घ्याम्पेसालमा गुमनाम लालबहादुर
गोरखा :
साहुले धान आसामी लाउँदैन, आफूखुसी ब्याज खान पाउँदैन।
२०२८ सालको कुरा हो, तत्कालीन राजा महेन्द्रले भूमिसुधार योजना लागू गर्ने तयारी गर्दै थिए। उनको आदेश भुइँमा झर्न नपाउँदै लालबहादुर गन्धर्वले यो गीत गाए। उनको अद्भुत प्रतिभा देखेर राजा महेन्द्र प्रसन्न भए। आफूले सही प्रतिभा छानेर राजालाई भेट्टाएकोमा जनकविकेशरी धर्मराज थापा पनि गद्गद् भए।
यस्तैयस्तै संस्मरणका धनी लालबहादुर अहिले गोरखाको भीमसेन थापा गाउँपालिका— १, घ्याम्पेसालमा गुमनाम छन्।
कलाप्रेमी राजा महेन्द्रले २०२२ सालमा देशभरका गन्धर्वलाई भेला गर्न रेडियो नेपाललाई आदेश दिएका थिए। आदेशानुसार जिल्लाका प्रहरी गन्धर्व खोज्न घरदैलो गरे। गोरखाबाट पनि पाँचजना भेलामा सहभागी हुन पुगेका थिए। असारको महिना थियो, लुरे र रामबहादुर गन्धर्व पालुङटारबाट जहाज चढेर गए। वीरबहादुर, गर्भे र लालबहादुर गन्धर्व तीन दिन पैदल हिँडेर काठमाडौं पुगे। त्यस दिन सोह्रखुट्टे पाटीमा बास बसे। भोलिपल्ट सोध्दै र खोज्दै उनीहरू रेडियो नेपाल पुगे। राष्ट्रिय नाचघरमा गन्धर्व सम्मेलन भयो।
लालबहादुरका अनुसार पोखराका २६ जना, भोजपुरका चारजना र गोरखाका गरी ३५ जना भेला भएका थिए। उनले त्यतिबेला ‘घर त मेरो पहरे लामागाम, ज्यानको सलाम पुर्याउन कहिले आम, खरबारीको छेऊ, याक चुरोट तिमी खाऊ गैंडा मलाई देऊ’ भन्ने गीत गाएका थिए।
त्यतिबेला उनीहरूले बजाएको सारंगीलाई राजा महेन्द्रले ‘राष्ट्रिय सारंगी’ भन्नू भनेका थिए। सम्मेलनमा सहभागी भएका पाँचजनामध्ये अहिले उनी मात्र बाँकी छन्। उत्कृष्ट भएकाले उनले रेडियो नेपालमा तीन सय रुपैयाँ तलब पाउने गरी जागिर पनि पाए। तलब चित्त नबुझेपछि पाँच वर्षपछि उनी त्यहाँबाट बाहिरिए। प्रज्ञा प्रतिष्ठानमा पनि केही समय जागिरे भए तर टिकेनन्।
उनी आफैं पनि ‘बाबुको एक्लो छोरो भएर पुल्पुलिएर कहीँ पनि नटिकेको’ स्वीकार गर्छन्। धेरै अवसर छोडेर गोरखा फर्किएको र गोरखाको दुईतले घर छोडेर घ्याम्पेसालकै एउटा कुनामा हराएकोमा उनलाई पनि प्रशस्तै पछुतो छ।
राजा महेन्द्रको मनपर्ने कलाकार, रेडियो नेपालका कलाकार भनेपछि उनको संगत पनि ठूला मान्छेसँग भयो। उनी पृथ्वीनारायण शाहको कर्खा, नब्बे सालको भुइँचालोको कर्खा, डाँफे र मुरलीको कर्खा पनि गाउँथे। तेञ्जिङ शेर्पाको कर्खा, राष्ट्रिय झण्डाको कर्खा, कुमालको कर्खा, अल्छीको कर्खा गाउने भनेपछि उनलाई सबैले मन पराए। ‘कर्खा गाउने भनेर माधवप्रसाद घिमिरेले धेरै माया गर्नुहुन्थ्यो, धर्मराज थापाले छानेर रेडियो नेपालमा राखेकाले उनी पनि साथी नै भइहाले। रोमबहादुर थापा आईजीपी साथी थिए। झलकमान बहिनीज्वाईं भए’, उनले भने, ‘नारायण दल गणका गणपति बोजेन्द्रबहादुर रायमाझीले गणमा भर्ती गरिदिए। त्यहाँ पनि दुई वर्ष मात्र काम गरेँ। लमजुङ घर भएका आर्मीका सुबेदारले सामाखुसीमा एक रोपनी जग्गा दिन्छु यहीँ बस भनेका थिए। त्यहाँ पनि बसिएन। गोरखा बजारको दुईतले घर पनि छोडेर घ्याम्पेसालमा आएर बसेँ। पुर्खाले गरिआएको पेसा गरिआएको छु।’ सारंगी बजाएर दुईचार पैसाको जोहो गरिहिँड्ने लालबहादुरलाई भेट्न थाहा पाउनेहरू बेलाबेला घ्याम्पेसाल पुग्छन्। तीनैमध्येका पोखराका अमृत गुरुङलाई सम्झेर उनी खुसी व्यक्त गर्छन्।
जापानी सहयोगमा कसैले उनको गीत रेकर्डिङ गर्यो। रायमाझीको रेकर्डिङ स्टुडियोमा दुई हजार थान एल्बम निकालेको पनि उनलाई राम्रै थाहा छ। तर उनलाई एक थान मात्र दिएर अरू कसले लग्यो चाहिँ उनलाई थाहा छैन।
उनले नौ वर्षदेखि सारंगी बजाउने पेसा सुरु गरेका हुन्। ‘राम्रो सारंगी बजाउन जान्यो भने यत्तिकोले छोरी पाल्न सक्छ भनेर कुटुम्बले छोरी दिइहाल्थे’, उनी भन्छन्, ‘कर्खा गाउने, माछा मार्ने यस्तै हो, हाम्रो पेसा।’ बिहेअघि केटी माग्न गाउने गीत, बेहुली अन्माउने गीत गाएर पैसा कमाए। पुख्र्यौली पेसा गरेर उनले नौ भाइ छोरा हुर्काए पढाए। उनीहरूमध्ये पाँचजना अहिले सरकारी सेवामा स्थायी नोकरी गर्छन्।
अहिले उनका कुनै सन्तानले पनि ‘राष्ट्रिय सारंगी’ बजाउँदैनन्। ७५ वर्षको बूढो ज्यानको रेखदेख अर्धांगिनी गाजालीले गर्छिन्। उच्च रक्तचाप, मधुमेह रोगका सिकार भइसकेकाले उनलाई पुराना याद जति धेरै भविष्यको माया छैन। ‘पुराना गीत मसँग जति कसैसँग पनि छैन। बूढो भइयो, स्वर पनि गयो, सारंगी बजाउन थाल्यो भने ज्यान काम्छ’, उनी भन्छन्, ‘हामी त डाँडाको जून भइहालियो। मैले जाने जति गीत छोराले सिकेनन्। मेरा पुराना गीत, सबै कर्खाहरू रेकर्ड गराएर राख्ने मन छ। तर सक्दिनँ।’