बाढी प्रभावित क्षेत्रमा सर्प र लामखुट्टेको सास्ती
विराटनगर : पाँच दिन सम्म बाढीको चपेटामा परेर विस्थापित मोरङका बाढीपीडित घर फर्कदा सर्प र लामखुट्टेबाट प्रभावित बनेका छन्। अहिले बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टेको बिगविगी छ। विराटनगर महानगरपालिका भित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कन थाले पछि स्थानीय त्रसित छन्।
त्यस्तै लामखुट्टेको संख्या बढेकोले रोग फैलने संभावना बढेको विराटनगर १२ का स्थानिय सरेश रिसिदेव बताउँछन्। ‘बाढीको बेला घरमा पानी पसेको थियो, अहिले त भित्र पस्न समेत डर लाग्छ, दैनिक घरभित्र गोमन सर्प भेटिन्छ, टोकेर ज्यान लिन्छकी भन्ने त्रास फैलिएको छ,’ उनले भने।
सो वडामा अहिले बेलुका हुन साथ सडकमा विषालु सर्पहरु देखिने गरेको स्थानी बताउँछन्। सर्पबाट युवालाई भन्दा पनि बालबालिका र बृद्धबृद्धालाई जोगाउन मुस्किल भएको विराटनगर १२ सुकुम्बासी टोलका स्थानिय सुखमण्डी देविले बताईन्। सर्पसँगै लामुखट्टेको पनि संख्या बढेकाले सुत्न समेत नसकेको उनको भनाई छ। ‘पानी कम भए संगै दिनभरी खेतमा रोपाईँ गर्न जानु पर्ने बाध्यता छ, बेलुका आउँदा लामखुट्टेले सुत्न दिदैन,’ देविले भनिन्।
धेरै स्थानीयको बाढीले घरको टाटी बगाएकाले घर भित्र सर्पको र बाहीर लामखुट्टेका कारण बस्न सक्ने अवस्था नरहेको उनिहरु बताउँछन्। बाढी आए पछि लामखुट्टेको संख्या बढेकाले तत्काल किटनाशक झुल दिन उनीहरुले स्थानीयतह सँग माग गरेका छन्। स्थानीय राजु कामतले घरमा सर्प र लामखुट्टेको संख्या दैनिक बढेको बताए। ‘बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नु पर्ने आवश्यकता छ, स्थानीय सरकारले यस विषयमा चासो दिएकै छैन,’ उनले भने।
दिनभरी मजदुरी गर्ने सुकुम्बासी प्राय गर्मीको बेला सडक र बाहिर बस्ने गरेका छन्। उनिहरु सर्प र लामखुट्टेबाट अन्य स्थानीय भन्दा बढी पभावित छन्। विराटनगर स्थित कोशी अञ्चल अस्पतालका प्रमुख डाक्टर रोशन पोखरेलले बाढी प्रभाति क्षेत्रबाट अन्य रोगका बिरामी नआए पनि सर्पदंशका बिरामी बाढी आएको बताए। उनले दैनिक ३÷४ जना सर्पदंशका बिरामी आउने गरेको बताए।
विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले बाढीले डुवानमा परेका क्षेत्रहरुमा सरसफाई गरी सबै समस्या समाधान गर्ने महानगरले योजना बनाएर काम सुरु गरेको बताए। महानगरले पीडितको समस्याको पहचान गरेर समाधान गर्न कुनै कसर बाकी नराख्ने उनको भनाई छ। आवश्यकता अनुसारको सबै समस्याको समाधान तत्काल गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !