछ। यसले सत्य-असत्यको कुरा गर्दैन, केवल हाम्रो हेराइ, हाम्रो दृष्टिबारे इशारा गर्छ र हामीभित्रको अपार सम्भावनातर्फ लिएर जान्छ। हाम्रो दृष्टि सकारात्मक हुनासाथ हामीले गरेका कर्म सकारात्मक हुन्छन् र परिणाम पनि सकारात्मक नै प्राप्त हुन्छन्।

मैले यति गरें, अझै गर्नु छ, संसार जित्नु छ भन्दै आधुनिकताको परिचयसँगै आफूलाई व्यस्त छु भन्दा गर्व गर्ने मान्छेले समयअनुसार चल्नुपर्नेमा आफैंले समयलाई चलाउने गरेको पाइन्छ। यहाँ मानिसले जति नै गरेको छु भनेर घमण्ड गरे पनि अन्तिम निर्णय अस्तित्वको हातमा छ। उसले जे चाह्यो त्यही हुन्छ। मानिस केवल समयसँग चल्न सके पुग्छ। सूर्योदयसँगै उठ्ने, आफ्नो नियमित कार्य सम्पन्नपछि योग र ध्यान अनि सन्तुलित आहारपछि कर्मक्षेत्रमा लाग्नाले उसको कार्यक्षमता र कार्यकुशलता प्रभावकारी हुन्छ। हिजोआज त मानिसहरू राति अबेरसम्म बसी टीभी हेर्नु, समाचार सुन्नु, सिनेमा देख्नु वा कम्प्युटरमा बस्नु र बिहान अबेरसम्म सुत्नु अनि छिटोछिटो गाँस टिपेर, गाडी चढेर कर्म क्षेत्रतर्फ प्रस्थान गर्नुलाई धनाढ्यको संज्ञा दिने गर्छन्।

 यो असहज जिउने तरिकाले उसको स्वास्थ्यमा र मानसिक रूपमा पार्ने असरको ख्याल गरेको हुँदैन। सबैभन्दा उत्कृष्ट आफ्नो स्वास्थ्य नै नभईकन प्राप्त गरेको धन-सम्पत्ति, नाम, इज्जत, प्रतिष्ठा केका लागि भन्ने जानकारी नभएका विवेकशील मानिसहरूको खाँचो छैन हिजोआज। पशुपक्षीले समेत प्रकृतिको नियमविपरीत गएर आफ्नो स्वास्थ्य र सम्बन्ध बिगारेका हुँदैनन्। तर मानिस विवेकशील प्राणी भएर पनि अस्तव्यस्त जीवनमै गर्वको मापन गर्छन्।

प्राकृतिक स्वभावमा जन्मेर मानिस अप्राकृतिक बन्दै छ, तर अझै होस छैन। आधुनिकताका नाममा आहार शैली, व्यवहार शैली सब अप्राकृतिक बन्न थालेको छ। चेतना बहिर्मुखी भएको छ। बाहिरैको भागदौड र प्रतिस्पर्धामा सम्पन्नता र सफलता खोज्न थालेको छ। मानिसले आफ्नो स्वभाव योगलाई बिर्सेर भोगमा मात्र व्यस्त हुन थालेको छ। प्रकृतिले इशारा गरेजस्तै सहज, सरल, स्वस्थ र प्रेमपूर्ण जीवन बिताउन बिर्सेको छ। जसरी लयबद्ध भएन भने संगीत मधुर हुँदैन।

त्यसैगरी संगीतमय जीवनमा पनि ताल, सुर मिलेन भने लय आउँदैन। जीवनमा सुमधुर संगीत उत्पादन गर्न आहार, आचार र विचारको तालमेल मिल्नु जरुरी छ। आचार र खानपान शुद्ध नभएपछि विचार सकारात्मक कसरी हुने ?

वेदमा उल्लेख छ ः हे मनुस्य तिमीहरू उठ, जाग, तिम्रो जागरणको बोध गर र तिम्रो जागरणसँगै बाहिरको सफलता र भित्रको आनन्द ख्याल गर। भित्र आनन्द नआउने सफलता सफलता होइन, तिम्रो रोजाइ गलत भयो। वास्तवमै नाम-दाम दुवैमा अरूले भन्दा बढी सफलता प्राप्त गर्ने, इज्जत र प्रतिष्ठा अरूको भन्दा बढी चाहिने, डिग्री, पद अरूभन्दा माथि नै हुनुपर्ने अहिलेका मानिसका समस्या र दुर्भावना समाधान हुन उनीहरूको जीवन शैलीमा परिवर्तन आउन जरुरी छ। योग-ध्यानको माध्यमबाट मात्र यो चेतना जागृत हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.