अवैध उत्खननले डुब्छ विराटनगर
विराटनगर : बर्सेनी खोलाबाट मनोमानी उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर बस्तीमा परेको छ। वर्षात सुरु भएसँगै प्रदेश १ राजधानी विराटनगर आसपासका खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पसेको छ। मापदण्ड विपरित उत्खनन् हुने खोलाको धार सिँधै बस्तीतर्फ सोझिएको छ।
विराटनगरको पश्चिमतर्फ रहेको सुनसरी र मोरङको सीमाना भएर बग्ने केशलीया खोलाको धार परिवर्तन गरेर गिट्टी बालुवा उत्खनन् हुँदै आएको थियो। अहिले यही खोला गाउँमा पसेको छ। विकास निर्माणका लागि आवश्यक भन्दै ठेकेदारले खोलाको धार नै परिवर्तन गरी गिट्टी बालुवा निकाल्दै आएका छन्।
यस्तै वडा नम्बर ६ स्थित ब्रह्मपुरा क्षेत्रमा पर्ने सिघिया खोलाको बाढी पनि बस्तीमै पसेको छ। यस खोलाको पनि धार परिवर्तन गराएर जग्गा दलालले पल्टीङ गरेका थिए। प्राकृति बहाव परिवर्तन गराएर बस्ती बसाए पनि हाल खोला पुरानै मार्गमा फर्केर बस्तीभित्र पसेको हो।
स्थानीय तहकै सक्रियतामा खोलाको प्राकृतिक बहाव परिवर्तन गराउँदै उत्खनन् र प्लटिङ गराउँदा प्रत्येक वर्ष वर्षातमा बाढी बस्तीभित्र पस्ने गरेको स्थानीय रामेश्वर थापाले बताए। ‘खोलाको र जमिनको सतह बराबर भएकैले बहाव बढ्नेबित्तिकै बाढी बस्तीसम्म आइपुग्छ’ उनले भने, ‘बर्सेनी बाढीले क्षति गरेको देख्दा देख्दै पनि उपमहानगर र प्रहरीले नियन्त्रणका लागि कुनै कदम चालेको देखिँदैन।’ केशलीया खोलामा २०५२ सालदेखि नै स्थानीय र सुनसरीका ठेकेदारहरुले खोलाको धार परिवर्तन गराएर अवैध उत्खनन् गर्दै आएका छन्।

ऐनअनुसार खोलाक्षेत्रको ५ सय मिटर दायाँ–बायाँ व्यक्तिगत जग्गामासमेत उत्खनन् गर्न पाइँदैन। तर ठेकेदारले खोलाक्षेत्र र जमिन नछट्टिने गरी उत्खनन् गरेका छन्। ठूला मेसिन प्रयोग गरी खोलाको सतहभन्दा १५ फिट गहिरोसम्म खनिएको पाइएको छ।
जिल्ला सवन्वय समितिका संयोजक नरेश पोखरेलले अवैध रुपमा खोलाबाट माटो उत्खनन् गरेकाले बाढी बस्तीमा पस्ने गरेको बताए। ‘वातावरणीय मूल्यांकनबीना नै नदीजन्य पदार्थ धमाधम उत्खनन् भइरहेका छन्, आवश्यक पर्दा प्रयोग गर्नुपर्छ। तर खोला र जमिनको सतह बराबर बनाउने गरी गिट्टी बालुवा झिकेपछि बाढी बस्तीसम्म पुग्यो’ उनले भने।
समन्वय समितिले खोलाको अवैध उत्खनन् रोक्न पत्राचार पनि गरेको छ। विराटनगर महानगरपालिका कार्यकारी अधिकृत एकदेव अधिकारी मापडण्ड विपरित खोलाको माटो उत्खन्न गरेकाले बाढी बस्तीमा पसेको स्वीकार्छन्। ‘यसपटक मापदण्ड निर्धारण गरेका छौँ’ उनले भने, ‘मापदण्ड विपरित खोला दोहन गरेको पाइमा कारबाही गर्छाैं।’
प्रतिक्रिया दिनुहोस !