हामी तीन : ब्रह्मा, विष्णु र महेश
भाइबहिनीलाई जुम्ल्याहा, तिम्ल्याहाका बारेमा कत्तिको थाहा छ ? तिमीहरूमध्ये कसैकसैका त साथीभाइ वा आफन्त पनि जुम्ल्याहा, तिम्ल्याहा होलान्। कतिपयले नजिकबाट देखे जानेका पनि होलाऊ। सँगै पढेका, खेलेका पनि छौ होला। यदि त्यसो नभए जुम्ल्याहा र तिम्ल्याहाका समान अनुहार, व्यवहार, हाउभाउ, चालचलनका बारेमा त पक्कै पनि सुनेका हौला नि ? उनीहरू एक जना बिरामी हुँदा अर्को पनि बिरामी हुने गरेको, सँगै भोकाउने गरेको देख्न र सुन्न पाइन्छ। उनीहरूको रुचिमा पनि समानता भेटिन्छ। जुम्ल्याहा, तिम्ल्याहामध्ये कोही दाजुभाइ हुन्छन् त कोही दिदीबहिनी। कतै दाजुभाइ र दिदीबहिनी दुवै जन्मिएका पनि पाइन्छन्।
हाम्रा वरपर तिम्ल्याहाभन्दा जुम्ल्याहा धेरै भेटिन्छन्। यहाँ भने तिम्ल्याहाका बारेमा कुरा गरिँदैछ। ब्रह्मा, विष्णु र महेश भन्नासाथ हाम्रा मानसपटलमा झट्ट त्रिदेवको चित्र आइहाल्छ। तर हामीले यहाँ तिम्ल्याहा दाजुभाइका कुरा गर्दैछौं। उनीहरू काठमाडौं कपनस्थित जोसेफ स्कुलमा पढ्छन्। २०५९ साल भदौमा आमा सरितादेवी ठाकुरको कोखबाट १५ मिनेटको फरकमा जन्मिएका ब्रह्मा र विष्णु कक्षा १० मा पढ्छन् भने महेशले यसै वर्ष ए ग्रेड ल्याएर एसईई पास गरे।
उनीहरूकी आमा सरिताले गर्भवती भएको केही महिनामै गर्भ जाँच गराउँदा पेटमा तीनवटा बच्चा भएको थाहा पाएकी थिइन्। तिम्ल्याहाको कथा मात्र सुनेकी सरिता र उनका पति सञ्जयलाई आश्चर्य, खुसीभन्दा चिन्ता धेरै भयो। ‘डाक्टरले त्यसबेला छोराछोरी के छन् भनेर सुनाएनन्। तर हामी छक्क पर्यौं। धेरै डरायौं पनि। म केही महिना अघिबाटै रक्सौलस्थित माइतमा बस्दै थिएँ। पछि तीन भाइ छोरा जन्मिएपछि सबै जना खुसी भयौं। त्यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ ’ उनले विगत सम्झिइन्।
नातिहरू हुर्काउनकै लागि घरमा गाई र माइतमा भैंसी किनिएको उनले सुनाइन्। ‘यिनीहरूलाई हुर्काउन सबैजना उत्तिकै खट्यौं। महेशलाई मावलमा राखेर हुर्काइयो। ऊ अरूभन्दा ठूलो देखिन्छ। तौल पनि धेरै छ। स्याहार पनि पुग्यो होला। ब्रह्मा र विष्णु चाहिँ वीरगन्ज घरमै हुर्किएका हुन् ’ सरिता भन्छिन्।
ब्रह्मा र विष्णु काटीकुटी उस्तै छन्। ब्रह्माको कपाल तल फर्किने र विष्णुको माथि जाने विशेषता चाहिा मिल्दैन। महेश अलि फरक अर्थात् उनीहरूका पनि दाजु भन्न सुहाउने छन्। उनीहरूभन्दा अग्ला पनि छन्। सुरुमा ब्रह्माको गालामा कोठी देखिएको र विस्तारै विष्णुको गालामा पनि देखिएको उनीहरूले सुनाए। तिम्ल्याहा नातिहरूको नाम उनीहरूका मावलका हजुरबाले जुटाएका रहेछन्।
साथीभाइ, आफन्त, सर, गुरुआमाहरू पनि झुक्किरहने उनीहरू सुनाउँछन्। ‘कतिपटक एक जनाले गल्ती गर्दा अर्कैले सजाय पनि पाएका छौं। सबैजना झुक्किनु हुन्छ। धेरैलाई हामी को हौं भनेर छुट्ट्याउन सजिलो हुँदैन।’,उनीहरूले भने।
ब्रह्मा अंग्रेजी विषय पढ्न मन पराउँछन्। उनी चित्र राम्रो बनाउँछन्। विष्णु उनलाई पछ्याउँछन्। उनीहरूको चालचलन र रुचि प्रायः मिल्छ। संगीत र अभिनय गर्न मन पराउँछन् उनीहरू। गृहकार्य गर्दा पनि उनी प्रायः सँगै हुन्छन्। परीक्षामा पनि उस्तै अंक ल्याउँछन्। महेश अलि फरक स्वभावका छन्। उनी छुट्टै खेलिरहेका हुन्छन्। उनलाई विज्ञान र व्यवस्थापन विषय मन पर्छ। विज्ञानको प्रयोगात्मक पक्ष उनलाई मन पर्छ। अब उनी व्यवस्थापन संकाय लिएर पढ्ने विचारमा छन्। उनलाई ब्यांकर बन्ने मन छ। उनी फुटबल, भलिबल, ह्यान्डबल धेरै खेल्छन्। कहिलेकाहीँ गीत पनि गाउँछन्।
उनीहरू काठमाडौंभन्दा पनि घरमा र मावलमा रमाइलो हुने गरेको सुनाउँछन्। छठ, होली र दीपावलीमा उनीहरू जाने गरेका छन्। ब्रह्मा र विष्णु धेरै नै मिल्ने गरेको उनीहरूकी दिदीको भनाइ छ। उनीहरू प्रायः ६ बजे उठिसक्छन्। सँगै पढ्छन्, सँगै खेल्छन्।
उनीहरूका बुवा सञ्जय २६ वर्षदेखि कपनमै कपाल काट्ने पेसामा छन्। एकदिन ब्रह्मा र विष्णुलाई सरले कपाल लामो भयो भन्दै गाली गर्नु भएछ। बेलुका घरमा आएपछि ब्रह्माले विष्णुको कपाल काटिदिएछन्। कपाल पूरै बिग्रिएर हेरिनसक्नु भएछ। उनको बिग्रिएको कपाल बुवाले मिलाइदिएछन्। महेशले पनि कहिलेकाहीँ बच्चाहरूको कपाल काटेका छन्। उनीहरू कहिलेकाहीँ घरको काम पनि सघाउँछन्। उनीहरू सबैलाई चिया र खाजा पनि पकाउन आउँछ। कहिलेकाहीँ खेल्न सँगै निस्किन्छन्। विद्यालय जाँदा पनि सँगै जान्छन्।