बन्यो फिल्म सिटीको डीपीआर, पाँच अर्ब लागत

बन्यो फिल्म सिटीको डीपीआर,  पाँच अर्ब लागत

दोलखा : दोलखाको लाकुरीडाँडामा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी (फिल्म सिटी) को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। सिमेका विम जेभीले करिब एक करोडको लागतमा भीमेश्वर नगरपालिका– ९, लाकुरीडाँडाको डाङ्डुङेडाँडामा बन्ने फिल्म सिटीको डीपीआर तयार गरेको हो। ३४ सय मिटरको उचाइमा अवस्थित डाङ्डुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्म सिटी निर्माण गर्न चलचित्र विकास बोर्डले डीपीआर तयार गर्न लगाएको थियो।

पहिलो चरणमा करिब पाँच अर्ब खर्चमा फिल्म सिटी सञ्चालन गर्न सकिने सिमेका विम जेभीका आर्किटेक्ट आभूषण पन्तले जानकारी दिए। फिल्मको चाप र संख्याअनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब १५ अर्ब खर्च लाग्ने डीपीआरले देखाएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसहित सरकारी कर्मचारी तथा फिल्म सिटीका अभियन्ता सम्मिलित कार्यक्रममा शुक्रबार डीपीआर प्रस्तुति गरिएको हो। दोलखा फिल्म सिटीका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सरकारको दायित्व र स्वामित्व रहेकाले तत्काल यथाशक्य बजेट विनियोजन गर्न आग्रह गरेका छन्।

डीपीआर अनुसार फिल्म सिटीमा बसोबाससहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रोडक्सन युनिट, मनुमेन्टल एभिन्यु, गेस्ट हाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करिब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरिनेछ। फिल्म सिटीमा पाँचतारे होटल, ट्रेनिङ सेन्टर र आउटडोर सुटिङको लागि त्यहाँ उपलब्ध प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकिने डीपीआरमा उल्लेख छ।

सरकारले १२ करोड ४५ लाख खर्च गरेर फिल्म सिटी क्षेत्रमा दुई लेनको सडक, फुट ट्रेल, नालासहितको पूर्वाधार निर्माण गरिसकेको छ भने एक करोडको लागतमा पानी तथा बिजुलीको समेत व्यवस्था गरिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तथा टेक्निकल फिजिबिलिटी स्टडी (टीएफएस) र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सहित सरकारले दोलखा फिल्म सिटीमा कुल १७ करोड ४५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको चलचित्र विकास बोर्डले जनाएको छ।

तत्कालीन सरकारका सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले २०७४ फागुन ३ गते फिल्म सिटीको शिलान्यास गरेका थिए। फिल्म सिटी क्षेत्रमा ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, धार्मिक सम्पदाले भरिपूर्ण रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको थियो। डाङ्डुङेडाँडामा ५० प्रजातिका जैविक र ६ प्रकारका गुराँस रहेको विभिन्न प्रतिवेदनमा उल्लेख छ।

देशको राजधानी काठमाडैाँबाट १०९ किलोमिटर पूर्वमा रहेको डाङ्डुङेडाँडाबाट काठमाडौंको स्वयम्भू, फुल्चोकी, गौरीशंकर हिमालसहित रोल्वालिङ हिम शृंखला, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुंगाको करिब ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ।

चलचित्र विकास बोर्डले दोलखा फिल्म सिटी विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको दाबीसमेत गर्दै आएको छ। सेतीदेवीदादर सामुदायिक वनले फिल्मसिटीका लागि आवश्यक जग्गाको भोगाधिकार उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.