नेपाल भाषामा एकै पटक ६० बालपुस्तक
![नेपाल भाषामा एकै पटक ६० बालपुस्तक](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-Bhasa-workshop-1_20190725031457_EGF37UBr7t.jpg)
काठमाडौं : संविधानमा नेपालका सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिइए पनि नेपालीबाहेक अन्य भाषाको विकासमा सरकारी चासो देखा पर्न सकेको छैन। यस्तो मेसोमा नेपाल भाषामा ६० बालपुस्तक एकै पटक तयार भएको छ।
द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ परियोजनाअन्तर्गत यी बालपुस्तक तयार भएका हुन्। तीमध्ये ४८ वटा बालपुस्तक सम्पादनसमेत भई ‘डिजिटल लाइब्रेरी’मा अपलोड भएको छ। बाँकी एक दर्जन बालपुस्तक एक सातामै अपलोड गरिने भएको छ। दुर्गालाल श्रेष्ठका बालगीतका ६ वटा पुस्तक भने नेपाल, नेपाली र अंग्रेजी भाषामा प्रकाशित समेत भइसकेका छन्।
हालै गरिएको अनुवाद कार्यशालामा पुस्तक विभिन्न भाषाबाट नेपाल भाषामा अनुवाद भएका हुन्। अनुवाद कार्यशालाको उद्घाटन सत्रमा कवि दुर्गालाल श्रेष्ठले ‘डिजिटल लाइब्रेरी’ अभियानको लागि छापिएको पुस्तकमा रञ्जना लिपिसमेतको प्रयोगले आफू निकै हर्षित भएको बताए। बालसाहित्यमा निरन्तर कलम चलाइरहेका विनय कसजूले समाज अघि बढाउनु छ भने बालबालिकाका लागि सिर्जनात्मक काम गर्नुपर्छ भन्ने विचार राखे। राष्ट्रिय पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले भौतिक रूपले सबै स्थानमा पुस्तकालय खोल्न सम्भव नभएकाले द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ जस्तै अन्य निकायले पनि यसमा काम गर्नुपर्ने बताए।
द एसिया फाउन्डेसनले ‘डिजिटल लाइब्रेरी’ को एप २०१७ सेप्टेम्बरबाट ल्याएको हो। बुक फर एसियाकी प्रबन्धक समिरा राजभण्डारी श्रेष्ठका अनुसार ‘लेट्स रिड’ नामक एप डाउनलोड गरेपछि यसमा अफ लाइनमा पनि भिजिट गर्न सकिन्छ। ‘डिजिटल लाइब्रेरी’मा हाल करिब दुई हजार पुस्तक छन्। जसमा दुई सयभन्दा बढी नेपाली पुस्तक छन्।
डिजिटल लाइब्रेरीमा प्रायः अंगे्रजी भाषाका बालपुस्तक छन्। भाषामा ज्ञान हुनेहरूको लागि भने यसमा एसियाका लाओस, थाइल्यान्ड, भियतनामलगायत देशका २० भाषाका पुस्तक उपलब्ध छन्। इन्टरनेट राम्रो नभएको हिमाली जिल्लाका शिक्षकहरूले डाउनलोड गरी प्रिन्ट गरेर पनि यी पुस्तक प्रयोग गर्ने सुविधा दिइएको छ।
थारू भाषामा पनि बालपुस्तक
यसैगरी द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ परियोजनाअन्तर्गत थारू भाषामा बालपुस्तक प्रकाशन गर्न लेखकहरूका लागि गरिएको तीनदिने सहजीकरण गोष्ठी बुधबार सम्पन्न भएको छ। गोष्ठीमा सहभागी लेखिका शान्ति चौधरीले भनिन्, ‘देशको चौथो ठूलो भाषा थारूमा अझै पनि नगन्य बालपुस्तक छन्। यस गोष्ठीले धेरै थारू बालपुस्तक उत्पादन हुने आशावादी छु।’ हाललाई ६ वटा थारू भाषामा बालपुस्तक तयार हुने र त्यसको नेपाली र अंग्रेजी संस्करणसमेत प्रकाशन गरिनेछ। सहजीकरण गोष्ठीमा बालचित्र तयार गर्ने चित्रकारहरूको पनि उपस्थिति रहेको थियो। साथै, नेपाल भाषाजस्तै थारू भाषामा पनि धेरैभन्दा धेरै बालपुस्तक अनुवाद गरी डिजिटल लाइब्रेरीमा समावेश गरिने बुक फर एसियाकी प्रबन्धक समिराले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)