साउन, महिला र प्रेम

साउन, महिला र प्रेम

प्रत्येक वर्ष साउन महिना सुरु हुनुअगावै बजारमा हरिया र पहेंला पोते, चुरा, सिउँदोमा सिन्दूर, निधारमा टीका र साउन लाग्नासाथ हत्केलामा मेहेन्दी लगाउने रन्को र सबै महिलाले अरू समयमा नलगाए पनि साउनमा लगाउने प्रचलन देखासिखीमै सीमित भएको सहज अनुमान गर्न सकिन्छ।

अवश्य पनि पौराणिक प्रचलन र संस्कार हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाएको प्रसंग जोडिएर आउँछ। यसले पति– पत्नीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्छ, तर भगवान् शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारी सबै पक्षलाई बिर्सेर केवल शृंगार र शारीरिक सौन्दर्यमा ध्यान दिएर मात्र, पतिका लागि प्रेम दर्शाएको भन्दा व्यावहारिक नहोला।

आज व्यक्ति, समाज, राष्ट्र र संसारमै जुन अस्थिरता, बेचैनी, अराजकता र अपूर्णताको महसुस हुन्छ, त्यसको मुक्तिका लागि ध्यान गर्नु र मानसिक शान्ति एवं प्रसन्नतालाई बढाउनुको विकल्प छैन। बेचैनी, अराजक र तनावपूर्ण गरिएका कुनै पनि कर्मले व्यक्तिको जीवनमा आनन्द प्राप्त हुँदैन र राष्ट्रमा समृद्धि पनि आउँदैन।

शान्ति, प्रसन्नता, आनन्द र सफलताको राज ध्यान नै हो। भगवान् शिवले देवी पार्वतीलाई १०८ ध्यान विधिद्वारा साधना गराई जीवनको सार्थकता बताउनुको रहस्य पनि त्यही थियो। हामी भने महŒवपूर्ण पक्ष छोडेर बाहिरी शृंगार र व्रतमा मात्र जोड दिइरहेका हुन्छौं। शृंगार महिलाको बाहिरी आकर्षण हो, तर जति बाहिर हामी आकर्षित देखिन प्रयास गर्दछौं, त्यति नै भित्रबाट मन पनि सफा, पवित्र र प्रफुल्ल हुन जरुरी छ।

हामीले प्रेम, सद्भाव, कल्याणकारी र सत्यम्, शिवम्, सुन्दरम् जस्ता भावलाई आफ्ना कर्म र आचरणमा जोड्न बिर्सेका छौं। त्यसैले त जति व्रत बसे पनि, जति शृंगारले सजिए पनि हाम्रोभित्र अशान्ति, बेचैनी र अपूर्णता नै बाँकी छ। पति– पत्नी या प्रेमीप्रेमिकाबीच कटुता बाँकी नै रहन्छ। ध्यानको अभ्यासद्वारा भित्रका विकार नहटाउँदासम्म जीवनमा प्रेम, सहजता र पूर्णता मिल्दै मिल्दैन। किनकि सांसारिक सम्पन्नता पूर्णताको परिचायक होइन।

हाँसोउठ्दो कुरा त के छ भने समाजमा हामी महिला नारीवादका कुरा गर्छौं, अर्कोतिर नारीले नगरे पुरुषले पाउँदैन भन्ने मान्यता पनि राख्छौं। हो, प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। यसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्दछन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। हाम्रै सोच, विचार र उक्तिमा विरोधाभास खडा गर्ने काम भइरहेको छ।

समाज या घरमा, घरेलु हिंसा बढून् या बलात्कारका घटना, या अन्य कुनै सामाजिक कुरीति, विकृति र अराजकता हुन् आवाज उठ्छ– पितृसत्तात्मक सोच हावी भएका कारण यी सब अराजकता भइरहेका छन्। अर्कोतिर फेरि नारी शक्तिको उपासना यही समाजले गर्ने गरेको छ। देवी, पार्वतीले नदिए शक्ति प्राप्त हुँदैन भने लक्ष्मीले नदिए धन प्राप्त हुँदैन। पतिले व्रत नबसे पनि पत्नीको आयु नघट्ने तर पत्नीले व्रत नबसे पतिको आयु घट्छ हाम्रो समाजमा। पतिको व्यापार व्यवसाय, नोकरीमा पदोन्नति, सफलता सबैमा महिलाको हात हुन्छ।

महिलाले गर्ने पूजाआजा, व्रत, ग्रहदशा, शान्ति आदि कर्मले नै पुरुषको भाग्य या अभाग्य निर्धारण हुन्छ भने समाज कसरी, कुन आधारमा पुरुषप्रधान भएको मान्ने ? खेतमा धान नफले पनि कृषिप्रधान देशको मान्यता हटेको छैन भने घरमा दाल नगले पनि पुरुषप्रधान भन्ने मान्यता छुटेको छैन। पति भान्छामा पसेर दाल गलाउँदा धन्यवादको सट्टा यसो भएन र त्यसो भएन, फोहोर भयो भनेर निरुत्साहित गर्ने गृहलक्ष्मीको संख्या कति होला ? हाम्रा आवाज र गुनासा आफैंमा विरोधाभासपूर्ण छन्। गहिराइबाट, व्यावहारिक पक्षबाट नहेरी सतहमा हामी कुर्लिने गर्दछौं। के यथार्थ हो र के मान्यता हुन् छुट्ट्याएका हुँदैनौं।

महिलालाई निम्नकोटीमा राख्ने र कमजोर मान्ने घर र समाजलाई प्रमाणले होइन, व्यवहारले परिवर्तन गरेर देखाउन जरुरी छ।

भावना मानिसको अन्तस्करणबाट प्रस्फुटन हुने गुण हो। यसलाई महिला र पुरुष भनी लैंगिक आधारमा अलग गर्न खोज्नु अर्थपूर्ण छैन। गल्ती, अन्याय, अराजकता महिला या पुरुष जसले गरे पनि त्यो मानसिक समस्या र मानसिक अस्थिरताबाट उत्पन्न हुने कुरा हुन्। भावनात्मक रूपमा मानिस हृदय उस्तै हुन्छ महिला र पुरुष दुवैको। महिलाले पुरुषलाई पनि मानवीयता, भावनात्मकता, प्रेम र सौहार्दताबाट बराबर अस्तित्वले सृजित अस्तित्वको सुन्दर सृष्टि हो भनेर हेर्ने बोध नहुँदासम्म समाजमा महिला र पुरुषबीचको खाडल बनी नै रहन्छ।

आफ्नै पतिलाई राजा र छोरालाई राजकुमार बराबर मानेर सम्बोधन गर्नेले नै समाज पुरुषप्रधान भयो भन्दै आवाज उठाउने गरेको पाइन्छ। आफ्नो छोरा र पतिलाई राजकुमार, राजाबराबर मान्नुको अर्थ हो– प्रेमको दृष्टिले आफ्ना मान्छेलाई उच्च तहमा राख्नू। अर्कोतिर त्यही घरकी छोरीलाई अनेक संस्कार सिकाइन्छ— घरबाट एक्लै बाहिर ननिस्कनु, साँझ नपर्दै घर आउनु, केटा साथीसँग नजिकिएर नबोल्नु, छोटो लुगा नलगाउनु, छोरी भएका कारण घरको काम सबै सिक्नु, पाहुना र आफन्त आउँदा झुकेर नमस्कार गर्नु आदि।

नजानिँदो तरिकाले लैंगिक विभेदका संस्कार र शिक्षा घरैबाट सुरु भएका हुन्छन्। छोरीलाई छोरासरह हिम्मतवर बनाउने शिक्षा घरबाटै सुरु हुनुपर्छ। घरबाटै फरक दृष्टिले हेरिनुको कारण हो– परम्परा तोड्न सजिलो छैन। परिवर्तन सजिलै आउँदैन, जति हामी भाषण र कागजमा कुर्लिने गर्छौं। नारीवाद र पुरुषवाद भनेर महिला नै आफूलाई फरक कोटीमा राख्न चाहन्छन्। कुनै पुरुषले महिलावादको पराकाष्ठा भनेर समाचार बाहिर ल्याएको पाइन्न, तर समाजमा जे घटना भए पनि पुरुषवाद भनेर चित्रण गरिहाल्ने प्रवृत्तिले महिलाले आफ्नो अस्तित्वलाई सधैं पुरुषसँग तुलना गरेर हेरेको पाइन्छ।

पति– पत्नीका बीचमा, समानता, सौहार्दता, आत्मीयता, सहयोग र प्रेमपूर्ण वातावरणमा जीवन बिताएका कथा समाचारमा आउँदैनन्। जुन घरमा सौहार्दता, प्रेम र श्रद्धा छैन, कलह र दुस्मनी मात्र छ, अंश र वंशमा मुद्दा परेको हुन्छ तिनै कथा समाचार बनेर आउँछन् अनि सिंगो समाजलाई पुरुषप्रधानको ज्यादती भनेर चित्रण गरिएको हुन्छ। कलह र दुस्मनी लैंगिक विभेदको कारणले हुने होइन, संस्कार अभाव, प्रेम अभाव र बाहिरी घटनाका प्रभावबाट हुने गर्छन्। यसमा महिला र पुरुष कसैको पनि दोष छैन। दोष छ त मान्यता, संस्कार र मनस्थितिमा। दृष्टि बदल्न सके मात्र सृष्टि बदलिन्छ। मनस्थितिमा सधैं विभेद देख्न थालेपछि परिस्थितिमा पनि विभेद आउनु स्वाभाविक हो।

परिवारको प्रेममा प्रमाण हुँदैन। प्रमाण त अदालतमा मात्र काम लाग्छ किनकि प्रमाणले त आवेशलाई बढाउन मात्रै मद्दत गर्छ। वास्तवमै सकारात्मक परिवर्तन चाहने हो भने परिस्थिति र घटना सच्याउनतिर होइन, आफ्नो कथा सच्याउनतिर लाग्नुपर्छ। आफ्नो कथा कसरी लेख्ने त्यो स्वयंमा निर्भर गर्छ। एक हुल जन्ती लिएर बेहुली लिन जाने समाजमा बेहुली एक्लै बेहुलाको घर प्रवेश गर्छिन् भने कसरी महिला कमजोर भए ? महिलालाई निम्नकोटीमा राख्ने र कमजोर मान्ने घर र समाजलाई प्रमाणले होइन, व्यवहारले परिवर्तन गरेर देखाउन जरुरी छ। शृंगार र व्रतले मात्र पुग्दैन, भावनात्मक सहयोग र प्रेमले रूपान्तरण गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.