ग्रामीण सडक ठप्प
गुल्मी : सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्ने मदाने गाउँपालिकाको पुर्कोटदह–बाझकेटरी–अर्खावाङ ग्रामीण सडक दुईसातादेखि अवरुद्ध भएको छ। भेडिखोर नजिकै पहिरो गएपछि सडक बन्द भएको हो। सडक सञ्चालनमा नआएपछि अर्खावाङ हुँदै बुटवल छुट्ने बस चल्न सकेका छैनन्। यस क्षेत्रमा पर्ने बाझकटेरी, पुर्कोटदह, भेडिखोर, सिर्सेनी, अर्खावाङसहित छिमेकी जिल्ला प्यूठानका सौतामारे र अर्घाखाँची रागामारेलगायत यात्रुलाई समस्या भएको छ। सडक अवरुद्ध भएको लामो समय हुँदासमेत स्थानीय सरकारले सञ्चालनमा चासो देखाएको छैन।
मोटरसाइकल समेत सञ्चालन हुन सकेका छैनन्। अर्खावाङ हुँदै अर्घाखाँची, प्यूठान पुग्ने जिप सिर्सेनी द्धानेटा साँघुरो सडक हुँदै घुमेर पुर्कोटद पुग्ने गरेका छन्। ‘सुपादेउराली जाने यात्रु धेरै हुन्छन्’,मालिका गाउँपालिका ४ अर्खावाङ गुल्मीका जिप चालक धनबहादुर घर्तिले भने,‘बाटो रोकिँदा धेरै दुःख पाइयो।’ स्थानीय नेपाने खोलामा सडक रोकिएको उनले बताए। दुर्गम क्षेत्रका स्थानीयले बर्खाभरि धेरै सास्ती खेप्ने गरेको उनको भनाइ छ।
सिर्सेनीमा रहेको अरविन्द आ श्रममा पुग्ने पर्यटकलाई सास्ती भइरहेको आ श्रम व्यवस्थापक रामप्रसाद घिमिरेले बताए। उनका अनुसार सडक रोकिएपछि पर्यटक देउराली हुँदै घुमेर आ श्रममा आउने गरेका छन्। रोकिएको सडक सञ्चालनमा स्थानीय सरकारले तत्कालै चासो देखाउनुपर्ने उनको सुझाव छ।
अविरलको वर्षासँगै दिनहुँ परिरहेको पानीले जिल्लाका धेरैजसो ग्रामीण सडक ठप्प छन्। सदरमुकामसहित प्रमुख बजार केन्द्रबाट गाउँमा पुग्ने यात्रुलाई सकस छ। लाखौं खर्चेर हिउँदमा खनिएका सडक बर्खाभरि अवरुद्ध हुने गरेको यातायात व्यवसायी बताउँछन्। एउटै सडकमा पटक–पटक लगानी हुँदासमेत त्यसले स्थानीयको जीवनयापनमा सहजता ल्याउन सकेका छैनन्। बर्खा लाग्दा गौमुखी गाउँपालिकामा पर्ने झिमरुक खोलापारीका वडामा नियमित बस, जिप छुट्न सक्दैनन्। दुर्गमका यी गाउँका स्थानीयलाई बर्खामा जीवनयापन गर्न धेरै असहज छ।
सडक अवरुद्ध भएको लामो समय हुँदासमेत स्थानीय सरकारले सञ्चालनमा चासो देखाएको छैन।
रजवारा, पुँजा र लिवाङ टिमुरचौरमा चल्ने जिप हिजोआज ठप्प भएको ठूलावेसीका स्थानीय शिक्षक लोकेन्द्र जीसीले बताए। उनका अनुसार खुङ र नारीकोटमा जसोतसो जिप छुट्ने गरेका छन्। झिमरुक खोलाको बहाव बढेपछि रजवारा जाने जिप पूर्णरूपमा ठप्प छन्। सिरिङखोला पार गर्न पुल निर्माणाधीन छ। पुल नहुँदा रजवारका स्थानीय गाउँपालिका केन्द्र ठूलावेसीसहित सदरमुकाम र बिजुवार, बाग्दुला पुग्न धेरै गाह्रो भइरहेको छ। स्थानीय झण्डै तीन घण्टा उकालो ओरालो बाटो पैदल हिडेर मालसामान दैनिक उपभोग्य वस्तु घरसम्म पुर्याउँछन्। सरुमारानी गाउँपालिकामा पर्ने बडडाँडा–जस्पुर सडक पटक–पटक अवरुद्ध हुन्छ। रोकिएको सडक सञ्चालन गर्न वडा कार्यालयले तदारुक्दा देखाए पनि सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। सोही गाउँपालिकाको खहरे, अँधेरी र पाँकुरीमा बर्खायाम सुरु भएसँगै झण्डै दर्जनपटक सडक अवरुद्ध भएको स्थानीयले बताएका छन्।
दुर्गम क्षेत्रकै गाउँपालिका नौवहिनी गाउँपालिकामा रहेका खवाङ, डामृ, मैनामारे, लुङलेकलगायतमा पुग्ने सडक ठूलो झरी पर्दामै रोकिन्छन्। ‘सडक अवरुद्ध हुँदा वडालाइ तुरुन्तै सोर्ने अधिकार दिएका छौं’,प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारी भन्छन्,‘पहिरो जाने गर्ने क्रम बर्खाभरि चल्छ।’ यस गाउँपालिकाको स्याउलीवाङमा अझैसम्म सडक पुग्न सकेको छैन्। वडासम्म पुग्ने सडक नियमित सञ्चालन भए पनि गाउँबस्तीमा जाने सडक पूर्णरूपमा अवरुद्ध रहेको ऐरावती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन वलीले बताए।
स्थानीय सरकार आएसँगै गाउँघरमा अव्यवस्थित सडक निर्माण गर्नेक्रम अझै रोकिएको छैन्। विना मापदण्ड जिल्लाभर सडक निर्माण हुने गरेका छन्। धेरैजसो नाली बिनाका सडक छन्। बिग्रिने सडकमध्ये करिब ८० प्रतिशत नालीको निकास नहुँदा समस्या पर्ने गरेको छ। हेवी डोजरले जमिन खन्दा पहिरोको जोखिम थप बढेको स्थानीयबासी बताउँछन्। डोजर चालक नै प्राविधिक बनेर खनिएका धेरैजसो सडक ठप्प हुने यातायात व्यवसायी गुनासो गर्छन्।
जनप्रतिनिधि आफै ठेकेदार र प्राविधिक बनेर धमाधम खनेका सडकमा पानीपरेसँगै पहिरो झरिरहेको छ। पटकपटक अवरुद्ध सडक खुलाउन स्थानीय सरकारले धेरै खर्च गर्नुपरेको छ। प्यूठानका सबै स्थानीय तहले विनियोजन गर्ने कुलबजेट मध्य धेरै हिस्सा सडकमै छ।
प्रतिक्रिया दिनुहोस !