सिँचाइ नहुँदा रोपाइँ ठप्प

सिँचाइ नहुँदा रोपाइँ ठप्प

चितवन : लगातारको वर्षातले देशभरको जनजीवन प्रभावित भइरहेका बेला पश्चिम चितवनमा भने सिँचाइको अभावमा रोपाइँ हुन सकेको छैन। आकासबाट परेको पानीले केही भागमा रोपाइँ गरे पनि अधिकांश भाग बाँझै रहेको हो।

बाढीले असर गर्दा त्यस क्षेत्रका नहर सुख्खा भएको छ। खगेरी खोलाको पानीबाट सिँचाइ गरिँदै आएकोमा यस वर्ष खगेरी खोलामा मूल नफुटेपछि खेत रोप्न नपाएको गुञ्जनगरकी कृषक हरिकला सुवेदीले बताइन्। ‘सबैतिर बाढीले असर गरेको समाचार सुनिन्छ, तर हाम्रोमा रोपाइँ गर्ने पानी छैन’, उनले दुखेसो पोखिन्, ‘छेउमा नारायणी बगेको छ हाम्रो खेत बाँझै छ।’

जिल्लामा दुई ठूला सिँचाइ आयोजना भए पनि त्यसले किसानको खेतमा पानी पुर्‍याउन सकेको छैन। खगेरी सिँचाइ जल उपभोक्ता संस्था र नारायणी लिफ्टको माध्यमबाट पश्चिम चितवनअन्तर्गत भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रमा सिँचाइ गरिन्छ। यी दुवै सिँचाइ आयोजनालाई व्यवस्थित बनाउन नसक्दा झण्डै १० हजार हेक्टर खेतमा समयमा रोपाइँ नहुने गरेको खगेरीका अध्यक्ष बेलबहादुर गुरुङले बताए। खगेरीको पानीले पश्चिम चितवनको मंगलवपुर, शारदानगर, गुञ्जनगर, पार्वतीपुरमा रोपाइँ गरिन्छ। खगेरीमा पर्याप्त पानी नभएपछि कतिपयले मोटरले पानी तानेर रोपाइँ गरेको गुरुङले बताए। पूर्वी चितवनमा पदमपुर बस्ती स्थानान्तरण गरेपछि त्यसको असर परेको उनको भनाइ छ।

नारायणीमा पर्याप्त पानी भए पनि पश्चिम चितवनमा पुर्‍याउन सकिएको छैन। शिवनगरको राधापुरमा नारायणी लिफ्टको पानी खगेरी नहरमा मिसाउन मिल्ने व्यवस्था गरिएको छ। नारायणी लिफ्टको नयाँ मेसिन राख्न तयार गरिएको बृहत् योजना समेत अलपत्र छ।

२०७२ सालमा तत्कालीन सिँचाइमन्त्री एनपी साउदको पालामा पम्प फेर्ने योजना पारित भएको थियो। तर, सरकारले स्वीकृत गरेको करिब ८५ करोडको योजनाको टेण्डर हुन सकेको छैन। आयोजनालाई प्रदेशअन्तर्गत राखेपछि काम हुन नसकेको हो। अहिले उक्त योजनालाई पुनः केन्द्र सरकारमार्फत राखिएको छ। यहाँ ३५ वर्ष पुरानो मेसिनले पानी तान्ने गरेको छ।

नारायणी नदीको पानीलाई लिफ्ट माध्यमबाट पानी तानेर सिँचाइ गरिन्छ। नारायणी लिफ्टको पानी खगेरी नहरमा मिसाउन सके धान उत्पादनको क्षेत्र बढ्ने नारायणी लिफ्टका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताए। ‘जति नै महँगो भए पनि यसलाई बनाउन सके वार्षिक २० करोडको धान उब्जाउ हुन्छ’, उनले भने, ‘अर्को बैकल्पिक स्रोत नभएसम्म नारायणी लिफ्ट अनिवार्य सञ्चालन गर्नुपर्छ।’ नारायाणी लिफ्टअन्तर्गतको नहरलाई ९ क्युसेक पानी अट्ने क्षमताको बनाइएको छ।

सिँचाइ अभावले गुञ्जनगरको शशिनगर, नयाँ बस्ती, शुक्रनगर, दिब्यनगरलगायत प्रभावित भएको छ। पानी आउन छोडेपछि कतिपय स्थानमा नहर पुरेर बाटो समेत बनाइको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.