जो भिडे बाघसँग

जो भिडे बाघसँग

चितवन : खेतमा चरिरहेको बाख्रा खान आएको बाघसँग माडीका इन्द्रबहादुर दूराको जम्काभेट भयो। ५० फिट पर बाघ देख्दा उनी आत्तिए। बाघले उनलाई झम्टियो। उनले बाघको घाँटीमा अठ्याए। बाघ झम्टिन्थ्यो, उनी हातले हुत्याउँथे। बाघबाट जोगिन उनलाई कम्ता सकस परेन। उनले आफ्नो जीवन ‘यत्ति हो’ भन्ठाने। झन्डै तीन मिनेट उनले वयस्क बाघको सामना गरे। अन्तमा बाघलाई जितिछाडे इन्द्रबहादुरले।

‘टीभीमा मात्रै देखेको बाघसँग प्रत्यक्ष मुठभेड हुँदा जिन्दगी सकियो भन्ने लाग्यो’, उनले भने, ‘बाघले झम्टिने, मैले हुत्याउने क्रम चलिरह्यो। शरीरभरि रगत देख्दा बेहोस हुँलाझैं भयो। तर, हिम्मत नहारी भिडिइरहें।’

बाघका अगाडिका खुट्टाको पञ्जाको प्रहार रोक्न उनलाई सकस भयो। देब्रे हात बाघले मुखमा हालेपछि उनले दाहिनेले त्यसको घाँटी अठ्याए। बाघले हातमै आक्रमण गर्‍यो। बाघको अगाडिको खुट्टा टोकेर उनले बाघलाई लडाए। कम्मरमा बाँधेको खुर्पेटोबाट हँसिया निकालेर हान्न थाले। त्यसपछि मात्र बाघ भागेको उनले सुनाए।

बल र बुद्धि दुवै लगाएर बाघलाई पराजित गरेको गर्वका साथ उनले सुनाए। शारीरिक रूपमा हट्टाकट्टा भएकाले बाघसँग लडेको उनको भनाइ छ। ‘मृत्युको मुखबाट फुत्किएर नयाँ जीवन पाएको छु’, उनले खुसी हुँदै भने, ‘बाँघसँगको त्यो लडाइँ सम्झिँदा कहाली लाग्छ।’

उपचार गराईरहेका ईन्द्र बहादुर दुरासँग उनकी छोरी प्रतिज्ञा दुरा। 

उक्त घटना असार ११ मा भएको हो। घरबाट सय मिटर दूरीमा जंगलसँगै जोडिएको खेत छ। नजिकै गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन छ। खेतमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको थियो। सुरुमा बाघले माउ बाख्रालाई अठ्याएको देखेपछि उनी कराउन थाले। उनले खेतमा पाएसम्मको माटोका डल्ला, ढुंगाले हाने। उनको कुकुरले बाघलाई झम्टियो। कुकुर भागेर आएपछि बाघले इन्द्रबहादुरलाई आक्रमण गरेको थियो।

उनी मृत्युको मुखबाट फुत्किएकाले परिवारमा खुसियाली छाएको भाउजू भोला दुराले बताइन्। ‘बाघको मुखबाट फुत्किएर आएको कुरा सुरुमा सुन्दा कहाली लाग्यो’, उनले भनिन्, ‘नदेख्दासम्म त आशा मारेका थियौं।’ घाइते अवस्थामा इन्द्रबहादुरले फोन गरेका थिए।

स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि उनी भरतपुर आएका छन्। पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। देब्रे हातमा गम्भीर चोट लागेको छ। टाउकोमा पाँच टाका लगाइएको छ। बाघले चिथोरेको दाहिने हातमा पनि टाका लगाइएको छ। रेबिजविरुद्धको भ्याक्सिन लगाइएको छ।

उनी प्रहरीका अवकाशप्राप्त हवल्दार हुन्। माडी नगरपालिका–९ गोविन्द बस्तीमा उनले बाख्रापालन गरेका छन्। उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन्। अस्पतालमा भेट्न जानेलाई उनलाई बाँचेर आएको भन्दै बधाई दिएका छन्। बाघको आक्रमणबाट उनकै गाउँका तीन जनाले ज्यान गुमाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.