आधुनिक हतियारसहित विप्लव कार्यकर्ता पक्राउ
खाँदबारी : आधुनिक हतियारसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता संखुवासभाकाे सिलिचोङ–१ बाट पक्राउ परेका छन्। चिशखुगढी गाउँपालिका–७ घर भएका निम दोर्जी तामाङलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्व पण्डितका अनुसार गत सोमबार सिलिचोङ–१, होयेंला प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहन भएको र गोली काण्डको भोलीपल्ट प्रहरीले तामाङलाई प्रक्राउ गरेको हो।
पक्राउ परेका तामाङले दिएको सूचनाका आधारमा लुकाएर राखिएको अवस्थामा एक राउन्ड गोली लोड भएको एसएलआर राइफल, १० राउन्ड गोली लोड भएको म्यागजिन, एलएमजी राइफलमा लाग्ने म्यागजीनसहित २० राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ।
त्यसैगरी हाते झोलामा पोकोपारी राखेको एसएलआर राइफलको ५४ राउण्ड गोली र विस्फोट गराउन प्रयोग हुने रातो रंगको ३४ फिट लामो डेडकर्ड पनि प्रहरी जफत गरेको छ। लुकाएर राखेको अवस्थामा एसएलआर राइफलको १३ थान खोकासहित विभिन्न प्रकारका किताबहरु समेत बरामद गरिएको छ।
प्रतिक्रिया दिनुहोस !