नेपाल–चीन हवाई सेवा सम्झौता : चिनियाँ विमानस्थलमा खुला उडान प्रमुख एजेन्डा

काठमाडौं : नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरवलोकन गर्न नेपाली प्रतिनिधिमण्डल मंगलबार चीन प्रस्थान गर्दै छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनियाँ पक्षसँग छलफल गरी पुनरवलोकनका लागि निष्कर्ष निकाल्नेछ।
वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनियाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिए। उनका अनुसार नेपाल र चीनबीच सन् २०१४ मा भएको भएको सम्झौतालाई पुनरवलोकन गर्न लागिएको हो। यो सम्झौता चौथोपटक पुनरवलोकन गर्न लागिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
आचार्यको संयोजकत्वमा चीन जाने टोलीमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र कानुन मन्त्रालयका उपसचिव अरुणा जोशी छन्। यसैगरी टोलीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक गोपालचन्द्र थापा, नेपाल वायुसेवा निगमका प्रतिनिधि कृष्णगोपाल जोशी र हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इनयोङस पनि सहभागी छन्। दुई दिनसम्म हुने उक्त वार्ता नेपालले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र नेपालबाट चीनमा उडान विस्तार गर्दै गरेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलान्सको हितमा हुनेछ। नेपाली वायुसेवाले चीनमा उडान अनुमति नै नपाएका र चिनियाँ आधादर्जन वायुसेवाले भने सातामा ७० वटासम्को उडान गर्दै आएका छन्।
चिनियाँ वायुसेवाले नेपालमा थप उडान गर्न चाहेको र निर्माणाधीन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अनुमति माग गरेका छन्। यी दुई विमानस्थल सञ्चालनपश्चात चीनबाट सीधा उडान गर्न चीन इच्छुक छ। नेपालका वायुसेवाले चीनका विभिन्न सातवटा विमानस्थलमा उडान गर्न पाउने गरी यसअघि सहमति भएको थियो। चीनमा नेपाल वायुुसेवाले उडान गर्न प्रक्रियागत जटिलता रहेकाले यसलाई सहजीकरण गर्ने वार्ताको प्रमुख एजेन्डा हो।
नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ र बेइजिङमा उडान अनुमति मागेको भए पनि अझै यसको टुंगो लागेको छैन। निगमले लामो प्रयासपछि अब ग्वान्जाओ पाउने प्रक्रियामा छ। नेपाली वायुसेवालाई उडान अनुमति सहजीकरणको व्यवस्था गर्न तथा चिनियाँ सबै विमानस्थलमा नेपाली वायुसेवाले उडान अनुमति जतिबेला पनि लिन सक्ने गरी एएसए पुनरवलोकन गर्ने एजेन्डामा नेपाली पक्ष रहेको छ।
यो समस्या समाधानले दुवै देशले मागेकै विमानस्थलमा उडान अनुमति पाउने र जुनसुकै विमानस्थलमा पनि उडान गर्न सहजै पाउने गरी सम्झौता हुने जानकारी आचार्यले दिए। उनका अनुसार मानसरोवर दर्शनमा सहजीकरण गर्ने तथा आकासबाटै पर्वतीय उडान गर्ने एजेन्डालाइ पनि नेपालले उठाउने भएको छ। नेपालले यस अघि नै यो विषयमा छलफल गर्न चाहेको भए पनि मानसरोवर नजिकै चीनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले सहमति हुन सकेको थिए। अहिले यो विमानस्थल निर्माण भइसकेको र विदेशी हवाई यात्रु तथा दर्शनार्थीलाई हेलिकप्टर तथा हवाई जहाजबाटै दृश्यावलोकन गराउने प्रस्ताव नेपालले अगाडि सारेको छ।
राष्ट्रिष्य ध्वजाबाहकका एयर ट्राफिक कन्ट्रोलरको क्षमता अभिवृद्धि र तालिमको प्रस्ताव पनि नेपाली पक्षबाट पेस हुनेछ। नेपाली वायुसेवालाई चीनले आवश्यक तालिम नदिएको र चीनबाटै आएको जहाज उडानमा समस्या भएको विषयलाई पनि नेपाली पक्षले गम्भीरताका साथ उठान गर्नेछ।
नेपालले हाल चीनका बेइजिङ, ग्वान्झाओ, ल्हासा, सांघाई, कुनमिङ, छेन्दु र सियान गरी सात सहरका विमानस्थलमा मात्रै उडान गर्न सक्ने गरी सम्झौता भएको छ। चीनले भने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने उल्लेख छ। चीनले उडान संख्या बढाउन खोजेको, नयाँ विमानस्थलमा उडान गर्न चाहेको छ। नेपाली पक्षका वायुसेवाले पनि चीनका नाफामूलक र चाहेकै विमानस्थल उडान अनुमति मागेकाले सम्झौता नवीकरण गर्न लागिएको आचार्य बताउँछन्।
पाँच वर्ष अगाडि चीनसँग भएको एएसए पुनरवलोकनमा दुवै देशले सातामा समान उडान गर्ने गरी ५६ उडानको सम्झौता भएको थियो। सम्झौतामा एक वर्षभित्रै उक्त उडानलाई बढाएर ७० वटा पुर्याउन सक्ने व्यवस्था थियो। उक्त उडान नेपालका लागि पर्याप्त छ। उडान संख्याभन्दा पनि गन्तव्य चाहिएकाले नेपालकै पहलमा द्विपक्षीय वार्ताबाट फेरि एएसए पुनरवलोकन गर्न लागिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
हाल चीनबाट पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्। चीनबाट एयर चाइनाले सातामा १२७ र २८१ सिट क्षमताका जहाजबाट १० वटा र चाइना इस्टर्नले १३२ सिट क्षमताको जहाजबाट १४ वटा उडान गर्छ। यस्तै, चाइना साउदर्नले १२० सिटदेखि २८६ सिट क्षमतासम्मका विभिन्न सात प्रकारका जहाजबाट सातामा १४ उडान गर्ने गरेको छ। सिचुवान एयरलाइन्सले १३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १२८ सिट क्षमताको जहाजबाट सातामा दुईवटा उडान गर्छ। चीनसँगको यो सम्झौता पुनरवलोकपछि नेपाली वायुसेवालाई चीन उडान सहज हुनेछ। चीनबाट हाल वार्षिक डेढ लाख पर्यटक नेपाल भित्रिइरहेका छन्। सन् २०१८ मा नेपालमा अघिल्लो वर्ष सन् २०१७ को तुलनामा ४६ प्रतिशतले पर्यटक आगमन बढेको थियो।
प्रतिक्रिया दिनुहोस !
