उपचार अभावमा बिरामीको मृत्यु

उपचार अभावमा बिरामीको मृत्यु

पाँचथर : ग्रामीण सडकमा गाडी गुड्न छाडेका कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा पाँचथरमा एक बिरामीको मृत्यु भएको छ। गाडी नचलेपछि झोलुङ्गोमा बोकेर उपचारमा लैजाने क्रममा तुम्बेवा गाउँपालिका २ पिप्लेटोलकी ५५ वर्षीय बुद्धमाया तामाङको बाटोमै मृत्यु भएको हो। 

‘गाडी नगुडेका कारण बुद्धमायालाई समयमै अस्पताल पुर्‍याउन ढिलो हुँदा बाटोमै मृत्यु भयो,’ स्थानीय प्रकाश अधिकारीले भने, ‘गाडी चलेको भए समयमै अस्पताल पुर्‍याउन सकिन्थ्यो।’ 

लिभरले काम गर्न छाडेपछि बुद्धमाया केही दिन अघिदेखि बिरामी परेकी थिइन्। उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा धनकुटाको भैंसे भन्ने स्थानमा पुर्‍याएपछि शनिबार उनको मृत्यु भएको हो। 

तुम्बेवाका मानिस बिरामी पर्दा तमोर करिडोरको बाटो भएर उपचारका लागि धरान झर्ने गरेका छन्। अबिरल बर्षापछि १२ दिनदेखि उक्त सडकमा गाडी नगुडेकाले बिरामीलाई अस्पतालसम्म पुर्‍याउन ढिलो भएको बुद्धमायाका श्रीमान रत्नबहादुर तामाङले बताए।

‘वर्षा रोकिन्छ र गाडी चल्छ भन्ने लागेको थियो,’ तामाङले भने ‘गाडी नचल्दा श्रीमतीलाई बोकेर अस्पताल लैजानुपर्ने भयो। अस्पताल पुर्‍याउन ढिलो भएकाले श्रीमतीलाई गुमाउनुपर्‍यो।’

तुम्बेवाका मानिस धनकुटाको मुलघाट हुँदै उपचारका लागि धरान जाने गरेका छन्। अहिले वर्षातका कारण सडक बिग्रिएकाले मुलघाटसम्म मात्र गाडी चल्दै छ। मुलघाटसम्म पुग्न तुम्बेवाबाट छ घण्टा पैदल हिड्नुपर्छ। बिरामी बोकेर लैजादा अझै ढिलो भएकाले बुद्धमायाको मृत्यु भएको अधिकारीले बताए। 

उक्त क्षेत्रमा करिब दुई हप्तादेखि यातायात ठप्प भएको स्थानीय बताउँछन्। ‘गाउँमा कोही बिरामी भयो भने उपचारमा लान समस्या छ,’ एक स्थानीयले भने ‘यहाँका मान्छे अस्पताल पुग्न ढिलो भएरै मर्नुपर्ने स्थिति छ।’

तमोर करिडोको काम भर्खरै हुन थालेकाले सडक भरपर्दो नभएको स्थानीयको भनाइ छ। सामान्य पानी पर्दा पनि सडक भत्किने र हिलो हुने भएकाले गाडी गुड्न कठिन हुने भएको हो। पाँचथरको सबैभन्दा ग्रामीण क्षेत्रमा तुम्बेवा गाँउपालिका पर्छ। यहाँबाट सदरमुकाम फिदिम आउन भन्दा धनकुटा र धरान जान सहज हुने गरेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.